तीन सामुदायिक सँस्थाहरुलाई प्रशंसापत्र

October 29, 2017

मच्छे गुरुङ / न्युयोर्क

न्युयोर्क शहरको लेखा नियन्त्रक कार्यालयबाट अमेरिकामा कार्यरत तीन सामुदायिक सँस्थाहरुले प्रशंसापत्र पाएका छन् । न्युयोर्क शहरको विविधतालाई कायम राख्न मद्दत गर्दै सामुदायिक विकासमा भूमिका खेलेको उल्लेख गरी नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना), छाँया सामुदायिक विकास सँस्था र दक्षिण एशियाली सामाजिक सेवा परिषदलाई न्युयोर्क शहरका लेखा नियन्त्रक स्कट स्ट्रिङगरले गत बुधबार दीपावली मनाउँन एल्महर्स्ट सामुदायिक अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा सो प्रशंसापत्र प्रदान गरेका हुन् ।

प्रशंसापत्र प्रदान गर्ने क्रममा लेखा नियन्त्रक स्ट्रिङ्गरले विविधता नै न्युयोर्क शहर तथा अमेरिकाको विशेषता रहेको बताउँदै समुदायलाई योगदान दिने संस्था तथा व्यक्ति सम्पदा भएको बताए । अमेरिकाको विविधतालाई मास्न खोज्ने जो सुकैसँग लड्न न्युयोर्क शहर तयार रहेको भनाई उनले राखेका थिए ।

प्रशंसापत्र लिए पछि नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) का अध्यक्ष लुइसाङ वाइबाले न्यूयोर्क शहरका लेखा नियन्त्रक स्कट स्ट्रिङगरलाई तामाङ मौलिक परम्परागत टोपी लगाएर कदर गरेका थिए । ‘आफुलाई कदर गर्नेलाई कदर नै गर्नुपर्छ भन्ने नेपालीहरुको संस्कार छ,’ स्ट्रिन्जरलाई टोपी लगाई दिनु अघि उनले भने, ‘म यो नेपाली टोपी लगाएर तपाईँलाई सम्मान गर्न चहान्छु ।’ फिप्नाका सबै सदस्य संस्थाहरुको सामुहिक प्रयासमा काम गर्दा यो सम्मानपुर्ण प्रशंसापत्र पाएको भन्दै अध्यक्ष वाइवाले सदस्य संस्थाहरुका साथै पदाधिकारीहरुलाई यो विशेष खुशियालीमा बधाई तथा धन्यवाद व्यक्त गरे । पारिवारिक साथ र समर्पणले काम गर्न सजिलो बनाएको उल्लेख गर्दै उनले श्रीमती बेलु तामाङ र छोरी वाङमु तामाङको साथ र समर्पणको प्रशंग निकाले । फिप्नाले पाएको यो प्रशंसापत्र नेपाल र नेपालीको लागि सम्मान भएको उनले बताए । यसले फिप्नालाई सामुदायिक विकासमा काम गर्न थप प्रेरित गर्नको साथै जिम्मेदारी बनाएको उनले बताए ।

सन २००५ मा स्थापना भएको फिप्नामा नेपाली आदिवासी जनजातिको न्युयोर्क स्थित १८ वटा संस्थाहरु आवध्द छन् । फिप्नाले अमेरिकामा बसोवास गर्ने  नेपाली आदिवासी तथा जनजातिहरुको मौलिक भेषभुषा तथा संस्कृतिको प्रोत्साहन साथै संरक्षण गरी पहिचान र अधिकारको क्षेत्रमा काम गर्दै आएको छ । नेपालीहरुको आप्रवासन अधिकारलाई अमेरिकी मूलधारमा ल्याउँन पनि फिप्ना सक्रिय रहेको छ । त्यस्तै नेपाललाई बिश्व सामू चिनाउँन नेपालको जातिय विविधता तथा प्राकृतिक सौन्दर्यको प्रबर्धन गर्दै आदिवासी तथा जनजातीको मौलिक पहिचानको अधिकारलाई सुनिश्चित गर्न फिप्नाले काम गर्दै आएको छ ।

सन् २००० मा स्थापना भएको छाँया सामुदायिक विकास संस्थाले न्युयोर्क शहरमा बसोबास गर्ने दक्षिण एशियाली मूलका मानिसहरुलाई आर्थिक रुपमा सम्पन्न तथा दिगो बनाउने लक्ष लिएको छ । न्युयोर्क शहरमा बसोवास गर्ने दक्षिण एशियाली मूलका मानिसहरुलाई घरको आश्वयकता पूरा गर्न पहल गर्ने उद्देश्य राखेर यसले काम गर्दै आएको छ । न्युयोर्क शहरमा रहेका दक्षिण एशियाली मूलका मानिसहरुको आर्थिक तथा नागरिक जीवनयापन गर्न सहयोग गर्ने कार्यमा लाग्दै आएको दक्षिण एशियाली सामाजिक सेवा परिषद् पनि सन् २००० मै स्थापना भएको हो ।

 

 

सम्बन्धित समाचार