कोरोना भाइरस संक्रमण : चीनमा नियन्त्रणतर्फ, इटलीमा देशैभर फैलियो

March 10, 2020

एजेन्सी– कोरोना भाइरसको ठूलो संकट व्यहोरेको चीनले पछिल्ला दिनमा भाइरस नियन्त्रणमा ठूलो सफलता पाएको छ।

सोमबार चीनमा जम्मा १९ जनामा मात्र कोरोनाभाइरसको नयाँ संक्रमण भेटिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। १९ मध्ये पनि १७ जनालाई मात्र चीन भित्र संक्रमण भएको बताइएको छ। दुई जना चिनियाँ नागरिक विदेशबाट फर्किदा संक्रमित भएर आएका थिए।

चीनभित्र संक्रमित भएका १७ जना सबै कोरोना भाइरसको उदगम स्थल हुवेई प्रान्तको राजधानी वुहान सहरका नागरिक हुन्। लगातार तेस्रो दिन चीनमा वुहान सहरबाहिर कसैलाई कोरोना भाइरस संक्रमण भएको छैन।

एक महिनाअघिसम्म चीनमा कोरोनाको संक्रमण दर दिन दुई गुणा रात चौगुणा बढिरहेको थियो। करिब एक महिना अघि फेब्रुअरी ४ मा एकैदिन ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका थिए।

यसरी एक महिनाभित्रै चीनले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन ठूलो सफलता प्राप्त गरेको हो।

जनवरी २३ देखि वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिएको थियो। सहर बन्द गरिए पनि संक्रमणको दर वुहानबाहिर पनि बढेको थियो।

कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार १ सय ३६ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ३ सय ९४ जना बिरामी भएका छन्।

चीनमा नियन्त्रणमा आउन थालेको कोरोना भाइरस विशेष गरी युरोप, अमेरिका र एसियाका केही मुलुकमा ठूलो संख्यामा फैलिरहेको छ।

सबैभन्दा ठूलो संक्रमण इटालीमा देखिएको छ। इटालीका प्रधानमन्त्री जुसेप कोन्टेले २० वटै प्रान्तमा कोरोना भाइरस फैलिएको जानकारी दिएका छन्। इटालीमा आइतबार १ सय ३३ जनाले ज्यान गुमाएका थिए भने सोमबार ९७ जनाको मृत्यु भएको थियो। त्यस्तै एकैदिनमा संक्रमण २५ प्रतिशतले बढेको छ।

चीनपछि इटाली कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित हुने देश बनेको छ। इटालीमा अहिलेसम्म ४ सय ६२ जनाको मृत्यु भइसकेको छ भने ९ हजार १ सय ७२ जनामा कोरोना भाइरस देखिएको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि इटलीले देशभर खुला आवतजावतमा रोक लगाएको छ।अत्यावश्यक भएको खण्डमा अनुमति लिएरमात्र नागरिकलाई घर बाहिर निस्कन भनिएको छ।

तेस्रो धेरै प्रभावित देश दक्षिण कोरिया हो। त्यहाँ अहिलेसम्म ५४ जनाको मृत्यु भएको छ भने ७ हजार ५ सय १३ जनामा संक्रमण देखिएको छ।

युरोपका अन्य मुलुक जर्मनी, फ्रान्स र स्पेन धेरै प्रभावित भएका छन्। यी सबै मुलुकमा एक हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ।

अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण बढ्दो छ। क्यालिफोर्निया र न्युयोर्क राज्यले कोरोनाविरूद्ध लड्न संकटकाल घोषणा गरेका छन्। अमेरिकामा अहिलेसम्म २४ जनाको मृत्यु भएको छ भने ५ सय १४ जनामा संक्रमण देखिएको छ।

सम्बन्धित समाचार