कांग्रेस किन ऐतिहासिक रुपमा पराजय भयो ?

December 13, 2017

‘ पार्टीभन्दा व्यक्ति ठूलो हैन देशभन्दा पार्टी ठूलो हैन ‘। 

विश्वमान आङदेम्बे
हाल : जोर्जिया एटलान्ट

अहिलेको निर्वाचनको नतिजा हेर्दा नेपालको सबैभन्दा पूरानो र लोकतन्त्रको संरक्षक पार्टी नेपाली कांग्रेसको अहिलेसम्मकै “ऐतिहासिक पराजय” भएको देखिन्छ । अहिले चलिरहेको रफ्तार हेर्ने हो भने नेकपा एमाले र माओवादीको “वाम गठबन्दन” ले प्रतिनिधिसभाको प्रत्यक्ष १६५ सिट मध्ये करिब दुइ-तिहाई ल्याउने र समानुपातिक तर्फ़ ११० सिट मध्ये ५५% भन्दा बढी सिट ल्याउने देखिन्छ । सामान्य अंकगणित गर्दा कूल २७५ सिट मध्ये “वाम गठबन्दन” ले १७० भन्दा बढी सिट ल्याई करिब ६५% जति सिट ल्याउन सक्ने देखिन्छ I यसमा एमालेले कूल २७५ मध्ये ४५% जति सिट (१२४) ल्याउने देखिन्छ ।  एमालेलाई सरकार बनाउन जम्मा १४ सिट जतिको आवश्यकता पर्नेछ ।  एउटा कुरो के सत्य देखिएकोछ भने एमालेलाई बाहिर राखेर अबको ५ वर्ष कुनै सरकार बन्न सक्दैन ।  नेपाली जनताले विगत २६ वर्ष  २०४८ सालदेखि चाहेको एउटा कुरो अब पाउने देखिन्छ – त्यो हो, राजनीतिक स्थायित्व (५-वर्षे सरकार) ।  नेपाली कांग्रेस माओबादी संगकै हाराहारीमा दोश्रो ठूलो पार्टीमा सिमित भई अबको वर्ष “प्रतिपक्ष” को भूमिका खेल्नु पर्ने निश्चित देखिन्छ ।  यस्तो स्थितिमा आँखिर नेपाली कांग्रेस कसरी आइपुग्यो ?

 

लेखक 

१. राष्ट्रियताको सवालमा चुक्नु

यसलाई नेपाली कांग्रेसको ‘ ऐतिहासिक भूल ‘ मान्दछु ।  देशभन्दा पार्टी कहिले ठूलो हुनसक्दैन र देशलाई हानी हुँदा पार्टीलाई कहिल्यै राम्रो हुँदैन । भारतीय नाकाबन्दी हुँदा नेपाली कांग्रेसको “टड्कारो मौनता” ले केहि नेतालाई क्षणिक फाइदा गर्यो होला तर दूरगामी हिसाबले पार्टीलाई ती नेताहरुलाई नै पनि ठूलो क्षति गर्यो ।  आम नेपालीको नजरमा नेपाली कांग्रेस “भारतको इशारामा नाच्ने” पार्टीको रूपमा परिणत भयो ।  दुई-चार जना  वैचारिक चारित्रिक रूपले भ्रष्ट नेताहरुको उल्टो बुद्दिले सारा पार्टी यसका कतिपय होनहार नेताहरु कार्यकर्ताले सजाय भोग्नुपर्यो ।  नेकपा एमाले विपक्षी हो, सत्रु हैन ।  के.पी. ओली प्रतिष्पर्धी हुन्, दुश्मन हैनन् ।  आँखिर हामी जुनसुकै पार्टी भएपनि हामी सबै नेपाली हौँ नेपाल नेपालीको दीगो हीतको लागि राजनीति लागेका हौँ । सत्ताको खेलमा प्रतिपक्षीलाई ढाल्न कदापी देशलाई हानी हुने काम गर्नुहुन्न ।  यो लक्ष्मण-रेखा कुनै पार्टीले पनि नाघ्नु हुन्न ।  दुई पार्टी (राजाको लेन्डुप दोर्जेको) को लडाईले १९७५मा पुरै देश नै भारतमा विलय भएको “सिक्किमको कथा” मैले सम्झाइराख्नु पर्दैन ।

२. तराई सवालमा चुक्नु

तराई आन्दोलनमा केही जायज मागहरु थिए, जस्तोकी जनसंख्याको आधारमा वैज्ञानिक निर्वाचन छेत्र निर्धारण, जुन पछि पूरा भयो जसले गर्दा तराईमा निर्वाचन छेत्र बढ्यो पनि  ।  तर, ७-सुत्रिय मागमध्ये केहि मागहरु, जस्तो कि अंगिकृतलाई राष्ट्रपति वा प्रधानमन्त्री जस्तो उच्च ओहोदाको अधिकार बेतार्तिक पूरा गर्न नसकिने खालका थिए । त्यसमाथि भारतीय सरकारले विषयको गम्भीरता राम्रोसंग नबुझिकन ४-वटा मधेशी पार्टीहरुको पक्षलिई नेपालमा महिने अघोसित नाकाबन्दी गर्यो जसको सामना के.पी. ओली एक्लैले गरे । वास्तबमा भन्ने हो भने विपक्षी भए पनि उनी जस्तो अडान लिन सक्ने आफ्ना उमेरका नेता कुनै पार्टीमा थिएनन् । विपक्षीको खुबीलाई मान्न सक्नुपर्छ र राष्ट्रियताको सवालमा कुनै सम्झौता गर्नु हुन्न ।  नेपाली कांग्रेसले तराईको आफ्नो पूरानो भोट बैंक सम्झेर भारतलाई नरिसाउन नाकाबन्दीको बिरोध गर्न सकेन जुन धेरै दुखद कुरो थियो । पहिलेको र अहिलेको तराई धेरै फरक छ । तराई अब नेपाली कांग्रेसको भोट बैंक रहेन  ।  तराईको राजनीति आफैमा विभक्त छ  ।  एक मधेशको नाममा आन्दोलन गर्ने ५ पार्टीहरु मिल्न सकेका छैनन्  ।  यति कुरो के सत्य छ भने तराई (प्रदेश २) विभक्त छ र कुनै पार्टीले त्यहाँ बहुमत ल्याउन सक्ने छैन यो र आगामी निर्वाचनहरुमा ।  कांग्रेसले के गल्ति गर्यो भने “जायज मागको” समर्थन, “नाजायज मागको बिरोध”, मनावियता समेत निमोठेको भारतीय नाकाबन्दीको बिरोध नगरेर तराईको सवालमा बाँकी पूरा देशलाई बिर्सियो  ।जसको परिणाम यो निर्वाचनम देखिदैन्छा तराई पनि गयो बाँकी देश पनि कांग्रेसको हातबाट गयो  । 

 

३. कम्जोर नेतृत्व: “भिजनको” कमी

नेपाली कांग्रेसम अहिले पनि किन मानिसहरु लागिरहेका छन् – महान नेता वी.पी. कोइराला र उनको मौलिक लोकतान्त्रिक समाजवादले गर्दा ।  म आफै पनि यी दुई कारणले अझै कांग्रेसमा छु ।  तर दुर्भाग्य नेपाली कांग्रेसमा वी.पी. पछि “बौद्धिकता” पनि र “सांगठानिक नेतृत्व” पनि भएको नेता पाउन सकिएन । सिंह भन्दा स्यालहरुले चलाएको पार्टी जस्तो भयो, आ-आफ्नै स्वार्थमा पार्टीलाई चौतर्फी तान्ने । शेर बहादुर देउवा निकै कम्जोर नेता निस्किए ।  कमसेकम गिरिजा प्रसाद कोइरालाको त एउटा व्यक्तित्व थियो, अडान थियो । तर, पार्टी अहिलेको स्थितिमा आइपुग्न गिरिजा प्रसादको पनि उत्तिकै हात छ ।   आफुमा विचार भए पार्टीलाई विचार दिन सकिन्छ  ।  आफुमा भिजन भए पो देश पार्टीलाई भिजन दिन सकिन्छ  ।  खाली गुठबन्दि र सत्ताको खेलमा भूलेपछी यो देश र जनताको नेतृत्व गर्ने सच्चा राजनीति नभई अंकगनिथको राजनीति बन्न पुग्यो ।  देउवा गुठ, पौडेल गुठ, सिटौला गुठ, कोइराला गुठ, इत्यादिले पार्टीको एककृत नेतृत्व एककृत भिजन धेरै परको भयो ।  क किसिमको सांगठानिक बेथिति, अस्पस्थाता,  अनुसासन्हीनता, र कोलाहल बन्यो । कमसेकम एमालेमा त के.पी. ओली को बलियो नेतृत्वको छायामा पार्टी एककृत भयो, कुनै नेताले पार्टीलाई हानी हुने खालको गुठबन्दि गर्न आँट गर्न सकेनन । के. पी. ओलीले देशलाई जुन एउटा बलियो पार्टीगत एकताको संदेश दिए र विकास र राष्ट्रियताको भिजन दिए, त्यो नै महाभारत जित्ने अर्जुन-वाण बन्यो ।

 

४. कम्जोर निर्वाचन रणनीति

पहिलको संबिधान सभाको चुनाव्हरुले नै एमाले-माओवादी मिले ६०% भन्दा बढी मत सजिलै जित्ने देखिन्थ्यो ।  एमाले-माओवादी त्यत्रो “वाम-गठबन्दन” बनाएर सुगठित स्पस्ट रणनीति सहित मैदानम उत्रिदा कांग्रेसका नेताहरु कोठाभित्र आ-आफ्ना स्वार्थ अडानमा व्यस्त थिए । तराईमा संघिय समाजवादी र लोकतान्त्रिक तराई गठबन्दनले माग्दा जाबो ३-४ वटा बढी सिट माग्दा कांग्रेसकै केहि नेताहरुको अहमले र अल्प-बुद्दिले गर्दा त्यहाँ पनि तालमेल बन्न सकेन  ।  कांग्रेसका अमरेशकुमार सिंहलाई आफ्नो छेत्र सिराहा-६ छोड्दा रा.ज.पा.का राजेन्द्र महतोलाई कांग्रेसले धनुषा-३ छोड्न मानेन जसको कारणले कांग्रेसका ठूला नेता बिमलेन्द्र निधि पराजय हुनुपर्यो । उता झापा-३ मा राप्रपाका महामन्त्री र त्यो छेत्रका प्रभावशाली नेता राजेन्द्र लिंग्देंलाई सघाउनुको सत्ता उल्टै मैदानमा चुनौती दिंदा कांग्रेसका अर्का ठूला नेता कृष्णप्रसाद सिटौला आफुत लडे, आफूसंगै कांग्रेसका उदाउँदा होनहार युवा नेता विशाप्रकाश शर्मासमेत लाई लडाए झापा-१  मा जहाँ राप्रपाले कांग्रेससंगको तालमेल नमिलेपछि वामगठबन्दनलाई सहयोग गर्यो ।  अचम्म लग्नु पर्ने कुरा त्यत्रो ठूलो परी एमालेले ६०% चित्त बुझाई माओवादीलाई ४०% सिट दिंदा कांग्रेसले तराई गठबन्दनलाई ३-वटा बढी सिट दिन नसक्ने अनि उता एउटा छेत्रमा राप्रप्रालाई छोड्न नसक्ने? यसको दुइटा कारण देख्छु – (१) पार्टीलाई एकै ठाउँमा ल्याउन नसक्ने कम्जोर नेतृत्व, र (२) कांग्रेसी नेताहरुको व्यक्तिगत स्वार्थ अहम ।  यी दुईता कुरा निराकरण नगरे अर्को चुनाव पनि यसरि नै हार्नुपर्नेछ । 

 

५. के.पी. सरकार देखि नवराज सिलवाल सुशिला कार्की सम्मको काण्डई – काण्ड

के.पी. ओलीले दोश्रो संविधान सभाको निर्वाचन पछि जसरि करिब २ वर्षसम्म एक ढिक्का भएर तत्कालिन सुशील कोइरालाको सरकारलाई आफ्नो पार्टीको सहयोग दिलाए, त्यसको ऋण कांग्रेसले तिर्न सकेन, आफ्नो पूर्व-घोसित वाचा पूरा गर्न सकेन । त्यो एक किसिमको पाप थियो । कम्जोर नेतृत्व, त्यसमाथि केहि कु-बुद्दि चलेका नेताहरुको लह-लहैमा सुशील कोइराला के.पी. संग लड्न पुगे र नराम्ररी ढले ।  त्यसले जना-मानसमा कांग्रेस लोभिहरुको पार्टी हो कांग्रेस कहिले सुध्रने भएन भन्ने पनि छाप पर्यो ।  त्यसपछि भारतीय कदमको अनुकुल कांग्रेसले माओवादी संग जुन साँठ-गांठ गर्यो तेत्रो जना-मानसको समर्थन पाएको की.पी. सरकार ढाल्यो, तेस्ले राष्ट्रियतामा ठूलो घात पुग्यो ।  आम नेपालीको मन पोल्यो  ।  राष्ट्रियताको सवालमा वी.पी. देखि जी.पी. सम्म कहिले सम्झौता नगर्ने पार्टीले सत्ताको लागि यस्तो गर्दा लाखौँ देशभक्त कार्यकर्ता करोडौं जनताको मन रोयो । राष्ट्रियताको लागि की.पी. सरकारसंग एक-धिक्का हुन छोडेर कांग्रेसी नेताहरुले देशलाई र पार्टीलाई घात गरे । त्यसपछि, जनताका नायक नवराज सिलवाल जस्तो होनहार देशका सिपाहीलाई आई.जी.पी बनाउन छोडेर अनेक बाहानामा पूर्व-आइ.जी.पी. उपेन्द्र कान्त अर्यालका नातेदार प्रकाश चन्द्र अर्याललाई आई.जी.पी बनाउनदा देउवाले आफ्नै पार्टीका गृहमन्त्रीको राजिनामा देख्नुपर्यो भने पार्टीको घोर बद्नाम भयो  ।  र, उँटको ढाड भाच्चाउने परालको त्यान्द्रो” चाहिँ एक निष्ठावान न्यायाकी धरोहर तत्कालीन प्रधान-न्यायाधिश सुशिला कार्की लाई महा-अभियोग लगाउने जुन कु-चेस्टा भयो तेस्ले पार्टीको इज्जत धुलोमा मिलाउने कम भयो ।  आधारहीन र संसार हसाउने खालको कारण देखाएर सुशिला कार्कीलाई महाभियोग लगाउने सफल प्रयाश संगै केही कांग्रेसी नेताहरुले आगामी चुनावमा पार्टीको हार सुनिस्चित गरे ।

 

अन्तमा जाँदा-जाँदै

नेपाली कांग्रेसले अब यी गम्भीर भूलहरू सच्याउनु पर्छ ।  त्यसको सुरुवात नेतृत्व परिवर्तन बाट हुनुपर्छ  ।  युवा नेताहरुको हातमा पार्टीको बागडोर आउनुपर्छ ।   नेपाली कांग्रेसले फेरी पनि “राष्ट्रियता” र “एकताको” झण्डा उचाली जनताको मन जित्नुपर्छ ।  कांग्रेस कांग्रेस हो, थाकेको तर हारेको छैन ।  अब कांग्रेस पूरानो हैन “नयाँ कांग्रेस” मा रूपान्तरण हुनु पर्छ यो एकदम राम्रो मौका हो ।  नयाँ नेतृत्व, नयाँ भिजनका साथ् “कांग्रेस २.०” आउनु पर्छ । 

 

 

 

सम्बन्धित समाचार