कोरोना भाइरस र कविता : नेपाली राजनीतिको सन्दर्भमा

March 22, 2020

मधु माधुर्य

‘म मरेपछि पोस्टमार्टम गर्न नदिनु है प्रिय
मेरो मुटुमा तिम्रो नाम देखिए अनुसन्धानमा फसौली’

नेपाली साहित्यिक फाँटमा कविता विधालाई एउटा काव्यात्मक जङ्गल मान्ने हो भने कवि विक्रम सुब्बा त्यो जंगलका सिंह (शेर) हुन् भन्दा सायदै अतिशयोक्ति होला । आफ्नो जीवनमा कसैको चाकडी र चाप्लुसी गर्न विल्कुलै असक्षम देखिएका विक्रम कसरी सिंह बन्न सक्षम भए ? – नयाँ पुस्ताका लागि मात्र यो जिज्ञासाको विषय हुन सक्छ, किनकि नेपालको राजनीतिक परिवर्तनका लागि जनआन्दोलन २०४६ लाई भरथेक गर्न कविता आन्दोलनको अगुवाई गर्ने थोरै स्रष्टाहरुको जमातमा सुब्बा अग्रपंक्तिमा उभिएका थिए भन्ने कुरा देश–परदेशका धेरै नेपालीहरुलाई थाहा छ : उनका कविताको शब्द प्रहारले सडक तात्थ्यो, दरबार हल्लिन्थ्यो र आशावादी ‘क्रान्तिकारी’ हरु सुनौलो बिहानीको आगमन नजिकै छ भनेर गौरवको छाती फुलाउँथे ।

आन्दोलनपश्चात् आजको दिनसम्म आउँदा –‘समयले कोल्टो फेर्‍यो’, ‘हात्ती आयो हात्ती आयो फुस्सा !’ भयो, ‘माछो माछो –भ्यागुतो !’ भयो, अन्तत: कथित लोकतन्त्रको नाममा सामन्तवाद र यथास्थितिवादको बनमारा सप्रेर जनताका सबै आशा र भविष्यको बिरुवा नाश भएपछि आमनेपाली जनताहरु निरास भए भने कवि नरेश शाक्यजस्ता सशक्त सर्जकहरुको मानसिक सन्तुलन नै चौपट भयो । कवि विक्रम सुब्बा पनि नेपाली राजनीतिक चिन्तनको साँघुरो गल्लीबाट निस्केर जीवन र जगतको दृष्टिगोचर गर्न मिल्ने स्वध्ययनको फराकिलो राजमार्गतर्फ लम्किरहेका छन्, जहाँबाट उनी आफैंभित्र छिरेर आफूलाई हेर्छन् र विश्वब्रह्माण्ड नियाल्छन् –यो उनको पछिल्लो दिनचर्या बनिरहेको छ ।

आज उनले आफ्नो बहुआयमिक अध्ययनको सारलाई फेसबुकमार्फत फाइदामूलक जानकारी दिएर पाठकलाई सचेत बनाउन जुर्मुराएका छन् ।

केही अभिव्यक्तिहरु उनकै शब्दमा :
नेपालमा फेरिएको जहानियाँ शासन नै छ:
१. राणाशासनलाई जहानियाँ शासन भनियो । किनभने सरकारका हरेक ठूला पदहरूमा राणाहरूमात्र नियुक्त हुन्थे ।
२. राणाशासन गएर प्रजातन्त्र आयो – त्यसपछि कोइराला परिवारको शासन (मातृका, बीपी र गिरिजा) गर्ने र उनकै आफन्त र नजिककाहरू नै ठूला पदहरूमा नियुक्त भए ।
३. पञ्चायतमा राजाको शासन भने पनि पञ्चहरूका श्रीमती छोरा–छोरी र उनकै आफन्त नाता–गोताहरू नै जुनसुकै ठूला पदहरूमा नियुक्त भए –ठेक्कापट्टा पञ्चकै आफन्तले मात्र पाउँथे ।
४. त्यसपछि लोकतन्त्र आयो कांग्रेस र कम्युनिस्टले मिलेर भागबण्डिय सरकार चलाउँदा कांग्रेस र कम्युनिस्ट नेताका जाहन, छोराछोरी, उनकै आफन्तलाई मात्र ठूला पदहरूमा नियुक्त गरेर भागबण्डाको जहानियाँ शासन चलाए ।
५ं अहिले कांग्रेस आउट, राप्रपा आउट, मधेसी आउट, क्षेत्रीहरू –क्षेत्री राजालाई समेत राजगद्दीबाट) आउट र सिरिफ कम्युनिस्ट खोल ओढेका खस–आर्य र तिनकै जहान–छोरा–छोरी या आफन्तलाई मात्र ठूला पदमा नियुक्त गर्ने खस–आर्यका जहानीयाँ शासन चलिरहेछ ।
अर्थात् नेपालमा जहानिया शासन गएकै छैन ।

– स्वयम्भू पुराणअनुसार नेपालको पुरानो नाम सत्यवती, मुक्तिसोपान भनेर उल्लेख गरेको छ ।

– यो दुनियाँमा एडम स्मिथ र कार्लमाक्स नपढेको इकोनोमिस्ट, त्यस्तै सोक्रेटस–प्लेटो–अरिस्टोटल नपढेको लोकतन्त्रवादी, कन्फ्युसियस–लाउत्सु–बुद्ध–मोहम्मद–मुन्धुम नपढेको दार्शनिक, विदेह राज्य–कपिलवस्तु राज्य–खस राज्य र किरात राज्य नबुझिकन नेपाल बुझेको छु भन्ने कम्युनिस्ट–कांग्रेस मनुवा र शैव–वैष्णव–शाक्त–ईशाई–ईस्लाम–मुन्धुम नपढेका ‘पण्डित’ हुँ भन्नेहरू सब गधा हुन् ।

–लिम्बू भाषामा ओस्ल्ली अर्थात् ओलीको अर्थ:
किसिम किसिम, भाँतीभाँती, थरिथरि, नानाभाँती, जथाभावी बोल्ने–भन्ने, मनपरि बोल्ने, जे जे मन लाग्यो बोल्ने’ झल्लु तथा उटपट्याङ मानिस हो । (लिम्बू–नेपाली–अंग्रेजी–शब्दकोश, नेपाल प्रज्ञा–प्रतिष्ठन २०६७, पृष्ठ ( ४४)

– मनको चिन्ताले नभइ नहुने जिन्दगीको एक पक्ष भएको बहाना गर्छ, तर, कुनै उद्देश्य हासिल गराउँदैन । विगत बदल्न सक्दैनांै, भविष्यको चिन्ताले ९०५ तिम्रो दिमाग खाइरहेछ । सुखी हुन – ‘वर्तमान’मा बाँच ।

– ‘माया’ गर्नु भनेको तिमीले अरुको हृदयमा आफ्नो पहिचानको बिरुवा रोप्नु हो ।

– के बाहुन, के क्षेत्री, के राई, के लिम्बू, के मधेसी, के नेवार, के तामाङ, के शेर्पा, के हिन्दु, के बौद्ध, के किरात सत्तामा पुगेपछि सब डाका ?

– नोवेल कोरोना भाइरसलाई धन्यवाद ! विदेशमा काम गर्न गएका ८० लाख नेपाली युवालाई फर्काएर पठाए भने ओली सरकारको घाँटी अठ्याउँने भए ?

हो, यतिखेर कोरोना भाइरसको संक्रमण देख्दा यस्तो लाग्छ कि नाङ्गो आँखाले नदेखिने अति सूक्ष्म त्यो भाइरस ‘आधुनिक सभ्यता भनेको मै हुँ’ भन्ने मानिसविरुद्ध विश्वयुद्ध गर्न पूरै पृथ्वीको अक्षांश–देशान्तरमा दौडिरहेको छ, चीनको मात्र होइन विश्वकै अर्थतन्त्र डामाडोल बनाइसकेको छ, सिमाना बन्द गरेर अमेरिका लगायत कयौं राष्ट्रहरुले संकटकाल घोषणा गरिरहेका छन्, सिंगो विश्व सन्त्रस्त छ –अर्थात्, आममृत्युको अर्को नाम बनेको छ करोना भाइरस । कोरोना भाइरसको यो विश्वव्यापी यात्रालाई कवि विक्रम सुब्बाले पृथक् कोणबाट हेर्दै नेपालको राजनीति र यथास्थितिवादसँग जोडेर एउटा सशक्त कविता रचना गरेका छन् । उत्पीडित नेपाली जनताको मात्र होइन, समग्र मानवीय समस्यालाई आफ्नै समस्या सम्झेर समसामयिक आवाजलाई सशक्त, सम्यक र सुगठित शैलीमा कवितामार्फत अभिव्यक्त गर्ने काममा उनी निकै खप्पिस र पारंगत देखिन्छन् । यो कविता पढिसकेपछि यौटा कुरा भन्न करै लाग्छ: कवि विक्रम सुब्बा हाम्रो समयका एक निर्भिक कवि हुन् । प्रसुत छ उनको नूतन कविता :

अवसर !

भ्रष्टाचार गरेको छोप्दाछोप्दा
छोप्नै नसकिने भएपछि
मर्न पाए पनि हुन्थो लागिरहेका
विष्णु, बाँस्कोटा र ओलीले
कोरोना लागेर मर्ने भव्य अवसर आएको छ

तीस किलो सुनका तस्कर
निर्मला पन्तलाई बलात्कार गरेर
हत्या गर्ने हत्यारा
सिन्डिकेटको हल्ला गरेर
बस कम्पनीहरूसँग मोटो रकम खानेहरू
कुलमानभन्दा पहिले
बिजुली जंगलमा फालेर
लोडसेडिङ गरेर भारतका व्यापारीसँग
जेनेरटर इन्भर्टर र व्याट्री खाने काफ्लेहरू
मुख कहाँ लुकाउँ भइराखेका यी हरामीहरूले
कोरोना भाइरस लागेर मर्ने, र
लाजसरम सब आफ्नो लाससँगै लाने अवसर आएको छ

ठग सांसद, भ्रष्ट मन्त्री, नाफाखोर व्यापारी
अर्काको थेसिस चोर प्रोफेसर पीएचडी डाक्टर
लगायत सबै अपराधीहरू
जो मर्न पाए पनि हुन्थ्यो भनिरहेकाहरुका लागि
कोरोना भाइरस लागेर मर्ने अवसर पाएको छ !

कोरोना भाइरसले १७००० मानिसको हत्यारा
प्रचण्डजस्ता धोकेबाजलाई मार्नु पर्छ
जनता ठग्ने बैँकहरू मार्नु पर्छ
लोकतन्त्र भन्दै ‘लोक’को रगत चुस्ने
शासकहरूलाई लहरै फालिम राखेर मार्नुपर्छ
जनताको करले तलब खाएर
जनतालाई नै हेप्ने फटाहा प्रशासकहरू मार्नु पर्छ
हे कोरोना भाइरस महाशय,
नेपालका शोषक कांग्रेस र नक्कली कम्युनिस्टलाई
सिंहदरबार, पार्टी कार्यालय
जहाँ जहाँ भेट्छौ संक्रमित गरेर
मारिदेउ, किनभने यिनले
करोडौँ मानिसको रगत चुसेका छन्, र
यिनले आफूलाई जनताका दुस्मन साबित गरिसकेका छन् भने
यिनीहरूलाई छानीछानी मार्नु न्यायसंगत नै हुन्छ
जनताको कर खाएर जनताकै दुस्मनको काम गर्ने
यी शोषक कांग्रेस र कम्युनिस्टहरूको
यो मुलुकमा बाँच्ने अब अधिकार म दिन्न
यही मेरो कविताको अदालतको फैसला
यही हो जनताको हृदयबाट निस्केको फैसला ।