नेपालमा एकै दिन कोरोनाका तीन बिरामी फेला

April 4, 2020

काठमाडौं । नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भेटिएका छन् ।

कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ। अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन्।

मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन्। यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो। ३४ वर्षीया महिलामा यो संक्रमण पुष्टि भएको हो। पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको हो।

आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ। २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। क्‍वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो।

त्यसैगरी नवौँ संक्रमण कञ्‍चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषमा देखिएको हो। उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्‍वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो। तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ।

सम्बन्धित समाचार