क्यालिफोर्नियामा डा. गणेश योन्जन र अमृत योन्जन सम्मानित

January 26, 2018

एभरेष्ट टाईम्स् / क्यालिफोर्निया

दुई अभियन्ता डा. गणेश योन्जन र अमृत योन्जनलाई अमेरिकामा सम्मानित गरिए । तामाङ को-अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले हालै एक कार्यक्रमको आयोजना गरी योन्जनद्वयलाई सम्मान गरेको हो । जापानका लागि नेपालको पुर्व राजदूत डा. गणेश योन्जन जनजाति आन्दोलनका अभियन्ता हुन् भने अमृत योन्जनलाई तामाङ भाषाविदका रुपमा अभियन्ता मानिन्छ ।  गत जनवरी १३ र १४ मा न्यूयोर्कमा सम्पन्न पहिलो उत्तर अमेरिकी तामाङ सम्मेलनमा भाग लिन योन्जनद्वय नेपालबाट अमेरिका अाईपुगेका हुन् ।  

सोसाईटीका अध्यक्ष कुमार दोङको अध्यक्षतामा सम्पन्न भएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सोसाईटीका सल्लाहकारहरु, सदस्यहरु लगायत अन्य समुदायका प्रतिनिधीहरु उपस्थित थिए । सोसाईटीका संस्थापक रत्तु लामाले स्वागत मन्तब्य राखे भने सल्लाहकार बिध्यासागर योन्जनले अतिथी योन्जनद्वयबाट तामाङ समुदायमा भएको महत्वपुर्ण योगदानको चर्चा गरे । नेपाल जानजाति महासँघ, क्यालिफोर्नियाका अध्यक्ष देव किराँत राईले मन्तब्य राख्ने क्रममा जानजातिको मुद्दा शसक्त ढंगबाट अघि बढाउँन तामाङ जातिको योगदानको प्रशंसा गर्दै जनजाती एकताको पक्षमा जोड दिए । युवा गोविन लोप्चनले सँचालन गरेको उक्त कार्यक्रममा तामाङ सोसाईटी अफ उत्तर अमेरिकाको वरिष्ठ उपाध्यक्ष शेर लामा पनि उपस्थित थिए । 

डा. गणेश योन्जन प्रमुख अतिथी तथा अमृत योन्जन बिशेष अतिथी रहेको कार्यक्रममा तामाङहरुको भाषिक र राजनीतिक अवस्था सन्दर्भमा अन्तरक्रिया समेत गरिएको थियो । भाषाविद अमृत योन्जनले नेपालमा तामाङ भाषा र अन्य भाषाको स्थान, भाषाको जन्म, बिस्तार र लोप बारेमा बिचार प्रस्तुती राखेका थिए । यसैगरी डा. गणेश योन्जनले मन्तब्यको क्रममा अझै पनि राज्यको तर्फबाट तामाङहरुका साथै सिँगो जनजाति नै बिभेदमा रहेकोले मुद्दा नसकिएको बताए । प्रश्नोत्तरको समयमा रत्तु लामा, पुनम शाक्य, रोशन सुब्बा, बिनोद तामाङ लगायतले राखेका जिज्ञासा तथा प्रश्नहरु उपरयोन्जनद्वयले प्रष्ट पारेका थिए । 

अध्यक्ष दोङले सहभागी सबैलाई सहयोगको लागि धन्यबाद ब्यक्त गर्दै अगामी फेब्रुअरी १७ तारिक सोनाम ल्होछार साँझको निम्तो सहित कार्यक्रम समापनको घोषणा गरे । 

सम्बन्धित समाचार