कर्णाली सरकारको नाैलाे योजना, छोरीको बैंक खाता खोलेर २० वर्षसम्म मासिक बचत गरिदिने

December 17, 2019

काठमाडाैं– कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने कार्यक्रमको सुरुआत गरेको छ ।

चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम घोषणा गरेको थियो । कर्णालीका १० वटै जिल्लामा लागू हुने उक्त कार्यक्रमको म‌ंगलबार कालीकोटबाट शुभारम्भ गरिएको छ ।

कार्यक्रम शुभारम्भ गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाही गृह जिल्ला कालीकोट पुगेका छन् । खाँडाचक्र नगरपालिकाका दलित समुदायका दुई बालिकाको बैंक खाता खोलिएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार यही साउन २३ गते जन्मिएकी जानकी परियार र असोज ९ गते जन्मिएकी जमुना सुनारको बैंक खाता खोलिएको हो ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधिमा २०७६ साउन १ यता जन्मिएका छोरीलाई यो कार्यक्रममा आबद्ध गराइने उल्लेख छ । बालिकाका अभिभावक वा संरक्षकले जन्मदर्ता र अन्य कागजात संलग्न गरी आफू बसोबास गरिरहेको स्थानीय तहमा निवेदन दिन सक्ने छन् ।

आफ्नो बुबाआमा हुनेले बुबा आमाबाटै र नहुनेले आश्रित सङ्घसंस्था वा संरक्षकले छोरीको खाता खोलिदिनुपर्ने गरी कार्यविधि बनाइएको छ । यो सुविधा एक दम्पतीबाट जन्मिएका बढीमा दुई छोरीलाई मात्र हुनेछ ।

संरक्षकको जिम्मामा रहेका छोरीको हकमा भने सङ्ख्याको सीमा राखिएको छैन । कर्णाली प्रदेशमा छोरीहरुमाथि हुने असमान व्यवहार हटाउन कार्यक्रम प्रभावकारी हुने बताइएको छ ।

कार्यक्रमका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालू आवमा ७ करोड विनियोजन गरेको छ । छोरीमाथिको विभेद, बालविवाह अन्त्य हुने तथा छोरीको शिक्षादीक्षा मद्दत पुग्ने अपेक्षा सरकारको छ । छोरीको खातामा प्रदेश सरकारले सुरुमै एक हजार बचत गर्नेछ । त्यसपछि हरेक महिना ५०० का दरले २० वर्ष उमेरसम्म प्रदेश सरकार आफैँले रकम बचत गरिदिनेछ ।

सम्बन्धित समाचार