न्युयोर्कमा तमु ल्होछार विभिन्न कार्यक्रमका साथ मनाइदै

December 11, 2019

गुरुङ, तमु सोसाइटी अफ अमेरिकाले गुरुङ तमुहरुको महान पर्व तमु ल्होछारको अवसर पारेर आगामी डिसेम्बर २८ तारिख न्युयोर्कमा विभिन्न सास्कृतिक कार्यक्रमको साथ ल्होछार मनाउने भएको छ । लंगआईल्याण्ड सिटीस्थित फाइव स्टार बेंकेट हलमा मनाउन लागेको ल्होछार कार्यक्रममा गुरुङ -तमु)हरूको मौलिक संस्कृति झल्किने सोरठी, कौडा, तथा गुरुङ आमा समूहको भेषभुषाको विशेष प्रस्तुतिसंगै स्थानिय कलाकारहरूको गीत, नृत्य तथा विविध साास्कृतिक प्रस्तुति गरिने सोसाइटीले जनाएको छ ।

गुरुङ भाषामा ‘ल्हो’को अर्थ वर्ग र ‘छार’को अर्थ नया हुने भएकोले ल्होछारलाई गुरुङहरुले महान पर्व नया बर्षको रुपमा मनाउने चलन रही आएको छ । वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले, यस बर्ष मृग वर्ग फो ल्होको विदाइ र मुसा बर्ग अर्थात च्यु ल्हो को स्वागत गर्दै ल्होछार मनाउन लागेको सोसाइटीले जनाएको छ । आफनो रीतिरिवाज, धर्म र संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागी सन् १९९९ मा स्थापित गुरुङ ( तमु) समाज सन् २००१ मा न्यूयोर्क सिटीमा विधिवत रुपमा दर्ता भई हरेक बर्ष पौष १५ को दिनलाई ल्होछार विशेष पर्वको रूपमा मनाउदै आईरहेको छ ।

सोसाइटीले सम्पूर्ण गुरुङहरु एकजुट हौं, संस्कार र संस्कृतिको जगेर्ना गरौं भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होछार पर्व मनाउन लागेको सोसाइटीका अध्यक्ष विजय गुरुङले बताए । गुरुङ जातिले विभिन्न १२ जीवजन्तुहरुको चक्रलाई आधार मानेर प्रत्येक बर्ष नया बर्षको रुपमा ल्होछार मनाउने गरेको अध्यक्ष गुरुङ बताए । ल्होछार पर्वले, गुरुङहरुको संस्कृतिलाई जगेर्ना गर्न, र प्रवर्दन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तराष्ट्रिर्यस्तरमा चिनाउन पनि बर्षेनी तमु ल्होछार मनाउदै आएको सोसाइटीले जनाएको छ । यो पर्वले गुरुङहरुबीच एकता, भाइचारा र आपसी सद्भाव कायम राख्न मद्दत पुग्ने आयोजकको दावी छ । नेपाल तथा विदेशमा बसोबास गर्ने गुरुङ जातिले हरेक बर्ष पुस १५ मा विविध सास्कृतिक कार्यक्रम साथ ल्होछार पर्व मनाउदै आएका छन् । यस पटकको ल्होछारमा पनि ६५ बर्ष भन्दा माथिका वृद्धाहरु तथा १२ बर्ष भन्दा कम उमेरका बालबालिकाको लागि निशुल्क प्रवेशको व्यवस्था गरेको सोसाइटीले जनाएको छ ।

सम्बन्धित समाचार