धेरै शेर्पालाई सरकारी सेवामा प्रवेश गराउने योजना छ : टुक्ति शेर्पा, पूर्वसहायक सीडीओ

March 4, 2020

 

नेपालका आदिवासी शेर्पा समुदायबाट सरकारी सेवामा एकदमै कम व्यक्ति सहभागी छन् । निजामती सेवामा प्रवेश गर्नुपर्छ भन्ने संस्कार र परम्परा नरहँदा यस्तो अवस्था बनेको हो । यद्यपि पछिल्लो समयमा विस्तारै युवापिढी सरकारी सेवामा आकर्षित हुन थालेको सम्बन्धित क्षेत्रमा रहेकाहरुको अनुभव छ । सोलुखुम्बुका पूर्वसहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पा निजामती सेवामा शेर्पा समुदायलाई अगाडि बढाउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउछन् । १६ वर्षअघि जागिर सुरु गरेका शेर्पा अहिले नेपालको अध्यागमनमा अधिकृतका रुपमा कार्यरत छन् । शेर्पा समुदायको प्रेरित व्यक्तित्व पूर्वसहायक प्रमुख जिल्ला अधिकारी एवं अधिकृत शेर्पासंग निजामती सेवाको अनुभव र आगामी योजनाबारे आङछिरिङ शेर्पाले गरेको कुराकानी ।

 

शेर्पा समुदायबाट तपाईं निजामती सेवामा हुनुहुन्छ, यो क्षेत्रमा कहिले प्रवेश गर्नुभयो ? 

म सन् २००४ मा सरकारी सेवामा प्रवेश गरेको हु । अहिले १६ वर्ष भइसक्यो । अब पेन्सन पाक्न ४ वर्ष बाँकी छ । उमेरको हिसाबले जागिरै खाने हो भने अझै १९/२० वर्ष बाँकी छ ।

धेरै शेर्पाहरु विदेश जाने, हिमाल जाने र पर्यटन व्यवसायमा छन् । तपाईंलाई चाहिँ लोकसेवा दिएर सरकारी सेवामा जानुपर्छ भनेर कहाँबाट प्रेरणा मिल्यो ? 

त्यो समयमा सरकारी सेवामा जानुपर्छ, शाखा अधिकृत बन्नुपर्छ भन्ने संस्कार, परम्परा शेर्पा समुदायभित्र थिएन । सरकारी सेवामा प्रवेश गरेर जीवनलाई अगाडि बढाउनुपर्छ भन्ने नै थिएन । तर पनि मलाई एक जना बाहुन साथीको संगत रह्यो । उहाँ लोकसेवामा लागिराख्ने, पढिराख्ने, फेल भएपनि प्रयास जारी राखिरहनुहुन्थ्यो । साथीले उकास्यो मलाई, ‘सर तपाईं पनि लोकसेवा फाराम भर्न जाऊ, गर्न सक्नुहुन्छ’ भन्नुभयो । उहाँको हौसला र सक्नुहुन्छ भन्ने सुझावपछि फाराम भरेँ । म शेर्पाको छोरो, परिवारका कसैले पनि सरकारी जागिर नखाएकोले सरकारी जागिर यस्तो, लोकसेवा यसरी पढ्नुपर्छ भन्ने सिकाइ कसैबाट पनि नपाउँदा के हो, के हो ? लाग्थ्यो ।

फाराम भरिएकोले तीन महिना हल्का तयारी पनि गरियो । जाँच दिन जाँदा मलाई आकाशबाट खसेजस्तो लाग्यो । लोकसेवा तयारी कक्षा भनेको स्कुल, कलेजमा जाँच दिएजस्तो होइन रहेछ । लगनशील, धेरै कडा परिश्रम चाहिनेरहेछ । त्यसबेला मलाई थाहा भो, लोकसेवा यसरी पास नहुने रहेछ । त्यो अनुभवपछि तत्काल किताब किनेर अर्को वर्षको पूर्ण तयारीमा लागे । पछि फाराम खुलिसकेपछि भरे । पहिलेको अनुभव अनुसार टाइम म्यानेज कसरी गर्ने भन्ने थियो । एक वर्ष लाग्यो लोकसेवा तयारी । त्यसको अर्को वर्ष सफल भएँ ।

पहिलो सेवा कहाबाट सुरु गर्नुभयो ? 

मैले सुदूरपश्चिमको दार्चुलामा खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयबाट काम सुरु गरे । त्यहा दुई वर्ष सेवा गरिसकेपछि काठमाडौं फर्किएर प्रधानमन्त्री कार्यालयमा लगभग लगभग १० वर्ष काम गरे । २०७४ मा शाखा अधिकृतमा बढुवा भइसकेपछि गृहमन्त्रालय अन्तर्गत पदस्थापन भए । त्यसपछि फ्रेस मान्छेलाई काठमाडौं बाहिर पठाउने हुन्छ । त्यस दौरानमा मेरै गृहजिल्ला सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी भएर दुई बर्ष सेवा गर्ने मौका पाएँ । त्यो सुनौलो अवसर पनि थियो मलाई किनकि आफ्नै जिल्लाका नागरिक र समुदायसँग नजिक रहेर प्रशासनिक क्षेत्रमा काम गर्नु पाउनु । चुनौती त छँदैथियो । र, पनि एक किसिमको सहजता थियो । भौगोलिक परिस्थिति, बनोट सबै बुझेको, त्यहाका जनतासँग नजिक भएको, आफन्त र चिने–जानेको भएर हरेक कामहरुमा समन्वय गर्न सजिलो हुन्थ्यो । केन्द्रबाट अख्तियारी पाएको जिल्लामा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने काममा खटिए ।

आफ्नै जिल्लामा दुई वर्ष सहायक सीडीओ हुंदा रोचक अनुभव के रह्यो ?

ओहो ! शेर्पा पनि सहायक सीडीओ रहेछ भन्ने बजारमा हल्ला हुन्थ्यो । मलाई भेट्न चिनेको नचिनेहरु आउथ्यो । बधाई आउथ्यो । म पहिलादेखि सामाजिक कार्यमा व्यस्त भएको मान्छे भएकोले नेपाल बाहिरका मान्छेले पनि चिन्ने, शुभकामना, बधाई दिने काम लामो समयसम्म चल्यो । अरु जातिहरुका लागि सहायक सीडीओ ठूलो पद त थिएन । शेर्पाले त हिमाल चढ्ने, ट्रेकिङ गर्ने, होटल व्यवसाय गर्ने मान्छे कसरी प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी भयो भन्ने खालका कौतुहलता हुन्थ्यो र अचम्म मान्थ्यो ।

भनेपछि लामो समय बधाई लिनुभयो ? 

अँ, साथीहरु एक वर्षसम्म आउँथे । खादा लाइदिन्थ्यो । भनौं, एक किसिमको रमाइलो हुन्थ्यो ।

शेर्पा समुदायका युवाहरुलाई के सुझाव दिनुहुन्छ तपाईं ? 

वास्तवमा आफ्नै देशमा सरकारी सेवामा प्रवेश गरेर आफ्नो भविष्यलाई उज्ज्वल बनाउने हो भने कडा मेहनत, परिश्रम गर्ने हो भने छिर्न गाह्रो छैन । अघि भनेजस्तै, कलेजको परीक्षा जस्तो हुँदैन यसमा । निरन्तर दुई/तीन वर्षको लगनशील, मिहिनत चाहिन्छ । हिजोआजका युवाहरु सबै कुरामा पोख्त छन् । हामीले राज्यबाट पाउने हकअधिकारका लागि सडकमा गएर आन्दोलन गरिरहनुभन्दा शेर्पा समुदायका युवापिढी सरकारी सेवामा प्रवेश गरेर नीति, निर्माण तहमा पुग्यो भने शेर्पा समुदायको समस्या के हो ?, राज्यबाट के अपेक्षा गरेको छ भन्ने कुरा त सहज तरिकाले राख्न सकिन्छ । अनि आफ्ना समुदायको विषय कागजमा लेख्न सकिन्छ । त्यसले ठूलो मद्दत पुग्छ । अरुले मिहिनेत, परिश्रम गरेर माथि पुगे, अब हामीले गर्नुपर्छ । र पनि पहिलेको तुलनामा हिजोआज लागिरहेका छन् साथीहरु । तदारुकता देखाइरहेका छन् । निजामती सेवामा शेर्पा समुदायलाई पनि प्रवेश गराउन विभिन्न संघसंस्थाले कार्यक्रम गरिरहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी हुँदा के गर्नुभयो त सोलुखुम्बुलाई ? 

सहायक प्रमुख जिल्ला अधिकारी भएर जादाखेरी म प्रशासक होइन । त्यहाका जनतालाई राज्यबाट प्रदान गरिने सेवा, सुविधा कसरी सजिलो तरिकाले प्रवाह गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन्थे । त्यहाँका हरेक समस्या समाधान गर्नका लागि एकदमै लोयल भएर, कसरी हुन्छ जनतालाई खुसी बनाउने, साना साना समस्या छ भने पनि सुनिदिने र उनीहरुलाई न्याय दिने काममा लागे । अर्कोकुरो, आफ्नै जिल्ला भएकोले ती काम गर्दा समाजसेवा गरेजस्तो लाग्थ्यो । जिल्लाका मान्छेहरुले पनि हाम्रो आफ्नै मान्छे सहायक सीडीओ छन् भनेर आउथे । मैले हरेक समस्या समाधान गरिदिन्थेँ । कसरी हुन्छ सजिलो गरी सेवा प्रवाह गर्थे, उनीहरु खुसी हुन्थे । नियम कानुनले दिने काम सरल तरिकाबाट प्रवाह हुन्थ्यो । नियम, कानुनभन्दा बाहिरका काम त गरिदैन । र पनि, केही जटिलता थियो भने, त्यसलाई फुकाउने काम गरिन्थ्यो ।

निजामती सेवाबाहेक अरु केमा व्यस्त हुनुहुन्छ ?

म काठमाडौं आएदेखि नै सामाजिक काममा व्यस्त हुन्थे । निजामती सेवामा प्रवेश गर्नुअघि र पछि धेरै समय युवाहरुको विकासका लागि शेर्पा क्लब खोले । त्यो क्लब शेर्पा युवाहरुलाई कसरी अगाडि बढाउन सकिन्छ, कसरी मोटिभेट र उर्जाशील बनाउन सकिन्छ भन्नेमा केन्द्रित थियो । क्लबमार्पmत फुटबल खेलाइयो । विभिन्न जिल्लामा चिनियो । शेर्पा एलायन्स खोल्यौं । हामीले लोकसेवा तयारी कक्षा सञ्चालन गर्‍यो । लोकसेवाबाट केही साथीहरु उत्पादन भए । अहिले ती साथीहरु ठाउ ठाउँमा काम गरिरहेका छन् । जहिल्यै पनि मलाई समाजमा केही नयाँ काम गरौं ।

कसरी हुन्छ समाजलाई चिनाउनुपर्छ, समाजलाई अगाडि बढाउनुपर्छ । समाजलाई शिक्षित बनाउनुपर्छ भन्ने हुन्थ्यो । सहायक सीडीओ भएर बस्दा पनि सोलुखुम्बु जिल्लाको पर्यटन विकासका लागि काम गरे । जिल्लाको बारेमा गुगलमा केही पनि नदेख्दा खल्लो लाग्यो । त्यसपछि सोलुखुम्बु जिल्लाको वेबसाइट बनाउनुपर्छ भन्ने भयो र सोलुखुम्बुडटकम  बनाइदिए । सोलुखुम्बु कहाँ रहेछ, त्यहा घुम्ना जाने ठाउँ कहाँ कहाँ रहेछ, के रहेछ भन्ने सोलुखुम्बु डटकमले पनि चिनाउने भयो । जिल्ला चिनाउन एउटा व्यक्तिले गर्न सक्ने काम रहेछ । एक/दुईवटा किताब पनि लेखिरहेको छु । सांगीतिक क्षेत्रमा पहिलादेखिनै रुचि भएपनि भर्खरै प्रवेश गरेको छु । जुन गीत हालसालै अमेरिकामा रिलिज भएको छ ।
सांगीतिक क्षेत्रमा पनि सक्रिय हुन थाल्नुभएको छ, यसबारेमा केही बताइदिनुहोस् न ? 

हुन त सबै मान्छेलाई संगीत मन पर्छ होला । सानैदेखिन मलाई पनि गीतसंगीत रुचि थियो । यसै क्रममा केही बर्ष अघि महेश ज्ञवाली सरको शब्द किनेर मैले गाएको छु । एकजना सरले ल्याङल्याङ शब्द भएको गीत बजाइरहनुभएको थियो, सार्वजनिक भएको थिएन । त्यो ल्याङल्याङ भन्ने प्रचलित शब्द मन पर्‍यो । मैले यो चाहि मेरो हो भनेर केही दाम दिएर किने । सकिन्छ हरेक क्षेत्रमा केही गर्नुपर्छ भनेर । यो व्यवसायिक रुपमा होइन । केवल एउटा हबी ।

तपाईंपछि कति शेर्पा युवायुवती निजामतीमा प्रवेश भए ?

हामीले शुरु गरेको क्लब मार्फत लोकसेवाको तालीम दिएर करिब आधा दर्जन जति शेर्पा युवाहरु निजामति सेवामा प्रवेस गरिसकेका छन । विभिन्न जिल्ला र काठमाडौंमा बस्दा केही साथीहरु देखेका छौं । गुल्मीका दावा तेन्जी भाइ हुनुहुन्छ । उहाँ हाम्रो संस्थामा महासचिव हुनुहुन्थ्यो । उहाँ अहिले प्रहरी सेवामा असई हुनुहुन्छ । धनकुटालगायत गरी आधा दर्जनजति भए होलान् । शेर्पालाई जागिर खान निकै गाह्रो छ ।

अबको योजना के छ ?

निजामती क्षेत्रै प्राथमिकतामा पर्छ । मैले नै निजामती क्षेत्र चटक्कै छोडेर सांगीतिक क्षेत्रमा लागेँ भने शेर्पाले जागिर खाना सकेन, मलाई पछ्याउने साथीहरुले पनि पछि छोड्छन् । त्यसैले निजामती क्षेत्र छोड्ने कुरै भएन । उमेर छ, अझै १५/१६ जागिर खाने समय भएकोले केही गर्नुपर्छ ।

सहसचिवसम्म पुगिन्छ कि भन्ने छ । त्यो भयो भने आफ्नो समुदायलाई यो भन्दा बेसी योगदान दिन सकिन्छ । त्यो मात्रै नभएर अब युवाहरुका लागि सशक्त रुपमा लोकसेवासम्बन्धी कक्षाहरु सञ्चालन गरेर अगाडि बढाउने विचारमा छु । गरिब जेहेन्दार विद्यार्थीहरु लोकसेवा गरेर सरकारी सेवामा प्रवेश गर्ने योजनामा छन् । हुने खानेका छोराछोरीहरु अमेरिका, जापानतिर पढ्न जालान् । विचरा गाउँका शेर्पाका छोराछोरीहरु काठमाडौं आएर बस्नु पर्छ । उनीहरुलाई नेपालमै बसेर केही गर्न सकिन्छ कि भन्ने छ । त्यस्ता खालका व्यक्तिहरुका लागि लोकसेवा कक्षा सञ्चालन गर्ने प्लानिङ गरिराखेको छु ।

अस्ति भर्खर शेर्पा संघले पनि यो कामलाई प्राथमिकता दिएर अगाडि बढ्ने भन्ने कुरा गरेको छ । अब हेरौं, संस्थागत रुपमा के हुन्छ, व्यक्तिगत रुपमा मेरो पहलचाहिँ जारी नै रहन्छ । शेर्पा युवाहरुलाई बढीभन्दा बढी कसरी सरकारी सेवामा प्रवेश गराउने भन्ने योजना छ । यसमा धेरै लगानी पनि जाँदैन । पढ्नु पर्‍यो । लोकसेवा भनेको भारी बोक्ने काम होइन । दिमागको कुरा भएकोले यसमा मिहिनेत, परिश्रम चाहिन्छ । लगनशीलता चाहिन्छ । एकैचोटी पास नहुन पनि सक्छ । हाम्रो शेर्पा समुदायमा के छ भने, एकचोटी हेर्ने, भएन भने छोड्दे भनेर अर्कोमा लाग्ने चलन छ । हामीले दुई/तीनचोटी प्रयास गर्नुपर्छ । प्रयास गर्दै गएपछि अवश्य सफल हुन्छ ।

अन्तमा, तपाईं निजामती सेवामा लागिरहदा आफ्नै समुदायले कसरी हेरिरहेको छ ?

शेर्पा समुदायले मात्रै नभएर अरु समुदायले पनि एकदमै एप्रिसेट गर्छ । शेर्पा समुदायले सकारात्मक रुपमा हेरेको छ । जेहोस् हाम्रो पनि सरकारी शेर्पामा अधिकृत हुनुहुन्छ है । गर्व फिल गर्ने, रेस्पेक्ट गर्ने, मान, इज्जत गर्ने गरिन्छ । समस्या पर्‍यो मलाई फेसबुकमा म्यासेज पठाएर सुझाव मागिरहनुभएको हुन्छ । कानुनी प्रक्रिया के के छ भनेर सोध्ने । मैले जवाफ दिने । नागरिकता, राहदानी बनाउने लगायतको प्रोसेसबारे सोध्छन् । भनिदिने गर्छु । शेर्पा समुदायले बुझेका छन्, हाम्रा टुक्ति सर हुँदा त यत्ति फाइदा छ भने टुक्ति सरजस्ता मान्छे १०/१५ जना सरकारी सेवामा भइदिए भने हाम्रो समुदाय कहाँ पुग्छ त भन्ने खालको महसुस गरेको छ । तर, महसुस गरेर मात्रै पनि भएन । त्यसलाई एक्सनमा लानु पर्‍यो । शेर्पा विद्यार्थी मञ्च । त्यसले लोकसेवा कक्षा तयारी गरेर युवाविद्यार्थीहरुलाई अगाडि बढाउने हो नि त । यस्ता कामहरुमा लाग्यो भने त हुन्छ । विद्यार्थी मञ्चले मात्रै गर्नुपर्छ भन्ने छैन । मैले पनि गरिरहेको छु । यस्ता कुरामा शेर्पा समुदायले एकदमै एप्रिसेट गर्छ । तर, के गर्ने, शेर्पा समुदायले एप्रिसेट गरेर मात्रै भएन ।

सम्बन्धित समाचार