नेपाल आइपुगेकाे तीन महिनापछि

November 18, 2019

कृषु क्षेत्री

अमेरिकाबाट नेपाल फर्कदैं गर्दा धेरैले नेपालकाे नकारात्मक कुरा मात्र गरेकाे सुन्दै आउँदा मनमा खल्लाे लागेकै थियाे । धूँवा धूलाेमात्र छ बेथितिमात्र छ गरिबीमात्र छ अपराधीकरणमात्र छ जस्ता प्रचारहरु सामाजिक संजालमा छ्यापछ्याप्ति हेर्दा मेराे मनकाे खल्लाेभन्दा केटाकेटीहरु भने अमेरिका नछाडे हुन्थ्याे कि जस्ताे मानसिकतामा पुगेकाे थिए ।

तेह्र चाैध घन्टाकाे लामाे थकानयुक्त यात्रापछि काठमाण्डाै ओर्लने बित्तिक्कै एउटा आनन्द र आफ्नाेपन पायाैं हामीले । एयरपाेर्ट र त्यसकाे व्यवस्थापनका बारेमा संसारभरि नकारात्मक कुरामात्र सुनिरहे पनि त्याे अनुभूति पटक्कै हुन पाएन । अध्यागमन, विमानस्थलका कर्मचारीमा एकप्रकारकाे जिम्मेवारीबाेध र अनुशासन स्पष्ट अनुभूति गर्न पाइयाे । हामीले छाडेकाे अवधिभन्दा सफा र व्यवस्थित एयरपाेर्ट हाम्राे कल्पनाभन्दा बाहिर थियाे ।

धूलाे र धूँवामात्र छ भन्ने काठमाण्डाैकाे प्रचार भनेजस्ताे थिएन । नयाँ नयाँ भवन ब्यापारिक प्रतिष्ठानहरुले काठमाण्डाै विकसित शहरभन्दा कम अनुभूति भएकै थिएन र छैन पनि । याे तीन महिनामा धेरै राम्रा पक्षहरु अवलाेकन र अनुभूति गर्न पाइयाे ।
हाम्राे शिक्षा प्रणाली विश्वस्तरकै भइसकेकाे रहेछ । अक्सफोर्ड, क्याम्ब्रिज र हार्वर्डका बराेबर पढाइ हुने र त्यहाँ पाउने छात्रबृत्ति नेपालबाटै सहज भइरहेकाे पाइयाे । सैद्दान्तिक ज्ञानसँगै ब्यवहारिक ज्ञान पनि बढाउन सके मलाइ लाग्छ नेपालमा पढाइ भइरहेकाे काेर्स अमेरिकामा पनि पढाइदैंन । भविष्यमा उताबाट पनि बरु यतै विध्यार्थी ल्याउन सकिने देखिन्छ ।

स्वास्थ्य उपचार प्रणाली पनि सहज र सुगम देखियाे । ठूला ठूला अस्पताल, नर्सिंग हाेमहरु टाेल छिमेकमै खुलेका देखिए । राजधानीका शहरमा यसरी खुलेझैं देशका कुनाकाप्चा र गाउँघरमा खुले त स्वास्थ्य उपचारमा हामीले ठूलै फड्काे मार्न सकिने देखियाे । उपचार गर्नलाइ विदेश नै जानु पर्ने अवस्था पनि रहेन ।

याे चार वर्ष अमेरिकामा आपतविपत पर्दा Uber बाेलाउने गरेकाे थिएँ । तर त्यहीस्तरकाे तर अझ सस्ताेमा पठाओ टुटलले सेवा दिएकाे पाएँ । पठाओ र टुटलकाे सेवा पनि उत्तिक्कै भरपर्दाे र विश्वसनीय नै रहेछ ।
सवारीसाधनमा पनि साझा बसलगायतकाे सेवा निक्कै नै भरपर्दाे देखियाे । दशैं तिहारमा नेपाल आर्मी प्रहरीका गाडी चलाएर सेवा गरेको देखियाे ।

हाेटेल व्यवसाय पर्यटन व्यवसायमा पनि गुणात्मक परिवर्तन भएकाे अनुभूति भयाे । पर्यटकीय क्षेत्रहरुमा उल्लेखनीय हाेटेलहरुले उत्कृष्ट सेवा प्रदान गरेकै छन् । पर्यटन व्यवसायीहरुले पर्यटकीय प्रहरीहरुले अतिथिसँग गर्ने व्यवहार धेरै सन्तुलित र उम्दा देखियाे । सबैभन्दा उल्लेखनीय कुरा पर्यटनकाे विकासमा जनसहभागिता ब्यापक पाएँ मैले ।

संचारमा विशेष गरी माेबाइल अनि फाेनमा त हामीले फड्काे मारेकै थियाैं गुणात्मक सुधार पनि भएकाे रहेछ ।
दर्जनाैं राष्ट्रिय वा क्षेत्रीय टेलिभिजन, रेडियाे, एफ. एम.ले पनि नेपाल संचार र सूचनाकाे क्षेत्रमा निक्कै ठूलाे फड्काे मारेकाे अनुभूति भयाे ।

बैंकिंग सेवा सुविधामा निक्कै ठूलाे फड्काे मारेकाे रहेछ । eSewa, खल्ती मार्फत घरमै आफ्नै माेबाइलमा सम्पूर्ण बिल भुक्तानी लगायतकाे सुविधा बनिसकेकाे रहेछ । Foodmandu जस्ता सेवामार्फत् घरमै मन परेकाे खाना मगाउन सकियाे । अमेरिका अनि पश्चिमामुलुकमा रहेकाे स्वास्थ्य उपचारमा बिमा प्रविधि पनि भित्रिएकाे रहेछ । विकसित मुलुकमा झैं Online Shopping समेत देख्न पाइयाे भने ठूलाठूला Mart, Shopping Center हरु पनि खुलेका रहेछन् । घरनिर्माण गर्नलाइ भरपर्दा construction Company हरु समेत बनिसकेका रहेछन् ।

भन्नै पर्ने सबैभन्दा ठूलाे परिवर्तन त उज्यालाे नेपाल नै रहेछ । कुलमान घिसिंग अनि समग्र टिमकाे प्रयासमा लाेडसेडिंग मुक्त नेपाल आफ्नै जीवनकालमा देख्न पाइयाे । झन्नै साेह्र घन्टा लाेडसेडिंग भाेगेकाे मैले यसका लागि जति प्रशंसा गरे पनि अपुग नै हुन्छ ।

विहानै उठेर सेता हिमाल हेर्दै आफ्नै भूमिमा morning walk गर्दै भक्तपुरमा फलाइएका रायाे, चमसुर, पालुंगाे वा काउलीका ताजा ताजा तरकारी खाँदै पशुपतिनाथ अनि स्वयम्भूकाे दर्शन गर्दै जीवन व्यतीत नगरी चार वर्ष ब्यर्थै त खेर फालिनछु भन्ने थकथक लागिरहेकाे छ मलाइ अहिले ।

लेखक – न्युयोर्क कन्सुलेटका पुर्व बाणिज्यदुत हुन ।

सम्बन्धित समाचार