दार्चुला पुगेर प्रधानमन्त्री देउवाले भने-विकासको लागि कांग्रेसलाइ जिताउनोस

November 17, 2017

दार्चुला । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको विचार व्यक्त गरेका छन् ।

 

काँग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा आज आयोजित चुनावी आमसभामा काँग्रेस सभापति देउवाले लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेको तर कम्युनिष्टको एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा बढेको बताए । “कम्युनिष्टले घुमाइफिराइ एकता गरेर जनतालाई धम्काउने, डराउने र त्रासमा राख्ने कोशिश गरिरहेका छन्” प्रधानमन्त्री देउवाले भने ।

विसं २००७ मा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको काँग्रेसले नेपाली जनतालाई यो देशको मालिक बनाएको बताउँदै देउवाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नेपालको प्रजातान्त्रिक भविष्यका निम्ति अति महत्वपूर्ण खुट्किला भएको स्पष्ट गरे ।

दार्चुलाको विकासका लागि काँग्रेस सदैव तयार छ भन्दै सभापति देउवाले चुनावलगत्तै व्यास, अपि हिमाल, मार्मा र लेकम गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखेर स्थानीय तहलाई सहुलियत दिइने आश्वासन दिए ।
प्रधानमन्त्रीले कञ्चनपुरको ब्रहमदेवदेखि दार्चुलाको तिंकरसम्म जोड्ने २९० किमीको महाकाली करिडोरलाई दुई वर्षभित्र पूरा गरिने र भारतसँग सिमानाका जोडिएको जिल्ला सदरमुकाम र जौलजीवीमा पक्की पुल बनाइने प्रतिबद्धता जनाए।

 

सम्बन्धित समाचार