‘अमेरिकामा तामाङको अवस्था’ विषयक कार्यक्रम सम्पन्न

October 29, 2017

एभरेष्ट टाईम्स् प्रतिनिधी / काठमाडौं 

अमेरिकामा तामाङको अवस्था बारेमा राजधनीको सुकेधारामा हालै एक जानकारीमुलक कार्यक्रम सम्पन्न भयो । तामाङ सोसाईटी अफ अमेरिकाका अगुवाई ब्यक्तीहरु काठमाडौमा रहेको अवसर पारेर नाम्सादिम छोरङान नेपालले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्तबाबु थोकरले समस्ट तामाङ समुदायलाई भाषिक, धार्मिक, संस्कृतिक, आर्थिक एवं शैक्षिक क्षेत्रबाट अगाडि बढाउन संस्थाले विभिन्न ठाउँमा पहलसंगै सक्दो सहयोग गरीरहेको बताए । नेपालमा भुकम्पले जनजीवन प्रभावित पारेको बेला सोसाइटीले १३ लाख सहयोग नेपालमा पठाएको उनले स्मरण गरे । उत्तर अमेरिकामा छरिएर बसेका तामाङहरुलाई एक जुट बनाउँनका लागि २०१८ जनवरीमा आफ्नो सँयोजकत्वमा उत्तर अमेरिकी तामाङ सम्मेलन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

सोसाइटीका पूर्व अध्यक्ष तथा तामाङ कल्चरल बुध्दिष्ट सेन्टरका संयोजक इन्द्र तामाङले धर्म, संस्कार, संस्कृति राम्रोसंग नबुझ्ने उमेरमा आफू अमेरिका पुगेको बताए । त्यो बेलामा अमेरिकामा तामाङहरु कमै भेटिन्थे र आफू आफ्नो मौलिक संस्कार, संस्कृतिबाट टाढा हुनु परेको अनुभव सुनाउँदै उनले भने, ‘अहिले संरक्षण गर्नुपर्ने रहेछ भन्ने बुझेर त्यसैमा लागिरहेको छु ।’ त्यसै क्रममा अमेरिकामा तामाङ कल्चरल बुध्दिष्ट सेन्टरको स्थापनाको लागि प्रयासरत रहेको बताउँदै यसको लागि करिव १ लाख डलर जम्मा गरेको सँयोजक तामाङले बताए ।

नाम्सादिम छोरङान नेपालका अध्यक्ष हिरामान बल तामाङ
तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व अध्यक्ष भरत मोक्तान तामाङ

 

 

 

 

 

 

 

 

उक्त कार्यक्रममा सोसाइटीका पूर्व अध्यक्ष भरत मोक्तान तामाङले अमेरिकामा तामाङ समुदाय फस्टाउँदो र आशा लाग्दो रुपमा अगाडी बढीरहेको बताए । ‘अमेरिकामा तामाङ युवाहरु शिक्षाको क्षेत्रमा अगाडी बढीरहेका छन् । तर अर्को तिर हाम्रो मौलिक संस्कार संस्कृती र मुल्य मान्यताहरु गुम्दै गएको अवस्था छ’, उनले भने । यो जटिल परिस्थितीमा युवा तथा बालबालिकालाई पुर्ख्यौली संस्कार र संस्कृती तर्फ आकर्षण हुने गरी काम गर्न आवश्यक भएको उनले बताए ।

कार्यक्रममा जन सम्पर्क मन्च अमेरिकाका सचिव भोजराज थोकर तामाङ, तामाङ सोसाइटी अफ अमेरिकाका सल्लाहकार तथा इन्द्रवती गाउँपालिकाका प्रमुख वंशलाल मोक्तान तामाङ, डा. मुक्त सिं तामाङ, भाषाविद् अजितमान तामाङ, बौध्दनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार तामाङ, व्यबसायी तथा समाजसेवी सिवी लामा तामाङ लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

अमेरिकामा बसोबास गरीरहेका तामाङहरुको बिविध अवस्थासंगै मौलिक धर्म, संस्कृतिलाई हेर्ने दृष्ट्रिकोणबारे जानकारी गराउन कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति हिरामान बल तामाङले बताए । तामाङहरु काम बिशेषले जहाँ जहाँ पुगे पनि आफ्नो मौलिक भाषा, धर्म, संस्कार संस्कृति तथा मूल्य मान्यताको संरक्षण एवं सम्बर्धन गर्न सबै लागि रहन तामाङले सुझाव राखेका थिए ।

सम्बन्धित समाचार