तेह्रौँ साग आज राष्ट्रपतिबाट उद्घाटन हुँदै

December 1, 2019

काठमाडाैं– १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को आइतबार दशरथ रङ्गशालाबाट उद्घाटन हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ भव्य समारोहबीच उद्घाटन गर्ने तयारी भएको छ ।

करिब सवा ३ घण्टा हुने उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।

उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । सरकारले १३औँ साग प्रतियोगितालाई ऐतिहासिक बनाउन सबै तयारी पूरा गरिसकेको छ । काठमाडाैं, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने छ ।

उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहनेछ । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगीतालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ । सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा ५९४ खेलाडी, करिब १८ हजार सुरक्षाकर्मी र ५ सय स्वयंसेवक परिचालन गरिएको तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले जानकारी दिए ।

सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सन् १९८४ मा पहिलो पटक नेपालबाट सुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । प्रतियोगिताअन्तर्गत महिला फुटबल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पर्यटकीयस्थल पोखरामा र जनकपुरमा कुस्ती खेल हुनेछ ।

सम्बन्धित समाचार