तिम्रो आँखाको पर्दाबाट म हराएँ भने…

March 4, 2020

डा. मधु माधुर्य

 

बेहोसी वर्तमानको भद्रगोल परिवेशमा
मानवीय समवेदनाको उत्कर्ष हराएपछि
मानिसको भीडबाट
“म” पनि एकाएक हराएको छु

मुखुण्डोधारीहरुको नाङ्गो बस्तीमा–
मुखुण्डो नलगाउनेहरुलाई
आफ्नो अनुहार छोप्न नसक्नेहरुलाई
कुनै रमिता हुँदैन सायद
र कोलाहलबाट “म” पनि एकाएक हराएको छु

म निस्कनेबेला–
जून र घाम सुतिरहेको थियो
पाखा–पर्वत सुतिरहेको थियो
रात उठिरहेको थियो
झरना झरिरहेको थियो
नदी सुसाइरहेको थियो

आभास हुन्छ मिर्मिरेको मृगतृष्णा
त्यहाँ घाम झुल्केको इतिहास छैन
मुखुण्डोधारीहरुलाई–
घाम चम्केको
जून झुल्केको
उज्यालो छर्दै बत्ती बलेको
मन पर्दैन
र जुनकिरीको ज्योति देख्दा
तारा भन्दै रमाउनु पर्छ

मुखुण्डो–
रातको
जङ्गली
अनुवाद हो !

त्यहाँ रातको साम्राज्य–
उज्यालोको सपना बाँडेर भाषण गरिरहन्छ
भोकाएर रोइरहेकाहरुलाई
लुट्पाट गर्दै काउकुति लगाइरहन्छ
आफू उभिएको “माटो” किन्ने ग्राहक–
खोजिरहन्छ
कुरिरहन्छ

नाङ्गो खुट्टा लिएर म हिँडेको बेला
काँडैकाँडाको बाटो हिँडेको याद छ
कुल्चँदा कति दुखे होलान् काँडाहरु ?
माफी माग्दै काँडामाथि हिँडेको याद छ

मेरो प्रस्थानको सम्पूर्ण कथा–
न गीत बज्न सक्यो न बाँच्यो कतै कविता !
रहस्य र व्यथा–
काँडालाई सोध्दा हुन्छ
खोला र झरनालाई थाहा होला
पल्लो घरको छिमेकीलाई थाहा होला

अचेत अवस्थामा कोही बोल्न सक्दैनन्,
अकारण डाहाले जलेर मूर्छित थिए छिमेकीहरु
बस्तीको कहालीलाग्दो परिवेश भोग्दाभोग्दा–
निरासिएर आत्महत्या गर्न
भीरबाट हाम्फाल्दै गरेको झरना
सवेदनाको आक्रान्त आवाजमा सुसाइरहेको खोला
तिमीसँग कहिले र कसरी गर्लान् भलाकुसारी ?

मेरो प्रस्थान–
मेरो नूतन विवशता
मेरो “स्वतन्त्रता” भनेर चित्त बुझाउँदैछु

बाटाका अशान्त ढुङ्गाहरु
केही पनि नबोल्न सक्छन्
आँसु छोपेर मुस्कुराइरहेका बेचैन फूलहरु
केही पनि नबोल्न सक्छन्

 

एकान्तलाई सोध्नू
“मेरो” ठेगाना–
सन्नाटालाई सोध्नू ।।।

अभयपुर, दोलखा
हालः न्युयोर्क अमेरिका

 

परदेशीको व्यथा
शेखर ढुंगेल

यता
फर्कने रहर गर्दा गर्दै स्वदेश
यतै मारिने पो हो कि भन्ने
चिन्ता छ
कुनै न कुनै बहाना बोकेर
पलायन हुनेहरुको
आफ्ना आफ्नै व्यथा छ
अर्काको भूमि
दोस्रो दर्जाको नागरिक
गर्ब गर्ने ठाउँ कमै छ
निहीत स्वार्थको सपनामा
चिटचिटाहट पसिना निधारमा बोकेर
यन्त्रमय जीवनलाई
निरन्तरता दिन कठिन छ
सम्झना आउँछ ती दिनहरु
अभावमा पनि
नरित्तिने हाँसोको मुहान थियो
बन्धुबान्धबहरु सितको
सहयात्रामा दुःख टाढा भाग्दथ्यो
कथित सुविधा र सुखमा
भौतारिँदा
एकमुट्ठी हाँसो हाँस्न पनि
बहाना खोज्नु पर्ने भयो
उता
भन्छन् कमायो ठूलो भयो
के सम्झन्थ्यो हामीलाई
परदेशमै मर्ने भयो
के सम्झन्थ्यो जन्मेको माटोलाई
गुनासो गर्छन्
कमाउँछ उसकै लागि
हाम्रो दुःख के हेथ्र्याे र ?
सम्झी–सम्झी कोसेली लग्यो
छुट्ने को त आफ्नै कुरो
पाउने को पनि गुनासो
भन्छन् यस्तो पनि ल्याउने हो
फर्कंदा सधै चिन्ता हुन्छ
कसलाई कसरी चित्त बुझाउने हो
यताको यथार्थता र
उताको कल्पना
बीचको पर्दा कसरी हटाउने हो
सोध्न मन लाग्छ
हे देशको ठेक्का लिन्छु भन्नेहरु हो
देश सम्पन्न बनाएर
विदेश जाने बहाना
कहिले रित्याउने हो ?

कथा र व्यथा
सृजना तुलाधर

सुनाउँछु एउटा कथा
हामी सबैको साझा व्यथा
गाउँ छोडे सहरको रहरमा
सहर छोडे साथीको संगतमा
उकालो, अप्ठेरो, गहिरो, डरलाग्दो
बाटोहरू पहिल्याउँदै पछ्याउँदै
सपना बोकी पुगे सात समुन्द्र पार
बाबाको धोको आमाको इच्छा
पु¥याउँदैछु परिवारको आवश्यकता
आँखा मिच्दै सुरू हुने दिन मेरो
आङमा तातो घाम नपर्दै बित्छ
राति निद्रामा आफ्नै गाउँ पुग्छु
कान्छीसँग गीतमा भाका हाल्छु
विदेशभूमिको यो मेरो बसाई
न कोही आफ्नो छ मेरो यहाँ
यस्तै छ कथा यस्तै छ व्यथा