चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे

November 11, 2019

सांङ्घाई– चिनियाँ उपभोक्ताले सोमबार एकै दिन १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उद्घाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए ।

चीनमा पछिल्ला वर्ष ‘वर्षमा एक दिन’ (सिङ्गल्स डे) नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ । यस दिन चिनियाँ नागरिकले सस्तोमा सामान किन्न पाउँछन् ।

ई–कमर्श कम्पनी अलिबाबाका अनुसार ६८ सेकेन्डभित्रै १ अर्ब अमेरिकी डलर बराबरको सामान बिक्री गरेको जनाएको छ । अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्सदेखि लत्ताकपडा र घरायासी सामान बिक्री भएका थिए ।

अलिबाबाले गत वर्षको तुलनामा यसवर्ष ४३ मिनेट अघि नै अलि–पेमार्फत सम्पूर्ण भुक्तानी प्रक्रिया टुङ्ग्याएको जनाएको छ । अलि–पेका अनुसार ६३ मिनेट ५९ सेकेन्डमै १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार गरेर नयाँ रेकर्ड समेत बनेको छ ।

गतवर्ष २४ घण्टे यस कार्यक्रममा अलिबाबा प्लेटफर्मबाट मात्र ३० अर्ब ७० करोड बराबरको सामान बिक्री भएको थियो ।

अमेरिकामा सूचीकृत अलिबाबा यो महिना सुरुमा कम्पनीको बिक्री निकै बलियो देखिएको छ । तर कम्पनीको समग्र वृद्धि भने झण्डै ४० प्रतिशतले घटेको छ । चीनको अर्थतन्त्र अहिले मन्दीतर्फ अग्रसर रहेको र अमेरिकासँगको व्यापार युद्ध चलिरहे पनि खुद्रा बिक्रीको अवस्था राम्रो देखिएको छ ।

सम्बन्धित समाचार