तमू सञ्चारकर्मी संघको अध्यक्षमा रविन, महाधिवेशनबाट ९ बुँदे घोषणापत्र जारी

March 2, 2020

लमजुङ– तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको चौथो महाधिवेशनबाट रविन गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । लमजुङको ऐतिहासिक गुरुङ गाउँ क्होंलासोंथर गाउँपालिका–६ पसगाउँ (पैको नासा) मा फाल्गुन १६, देखि १८ सम्म भएको महाधिवेशनले नौ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।

महाधिवेशनले अध्यक्षमा रविन तमु (स्याङ्जा ), उपाध्यक्षमा चित्रबहादुर (लाला) गुरुङ (स्याङ्जा), महासचिव रोशनी तमुस्यो (कास्की ), सचिव चित्र तमु (चितवन), कोषाध्यक्ष दीपेन्द्र तमु (रामेछाप), सदस्यहरूमा मणि सर्वजा तमु (स्याङ्जा ), सीता तमुस्यो ( चितवन ), रोहित तमु ( सिन्धुली ), श्री गजेन्द्र तमु (बाँके), मिना तमुस्यो (लमजुङ), केशव तमु (गोर्खा), कुमार तमु (बुटवल), नवीन तमु ( सुनसरी), श्री खिमा तमुस्यो (कास्की) र किरण तमुस्यो (कास्की) रहेका छन् ।

घोषणापत्रमा सञ्चार माध्यममा पूर्ण समावेशी सिद्धान्तलाई अवलम्बन गरि कार्यान्वयन गरिनु पर्ने, तमू भाषामा प्रकाशित, प्रसारित सञ्चारमाध्यमलाई सहुलियतको व्यवस्था गरिनुपर्ने, बिरामी सञ्चारकर्मीको उपचारका लागि सरकारले व्यवस्था गर्नुपर्ने लगायतका माग गरिएको छ ।

महाधिवेशनले पारित गरेको नौ बुँदे घोषणा पत्र

१.नेपालको सञ्चार क्षेत्रलाई संघीयतामा गएको देशको शासन प्रणाली अनुसार परिमार्जित गर्न प्रतिबद्ध हुँदै मूलकका सबै जातजाति र समुदायका आवाजहरू राष्ट्रिय सञ्चार माध्यमहरूमा मुखरित गर्न गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

२.नेपालको संविधान अनुरूप सञ्चार माध्यममा समेत पूर्ण समावेशी सिद्धान्तलाई अवलम्बन गरी कार्यान्वयन गर्न माग गर्दछ ।

३. मुलुकका सबै जातजाति र समुदायका आवाजहरू नेपाली सञ्चार माध्यममा न्यायोचित रूपमा मुखरित गर्न आवश्यक कानुन तर्जुमा गरी सबैको प्रतिनिधित्व र विषय वस्तुमा समावेशी सिद्धान्त अनुरूप समेट्न माग गर्दछ ।

४. तमू लगायत सम्पूर्ण आदिवासी जनजातीय समुदायका भाषा, धर्म, संस्कार, स‌ंस्कृतिको संरक्षण गर्ने कार्यमा राज्यले जिम्मेवारीपूर्ण तरिकाले अभिभावकत्व ग्रहण गर्न जोडदार माग गर्दछ ।

५. राज्यका सबै तहमा बन्ने सञ्चारसँग सम्बन्धित ऐन कानुन तर्जुमा गर्ने सिलसिलामा सबै समुदायगत सञ्चार क्षेत्रसँग पूर्ण परामर्श गर्ने व्यवस्था गर्न जोडदार माग गर्दछ ।

६. सञ्चार क्षेत्रमा राज्यले प्रदान गर्ने अनुदान, सेवा सुविधा समानुपातिक, समावेशी सिद्धान्तका आधारमा समुदायगत सञ्चार संस्थाहरूलाई प्रदान गर्न माग गर्दछ ।

७. तमू भाषामा प्रकाशित, प्रसारित पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन कार्यक्रम र संस्थालाई प्राथमिकताका साथ सहुलियतको व्यवस्था गरियोस् ।

८. बिरामी तमू लगायत सम्पूर्ण सञ्चारकर्मीको उपचारका लागि सरकारले यथोचित व्यवस्था गरोस् ।

९. पर्यटकीय सम्भावना रहेका देशका गुरुङ गाउँ बस्तीहरूको सर्वाङ्गीण विकासका लागि घरेलु उद्यम, सीपमूलक तालिम, घरबासलगायत कार्यक्रम सफल पार्न राज्यको ध्यानाकर्षण गराउँदै यथोचित व्यवस्था गर्न माग गर्दछ ।