कोरोना भाइरस : किन बनाइन्छ घृणाको सिकार ?

March 4, 2020

अविन ओझा
प्रसंग, चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको प्राणघातक कोरोना भाइरसबाट अमेरिकाको न्युयोर्क सहर हालसम्म सुरक्षित रहेको देखिन्छ । केही शंकास्पद केसहरु भेटिएको, केहीलाई क्वारेन्टाइनमा राखेर सूक्ष्म तथा सघन अवलोकन गरिँदै गरिएको भए तापनि मेडिकल्ली पुष्टि भएको कोरोना भाइरस को केस भने आएको छैन । तथापि न्युयोर्कका केही क्षेत्रहरुमा चाइनीज अमेरिकनहरुको आवदी घना रहेकोले चीन आवतजावत भइरहेको हुन सक्ने भएकाले न्युयोर्क कोरोना भाइरसको उच्च जोखिम क्षेत्रको रुपमा रहेको छ । यो भन्दा पनि जटिल सवाल यो छ कि दैनिक करिब ५० लाख न्युयोर्कवासीले आफ्नो दैनिकीका रुपमा मेट्रो (एमटीए) रेल तथा बस सेवा लिने गरेका छन् । मेट्रो रेल (सव वे) कै भरमा दैनिकी चालेको यति ठूलो समुदायमा यदि कोरोनाको प्रकोप फैलिने हो भने स्थिति सोचेभन्दा निकै भयावह हुने अनुमान गर्न सकिन्छ । न्युयोर्क सिटी तथा राज्यले यसको रोकथाम तथा उपचार व्यवस्थापनमा निकै संवेदनशील भएर अगाडि बढेको कुरा मेयर तथा गर्भनरले न्युयोर्कवासीलाई निवेदन गरिसकेको छन् । यद्यपि, हरेका व्यक्तिले यस भाइरसको प्रकोपबाट बच्न भने सावधानी अपनाउनु पर्ने छ । आफू सचेत बन्नु पर्नेछ । यो भाइरसको प्रकोपले सबैमा मनोवैज्ञानिक त्रास फैलाएको छ । यसले कतिपय अवस्थामा घृणा अपराध पनि निम्ताएको छ । नगरीय यात्राका क्रममा न्युयोर्क सिटीभित्र कोरोनाका कारण सब–वेमा देखिएका केही त्यस्ता केही मनोवैज्ञानिक सन्त्रास तथा देखिएका घृणा अपराधका केही दृष्टान्तहरुलाई यस आलेखमा प्रस्तुत गरिएको छ ।

दृश्य १, सुरु गरौं केही समय अगाडि सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो फुटेजको प्रसंगबाट । उक्त भिडियोमा चाइनीज अमेरिकन युवतीले मास्क लगाएर ट्रेनमा यात्रा गर्दा अर्को एक यात्रुले तैले या त जस्ता अरुले कोरोना भाइरस ल्याएको भन्दा उक्त चिनियाँमुलकी युवतीलाई सब–वेभित्र लखेट्दै कुटपिट गरेको थियो । भाइरसको कहरले अमेरिकामा लामो समयदेखि जातिगत रुपमा देखिँदै आएको घृणा अपराधलाई फेरि ब्यूताएको छ । आज चाइनीज अमेरिकन फेरि एक पटक यसको सिकार हुने वातावरण मौलाउँदै गएको छ ।

दृश्य २, ज्याक्सन हाइट्सबाट जमैका सेन्टरका लागि छुटेको ई–ट्रेनको दृष्टान्त । उक्त ट्रेनमा सवार एक जना अफ्रीकन अमेरिकन महिला मौसम फ्लुले गस्त देखिन्थिन् । उनी छिम्दै, नाकको विकार पुछ्दै थिइन् । यत्तिकैमा ट्रेनको उक्त डिब्बामा रहेका प्रायः सबै यात्रु एकाएक त्रसित भए । कोही उनलाई गाली गर्न थाले । अर्को स्टप आउना साथ प्रायः सबै यात्रु त्यो डिब्बाबाट अर्को डिब्बामा सरे । यो घटनाले आज कोरोना भाइरसबाट मानिसमा कत्ति ठूलो मनोवैज्ञानिक त्रास पैदा भएको छ भन्ने देखाउँछ । अर्कोतर्फ सामान्य रुघाखोकी लाग्दा, सार्वजानिक साधनमा यात्रा गर्दा पब्लिक ह्यारेसमेन्ट (सार्वजानिक उत्पीडन)को सामना गर्नु पर्ने समस्या जोकोहीलाई आइपरेको छ ।

दृश्य ३, जमैका सेन्टरबाट वर्ल्ड ट्रेड सेन्टरका लागि छुटेको ई–ट्रेनको अर्को दृश्य । योर्क कलेजकी एक छात्रा मास्क लगाएर ट्रेनमा बस्छिन् । उनी बसेको सिटमा उनीबाहेक पाँच जना यात्रु बस्न मिल्ने ठाउँ छ । तर त्यहाँ कोही पनि बस्न तयार हुँदैन । त्यसो त उनी बसेको सिटको ठीक अगाडि ६ यात्रुको क्षमताकै सीट पनि पूर्ण रुपमा खाली रहेको थियो । यत्तिकैमा एक वृद्ध महिला आउँछिन् र उक्त छात्रालाई प्रश्न गर्छिन्, “आर यु अल राइट ?” । छात्राले प्रश्नको प्रसंग बुझ्दछिन् र उत्तर दिन्छिन्, “एस आई एम गुड, आई युज्ड दिस् मास्क पर प्रिकउसन ।” तबमात्र ती वृद्ध महिला उनको ठीक अगाडिको सिटमा बस्दछिन् । त्यसपछि ती विद्यार्थीले मास्क निकाल्छिन् । अर्को स्टपमा सबै सिट भरिन्छ । यहाँबाट के प्रस्ट हुन्छ भने मानिसमा मास्कफोविया कति बढेको छ ।

दृश्य ४, वुडसाइड सिक्टी–फिफ्त स्ट्रीटबाट म्यानह्याटनतर्फ लागेको आर ट्रेनको अर्को श्रव्यदृश्य । सिट खचाखच भरिएको छ । सबै यात्रु आफ्नो तालमा यात्रा गरिरहेका छन् । एक पुरुष दुई पटक मज्जाले छिम्छन् । उनी आसपासका सवै मानिस हतास देखिन्छन् । कोही उनलाई तथानाम गाली गर्दछन् । सबै त्यहाँबाट भाग्न चाहन्छन् । अर्को स्टपमा ट्रेन रोकिन्छ । हाच्छिउ गर्ने मानिसका आसपास बस्ने मानिस हतारहतारमा ओर्लन्छन् र डिब्बा परिवर्तन गर्दछ । हिजोआज सार्वजानिक साधनमा खोक्नु या छिम्नु त्यो पनि एकैपल्ट किन नहोस् । यसले अन्य यात्रुहरुलाई निकै प्रताडित बनाउँदछ । आक्रोशित पार्दछ । कतिपय अवस्थामा खोकेकै भरमा या हाच्छिउ गरेकै भरमा पनि घृणा अपराधको सिकार हुन सकिने अवस्थाको सृजना भएको छ ।
दृष्य ५, स्वास्थ्य क्षेत्रमा काम गर्ने एक महिलाले सुनाएको कथा । सधैंभन्दा फरक तरिकाले उनी काममा पुग्दछिन् । उनी मास्क लगएर वर्क स्टेसन पुग्दछिन् । पुग्नसाथ उनको सुपरभाइजरले मास्क लगाउँदा अरु सशंकित हुने भन्दै मास्क खोल्न आग्रह गर्दछन् ।

यी केही प्रतिनिधि दृश्यमात्र हुन् । भाइरसको समस्या भनेको विश्वका सबै मानिसको साझा समस्या हो । विश्व स्वास्थ्य संगठनले समेत यसलाई विश्वव्यापी स्वास्थ्य आपतको रुपमा घोषण गरिसकेको छ । तसर्थ यो कुनै जाति, समुदाय या मुलुकको मात्र समस्या होइन । भाइरसको उपचारको ठ्याक्कै उपचार नहुने मेडिकल साइन्सको ठम्याइ छ । त्यसो त, यो भाइरसको जोखिम सामान्य स्वास्थ्य मानिसभन्दा पूर्वस्वास्थ्य समस्या (स्वासप्रस्वास समस्या लगायत दीर्घरोग) भएका र माथिल्लो उमेर समूह एवम् वृद्धाहरुमा अधिक छ, भन्ने छ ।

वल्र्ड मिटरर्स वेबसाइटले विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई उद्धृत गर्दै उमेरगत हिसाबले कोरोना भाइरसको मृत्युलाई प्रस्तुत गरेको छ । स्रोतका अनुसार कोरोना भाइरसको संक्रमणमा परेकामध्येबाट हालसम्म मृत्युदर सबैभन्दा बढी १४ दशमलव ८ प्रतिशत ८० भन्दा माथि उमेर समूहका छन् । त्यसो त ५० देखि ७९ वर्ष समूहका १२ दशमलव ९ प्रतिशत, २० देखि ४९ वर्ष उमेर समूहका शून्य दशमलव ८ प्रतिशत, १० देखि १९ वर्ष समूहका शुन्य दशमलव २ प्रतिशत र ९ वर्षभन्दा कम उमेर समूहबाट हालसम्म मृत्यु भएको छैन । यस भाइरसबाट मृत्यु भएकाहरुको हालसम्मको आँकडाले पनि यसलाई पुष्टि गरेको छ । हालसम्मको मृत्युको तथ्याङ्क हेर्दा बच्चा तथा किशोरहरुमा जोखिम कम रहेको देखिन्छ ।

प्राणघातक कोरोना भाइरसको संक्रमणबाट बच्न सबै सजक रहनुको विकल्प छैन । जोगिन सबैले सावधानीका उपायहरु अपनाउनु पर्ने छ । जस्तो, बारम्बार हात धुने, भीडमा कम जाने या सम्भव भएसम्म जाँदै नजाने । आम आवतजावत हुने स्थानमा हिँड्डुल गर्दा या सार्वजानिक साधनको प्रयोग गर्दा, निकै सर्तकता (फ्लु लक्षणका मानिसको निकटताबाट सकेसम्म पर रहने) अपनाउनु पर्ने परिस्थितिको सिर्जना भएको छ । सामान्य फ्लुका लक्षणहरु जस्तो रुघाखोकी लागेको छ भने पनि तुरुन्त डाक्टरको निगरानीमा पुग्नु सबैभन्दा बुद्धिमानी हुनेछ । यस्ता फ्लुका लक्षणहरु छन् र तपाईं सार्वजानिक स्थानतिर जाँदै हुनु हुन्छ या सार्वजानिक सवारीमा यात्रा गर्दै हुनुहुन्छ भने निकै सर्तक हुनु होस् । अन्यथा, माथि उल्लेख गरिए जस्तै घृणा अपराधका सिकार जोकोही हुन सक्ने छ ।

(लेखक न्युयोर्कस्थित योर्क कलेजका प्रोफेसर हुन् ।)