नेवा को हुन्

March 4, 2020

अजय छोचूं
विश्वको उच्च टाकुराको देश नेपाल प्राकृतिक रूपमा मात्र होइन सांस्कृतिक सम्पन्नता तथा विविधताले गर्दा विश्व मानचित्रमा पृथक् पहिचान छ । नेपालबारे शताब्दीयौंदेखि यात्री लेखक, इतिहासकार तथा अनुसन्धानकर्ताहरूका शोधहरू भएको प्रशस्त लेखन छन् ।

नेपालमा रहेका विभिन्न समुदाय तथा जात जातिमा नेवाः समुदायले अलग्गै स्थान ओगटेको छ । आजको नेपाल र यसको पुरातात्विक सम्पदा नेवाको देन हो । पेगौडा शैलीका घर, मन्दिरदेखि उत्कृष्ट काष्ठकलामा विश्वमा नेपाल चिनाउने नेवाः समुदाय हो ।

तर कुनै बेलाको उत्कृष्ट समुदाय तथा नेपाललाई विश्वमा चिनाउने यस समुदाय २१ औं शताब्दीमा आएर गुणात्मक तथा संख्यात्मक दुवै रूपमा न्यून स्थानमा छन् । यस समुदायलाई १९ औं शताब्दीको उत्तराद्र्धदेखि शासन चलाउने शासकहरूले विभिन्न रूपमा मतलब साध्यको लागि प्रयोग गर्दै आएको पाइन्छ । चाहे त्यो नेपालको एकीकरण होस्, चाहे त्यो विश्व सम्पदाको लागि होस् वा संयुक्त राष्ट्र संघमा नेपाललाई अखण्ड सार्वभौमसत्ता राष्ट्रको रूपमा स्थापित गर्नका लागि होस् नेवा समुदायको सहिष्णुतालाई नेपालले प्रयोग गर्दै आएको छ ।

हालैको दशकहरूमा नेपालका राजनैतिक पार्टीहरूले आफ्नो मतलब साध्यको लागि नेवा समुदायको पहिचानसँग समेत खेलबाड गरेको छ जसमा राजनीतिपरक केही मुठ्ठीभर नेवाहरूलाई समेत लिएर नेवा अस्मितालाई धमिल्याउन खोजेको छ । भनिन्छ, ‘सतीले सरापेको देश हो नेपाल’ । बस जुन नेवा समुदायको परिश्रमले नामांकित नेपाः बाट नेपाल अनि नेपाली बन्न पाएका हामी सबैले नेवाः समुदायलाई जातिविशेषमा सीमित गरी कहिले पेसागत श्रमिकवर्ग त कहिले जनजातिमा राख्ने प्रयास गर्‍यौं । विगत दशकमा विकीपिडियामा पनि त्यही परिभाषा थियो । यस दशकमा संशोधित परिभाषा पढ्न पाइन्छ ।

नेवा को हुन् भन्ने बारेमा अन्य समुदाय तथा जातिले भन्दा नेवाः समुदायले आफ्नो बारेमा बुझ्न आवश्यक छ । विकासको रफ्तारका साथै हरेक मानव आफ्नो पहिचानको पनि खोजी गर्दैछन् । विश्वको अग्रमुलुक अमेरिकामा मैं हुँ भन्ने पण्डित गुरूहरू आफ्नो डीएनए खोज्दैछन् काला नश्लहरू ड्रम बजाउँदै आफ्नो भाषा र संस्कृति खोज्दैछन् तर कतिपय हामी हाम्रो पहिचान धमिल्याउन सत्ता सम्हाल्नेका हो मा हो मिलाउँदैछौ ।
आज हामीलाई स्पोर्टस्देखि सेलेब्रिटिज अफेयर्स, राजनीति अनि नासाका क्रियाकलापको इन्च इन्च थाहा छ तर आफ्नो पहिचानको चार हरफ हामीसँग छैन वा भनौं अझ गÞलत पहिचान दिन्छौ ।

नेवा को हुन त ?
राजनीतिक उद्देश्य साध्ध्यको लागि नेवालाई जनजातिको रूपमा स्थापित गर्ने जत्तिकै प्रयास गरे पनि नेवा जनजाती होइन । नेवा एउटा नेपालको उत्कृष्ट समुदाय हो । यो कुनै ननस्कील्ड वा सेमीस्कील्ड जाति वा श्रमिक वर्ग होइन । हिजोको शताब्दीहरूमा मात्र होइन आजको २१ औं शताब्दीमा पनि नेपाललाई विश्वमा उभाउने वा चिनाउने काम नेवा समुदाय हो ।

जसरी खस कुनै जातिविशेष होइन, नेवा पनि कुनै जातिविशेष होइन सिंगो समुदाय हो । यस समुदायमा ४ वर्ण ६४ जात थर छन् । जहाँ ब्राम्हण, क्षत्री, बैष्य, शुद्र सबै छन् । गत दशकहरूमा नेपालको धार्मिक सहिष्णुता नेवा समुदायबाट प्राप्त गरेको हो । नेवा समुदाय हिन्दु र बौद्ध धर्मको संगम हो । आर्य र अनार्यको उत्कृष्ट नमुना हो । जहाँ हिन्दु र बौद्धमार्गीहरूबीचको सहिष्णुता नेपालका मन्दिर तथा दैनिक व्यवहारमा पाइन्छ ।

लिच्छवीकालदेखि विभिन्न वर्ण र जातमा बर्गीकृत नेवा समुदाय मंध्यकालीन मल्ल राजा जयस्थिति मल्लले यस समुदायलाई व्यवस्थित रूप दिइ विभिन्न बर्ण जातलाई विंभिन्न पेसामा विभाजन गरेको पाइन्छ । हिन्दू नेवारहरू मूलतः भारतीयमुलका आर्य हुन् । जसमा राजोपाध्याय, जुजु आदि ब्राम्हण वर्गमा पर्दछन् । त्यस्तैगरी श्रेष्ठ, मल्ल, प्रधान अमात्य आदि छ थरी क्षत्रीमा पर्दछन् ।

अर्कोतिर बौद्धमार्गीहरू मंगोलियनमुलका हुन् र बौद्धमार्गीमा बज्राचार्य शाक्य ब्राम्हण तथा अन्य क्षत्री उदाय आदि क्षत्रीय तथा बैश्य वर्गमा छन् जो मुलतः व्यापार व्यवसायमा छन् ।

संक्षेपमा नेवाः न त कुनै जातिविशेष हो न पूर्ण आर्यन न पूर्ण मंगोलियन हो । भारतबाट नेपाल मण्डल आएका आर्यमुलका हिन्दु तथा उत्तरतिरबाट नेपाल मण्डल आएका मंगोलियनमुलकाको सम्मिश्रित उत्कृष्ट समुदाय हो नेवाः । जुन समुदायको सहिष्णुताले आज नेपाः नेपाल बनेको छ र हामी नेपाली भनि विश्वमा चिनिएका छौं ।

(लेखक खोजको अतिरिक्त विकीपिडिया तथा अन्य नेवा सम्बन्धी लेख तथा शोधहरू)