नेपाली कां‌ग्रेस र रगतसँग जोडिएको जनसम्पर्क समिति

March 4, 2020

आनन्द विष्ट
नेपाली कांग्रेस पार्टी नेपाली जनताको आशा र भरोसाको केन्द्र हो । मुलुकमा जे जति परिवर्तन भयो, त्यो कांग्रेसको नेतृत्वदायी भूमिकाका कारणमात्र संभव भएको । नेपालको पुरानो दल कांग्रेसको झण्डै सात दशक लामो गौरवपूर्ण इतिहास छ । एक सय चार वर्ष लामो जहाँनिया राणा शासनको अन्त्य कांग्रेस नेतृत्वमा भयो ।

जनतालाई रैतीबाट सार्वभौमसत्ता सम्पन्न नागरिक कांग्रेस नेतृत्वले बनाएको हो । मुलुकमा राजतन्त्रको अन्त्य, संघीय गणतन्त्र स्थापना पनि कांग्रेसकै नेतृत्वदायी भूमिकाबाट संभव भएको जगजाहेर छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकारको ग्यारेन्टी र लोककल्याणकारी राज्यको परिकल्पना कांग्रेसका संस्थापक महामानव बीपी कोइरालाले झण्डै सात दशकअघि देखेको सपना थियो । खुला अर्थतन्त्र र उदारवादका कारण नेपालको बाह्य देश र संसारसँगको सम्बन्ध मजबुत बनाउने कडी हो ।

मुलुकलाई संविधान दिने श्रेय पनि कांग्रेसलाई नै जान्छ । पार्टी हारे पनि देश नहारोस् भन्ने सोचका साथ गणतन्त्र नेपालका संस्थापक स्वर्गीय गिरिजाप्रसाद कोइराला, स्वर्गीय सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवाले मुलुकलाई संविधानसभा निर्वाचन, संविधानको घोषणा र तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको कुरा घामझैं छर्लङ्ग छ ।

पार्टीभित्रको गुटगत राजनीतिको असर कांग्रेसमा मात्र परेको छैन । त्यसले देशलाई पनि असर गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठक र त्यसबाट भएका निर्णयहरुमा नेताहरुबाट व्यक्त असन्तुष्टिलाई साम्य पार्दै सभापति देउवाले सबैलाई मिलाएर लैजाने खोजेको प्रस्ट हुन्छ ।
यथास्थितिवादमा संगठन सधैं कमजोर हुन्छ भन्नेमा सभापति देउवा प्रस्ट हुनुहुन्छ । तसर्थ उहाँ सबैलाई समेटेर संगठनलाई गतिशील बनाउन प्रयत्नरत हुनुहुन्छ । उहाँको सदाशयता सहमतिमै छ र सोहीअनुरुप प्रयासरत हुनुहुन्छ । तर आन्तरिक राजनीतिमा देखिएको सभापति देउवालाई काम गर्न नै असहज बनाइदिने जुन एक किसिमको अवस्था छ, त्यसलाई चिरेर अघि बढ्नुको अब विकल्प पनि छैन । अन्योलमा मात्र राख्दा त्यसको अपजसको भागीदार पनि सभापतिले एक्लै बोक्नुपर्ने अनि त्यो अन्योल चिरेर अघि बढ्न सहमतिको प्रयास गर्दा पनि ‘शर्त’ मात्र थप्ने काम गर्दा निकास निस्कन्न ।
निर्वाचित सभापतिलाई काम गर्न दिनु र सहयोग गर्नु सबै कांग्रेसजनको जिम्मेवारी र दायित्व हो । चुनावी मैदानमा पक्ष र विपक्ष हुनु लोकतन्त्रको अभ्यास नै हो र त्यही अभ्यासले नै नेतृत्व निर्वाचित गर्दछ । निर्वाचित भएर नेतृत्व चयन भइसकेपछि अब त्यहाँ कुनै पक्ष र विपक्ष भन्ने नै हुँदैन र हुनु पनि हुँदैन । जित्ने नेतृत्व सबैको साझा हो । यसर्थ साझा नेतृत्वलाई सबैले सहयोग गर्नुपर्छ ।

यतिबेला कांग्रेसीजन एक हुनुको विकल्प छैन । बीपीको मेलमिलाप नीतिलाई कांग्रेसका हरेक नेता र कार्यकर्ताले स्मरण गरेरमात्र पुग्दैन । त्यसलाई आत्मसात गर्न उत्तिकै आवश्यक छ । कांग्रेस कमजोर छैन । थिएन । र हुँदैन पनि । तर पार्टीलाई बलियो बनाएर अघि बढ्न सबै पक्षले आआफ्ना निहित स्वार्थ त्याग्नुको विकल्प छैन ।

कांग्रेस इतिहासको अत्यन्त संगीन मोडमा छ । कम्युनिस्टहरुबाट देशको विकास र समृद्धि हुँदैन भन्ने कुरा झण्डै दुई तिहाईको नजिकको बहुमतको सरकारको कार्यशैलीबाट प्रस्ट भइसकेको छ । सत्ताबाहिर रहेको कांग्रेसभित्र शुद्धीकरणको जति आवश्यक छ, त्योसँगै जनतामाझ कम्युनिस्ट सरकारले गरेको देशप्रतिको गद्दारी भण्डाफोर गर्न पनि त्यत्ति नै आवश्यक छ ।

रगतसँग जोडिएको जनसम्पर्क समिति
कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाले प्रवासमा रहेका कांग्रेसजनलाई समेट्नका लागि आफ्नै पहलमा नेपाली जनसम्पर्क समिति स्थापना गर्नुभएको गौरव हामीसँग छ । तत्कालीन परिस्थितिमा भारत प्रवासमा जन्मिएको यो संस्था आज विश्वका ३५ वटा देशमा फैलिसकेको छ । जनसम्पर्क समितिसँग कांग्रेसको रगत छ । कांग्रेस हुँ भन्नेहरुको आत्माको जड र जरा दुवै जनसम्पर्क समितिमा जोडिएको र फैलिँदो पनि छ । त्यसैले त आज प्रवासमा हामी जनसम्पर्क समितिको छानामुनि संगठित छौं । भावनात्मक रुपमा कांग्रेससँग जोडिएको जनसम्पर्क समितिको आत्मालाई विच्छेद गराउने वैधानिक जटिलताका कारण आज प्रवासमा रहेकाहरुको चिन्ता बढेको छ ।

आत्माविहीन शरीर बोकेर हामी कहाँ जाने, कुन गन्तव्यमा पुग्ने भन्ने चिन्ता प्रवासमा रहेका अधिकांश कांग्रेसजनमा छ । यसबीचमा पार्टीले ६ महिनाभित्र क्रियाशील सदस्य वितरण गरी अधिवेशन गर्नु भन्ने निर्देशसहितको पत्राचार गरेको छ । कांग्रेसको क्रियाशील सदस्यताको प्रक्रियामा विदेशमा रहेका नेपालीहरु कसैको विमति छैन । तर जनसम्पर्क समितिको नेतृत्व नै क्रियाशील सदस्यबाट चयन गर्नुपर्ने अवस्था आयो भने त्योचाँहि पूर्णतः अव्यवहारिक र विदेशी भूमिको कानुनी प्रावधानविपरीत हुनेछ जसले कांग्रेसलाई समेत घाटा हुनेछ ।

पार्टीको पछिल्लो महासमिति भेलामा समेत जनसम्पर्क समितिलाई अधिकारविहीन बनाउने गरी कतिपय सदस्यहरुले प्रस्ताव र आवाज उठान नगर्नु भएको होइन । केन्द्रीय समिति बैठकहरुमा समेत समितिलाई पर्यवेक्षकमा सीमित गराउनुपर्छ भन्ने आवाज नउठेको होइन । तर बीपी कोइरालापछि जनसम्पर्क समितिलाई अत्यन्त माया गर्ने नेतृत्व भनेको वर्तमान सभापतिको नेतृत्व नै हो । जसका कारण जनसम्पर्क समिति पार्टीको निकायमात्र बनेन केन्द्रीय समितिमा पहिलोपटक दुई जनाले आमन्त्रित केन्द्रीय सदस्य बन्ने अवसर पनि पाएका छौं । यस्तो नेतृत्वबाट समितिलाई कांग्रेससँग अझ बढी भावनात्मक रुपमा जोड्ने काम हुनेछ भनी अपेक्षा गर्नु स्वाभाविक हुन्छ ।

पार्टीको मूल कानुन विधानको परिच्छेद ५ मा जनसम्पर्क समिति गठनसम्बन्धी उल्लेख छ । यसैगरी केन्द्रीय समिति मातहत गठन हुने केन्द्रीय विभागमा पनि जनसम्पर्क समितिसम्बन्धी अलग्गै विभागको व्यवस्था छ । यसले पनि पार्टीले विदेशस्थित कांग्रेसजनको साझा संगठन नेपाली जनसम्पर्क समितिलाई दिएको महत्व प्रस्ट हुन्छ । अब यसलाई प्रवासमा थप गतिशील र प्रभावकारी बनाउने जिम्मेवारी हामी प्रवासी कांग्रेसजनको नै हो । यस अर्थमा नियमित अधिवेशन, सांगठनिक गतिविधिलाई तीव्रता र डेनमार्कमा यसै वर्ष सम्पन्न भएजस्तो प्रशिक्षण र अन्य कार्यक्रम गरी हामीले पार्टीलाई सहयोग पुर्‍याउनु पर्छ ।

पार्टीको हरेक आव्हानमा जनसम्पर्क समितिका साथीहरुले सहयोग गर्नुभएको छ, सहभागिता जनाउनुभएको छ । म स्वयम् विगत २२/२३ वर्षदेखि निरन्तर जनसम्पर्क समितिमार्फत क्रियाशील हुँदै आज पार्टीको केन्द्रीय समितिको आमन्त्रित सदस्यको रुपमा छु । यो हामी सबै प्रवासी कांग्रेसजनप्रति वर्तमान नेतृत्वले गरेको सम्मानको अर्थमा मैले लिएको छु । हामी कांग्रेसका सदस्य हौँ, यसमा विमति होइन, हामीले कांग्रेसको नीति, नियम, विधान मान्नुपर्छ यसमा पनि विमति होइन । तर विदेशमा हामीले तेस्रो देशको नागरिकका हैसियतले के कसरी संगठन चलाइरहेका छौं भन्ने विषयको गहिराईमा पुग्नु आवश्यक छ । अनौपचारिक रुपमा पनि पार्टीका जिम्मेवार नेतागणहरुसँग विद्यमान वैधानिक व्यवस्था र यसले पारेको कठिनाइबारे अवगत गराउने काम भएको छ । त्यस्तो भेट र कुराकानीमा प्रवासको समस्याबारे सबै नेताहरुले यस्तो व्यवस्थालाई सहजीकरण गर्न सकारात्मक कुरा गर्नु भएको छ ।
जुनसुकै देशमा बसे पनि सर्वप्रथम हामीले सम्मान गर्ने भनेको सम्बन्धित देशको नीति, नियम र कानुन हो, सम्बन्धित देशको कानुनी दायरामा रहेर आफ्नो अधिकारको भोगचलन गर्ने हो । यस अर्थमा हामीले कुनै पनि देशमा जनसम्पर्क समिति सम्बन्धित देशको कानुनअनुरुप दर्ता गरी सञ्चालन गर्नुपर्छ । जहाँ कानुनको उल्लंघन हुन्छ त्यहाँ हामी सबैलाई समस्या हुन्छ । अमेरिका, बेलायत, क्यानाडा,अस्ट्रेलिया, युरोप सबैतिर अहिले हामीले सम्बन्धित देशको कानुनअनुसार संस्था दर्ता गरेर नै समितिका नामबाट वैधानिक ढंगले काम गरिरहेका छौं । यसका लागि सम्बन्धित देशको कानुनी वैधानिकता पूरा गरेको व्यक्ति वा पदाधिकारी नै त्यस्तो संस्थामा आबद्ध हुने हो । अमेरिकाको हकमा अझ प्रस्ट पार्नु उचित हुन्छ, यो भूमिमा यहींको कानुनी वैधानिकता पूरा गरेको व्यक्तिले मात्र यहाँको अधिकारको उपयोग गर्न पाउँछ ।

हामीलाई नेपाली नागरिकता बोकेर भावनाको वेगले मात्र अमेरिकी वैधानिक कानुनको मूलबाटोमा पुर्‍याउँदैन । हाम्रो देशमा दोहोरो नागरिकताको प्रबन्ध भई नसकेको अवस्था एकातिर छ भने अर्कोतिर जुन देशमा बसेको छ त्यस देशको वैधानिकता पूरा गरेर बस्नुपर्ने हाम्रो दायित्व पनि छ । यस अर्थमा जनसम्पर्क समितिमा आबद्ध र क्रियाशील रहने भनेको सम्बन्धित देशमा कानुनी वैधानिकता पूरा गरेर बसेका कांग्रेसजनहरु नै हुन् ।
जुनसुकै देशमा बसे पनि सम्बन्धित देशको नियम, कानुन र वैधानिक हक, अधिकारको भोगचलन गर्न योग्य हुनेहरु नै बढी क्रियाशील हुने हुन् । यही अर्थमा नेपाली जनसम्पर्क समितिमा पनि सम्बन्धित देशमा वैधानिक रुपमा बसोबास गरेका र सोही देशको कानुनअनुसार संगठन दर्ता गरी चलाएका साथीहरु हुनुहुन्छ । यसको अर्को पाटो भनेको प्राविधिक पाटो पनि हो ।

प्रवासमा रहँदा, बस्दा सम्बन्धित देशको नीति, नियमअनुसार नागरिकता लिने, अधिकारको निर्वाध उपभोग गर्न पाउने, आफू र आफ्ना परिवारको आर्थिक, वैयक्तिक र आयआर्जनका अन्य उपलब्धि हासिल गर्ने, ज्ञान र सीप सिकी अन्ततःदेश हितका लागि त्यो सीपलाई प्रयोग गर्ने काम सबैले गर्दै आइरहेका हुन्छन् । यो अहिलेको अवस्थामा सामान्य कुरा पनि हो । यस अर्थमा नेपाली जनसम्पर्क समितिमा आबद्ध हुनेहरु सबै नेपाली नागरिक नै हुनुपर्छ भन्ने व्याख्या मूलतः अत्यन्त अव्यवहारिक छ । यस्तो व्याख्यामात्र गरेर बस्ने हो भने समितिमा को व्यक्ति क्रियाशील हुन सक्छ ? किनकि नेपाली नागरिकता भनेको नेपालका लागि हो, विदेशमा नेपाली नागरिकताले परिचय दिनेबाहेक अन्य अधिकार र कानुनी वैधानिकता प्राप्त भइरहेको अवस्था छैन ।

मेरो निजी विचार के हो भने जनसम्पर्क समितिमा आबद्ध हुने भनेको विगतमा कांग्रेससँग जोडिएका सदस्य र शुभेच्छुकहरु नै हुन् । तसर्थ यसमा नेपाली नागरिक भन्नुको सट्टामा कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिबद्ध साथीहरु भनेर सहजीकरण गरिदिनु उचित हुनेछ ।

विदेशमा वैधानिक रुपमा बसोबास गरी सम्बन्धित देशको कानुनअनुसार संगठन दर्ता गरी सञ्चालन गरिरहेकाहरुले निर्वाध रुपमा नेपाली जनसम्पर्क समितिको सदस्यता लिने र नेतृत्व चयन प्रक्रियामा भाग लिन पाउने वैधानिक हैसियत राख्छन् । तसर्थ यहीअनुसार विश्वभरका जनसम्पर्क समितिहरुलाई सहजीकरण गर्नका लागि केन्द्रीय समितिको आगामी बैठकले निर्णय गरोस् भन्ने सम्पूर्ण साथीहरुको भावनालाई कांग्रेसले सम्मान गर्नेछ भन्ने आशा गरौं ।

सम्बन्धित देशको जनसम्पर्क समितिको नेतृत्व चयन सोही देशको कानुनी प्रावधानअनुसार दर्ता भएको संस्थाको विधि विधानअनुसार हुने र महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य कांग्रेसको विधि, विधानअनुसार क्रियाशील सदस्यबाट हुने व्यवस्था नै उचित हो । पार्टीको क्रियाशील सदस्य नै पार्टीको पूँजी हो भने सम्बन्धित देशका साधारण सदस्यहरु नेपाली जनसम्पर्क समितिको आधार हो । यसतर्फ हामी सबैको ध्यान जानु आवश्यक छ ।
पार्टीको विधान कुनै शिलालेख होइन, आवश्यकता र औचित्यअनुसार विधान संशोधन गर्न सकिन्छ र विधानका गाँठाहरुलाई फुकाउनका लागि केन्द्रीय समितिले निर्णय गर्न सक्छ । तसर्थ हामीलाई पार्टीसँग भावनात्मक रुपमा अझ नजिक बनाउन आइपरेको यो वैधानिक व्यवस्थालाई निकास दिन केन्द्रीय समितिले निर्णय गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

(लेखक विष्ट कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष हुन् ।)