न्युयोर्कमा ६१ जना नेपाली विद्यार्थीको घरमा खाद्यान्न वितरण

May 17, 2020

न्युयाेर्क । कोरोना भाइरसविरुद्ध नेपाली समुदायको सहयोगमा जुटाउँदै आएकाे कोरोना सचेतना तथा सहयोग समूहले चौथो चरणमा ६१ जना विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गरेकाे छ।

समूहले निरन्तर रुपमा एफवान स्टासमा रहेको विद्यार्थीहरुलाई खाद्य सामाग्री वितरण गरेको जानकारी पाए लगतै शनिबार ब्रुकलिन बोरो प्रीसेडेन्ट एरिक एडामले वितरणस्थलमा उपस्थित भएर स्वयसेवकहरुलाई धन्यवाद दिएका थिए ।

‘यो महामारिको बेला नेपाली समुदायमा सहयोगी भुमिकामा खटिनु भएका समूहका सब साथीहरुलाई धन्यवाद दिन चाहान्छु’ ब्रुकलिन बोरो प्रीसेडेन्ट एरिकले भने, ‘यस्तो बेलामा समुदायमा यस किसिमको सहयोगी कार्य हुनु एकदम राम्रो हो ।’  समूहले यस पटक पनि विद्यार्थीहरुलाई करिब एक महिनालाई पुग्ने खानेकुरा वितरण गरेका छन ।

यस पटक समूहलाई प्रबासी नेपाली एकता मन्च अमेरिकाद्वारा ५१ जना बिद्यार्थीलाई र प्रवासी नेपाली एकता समाजबाट १० जनालाई गरि ६१ जना विद्यार्थीलाई खाद्य सामान किन्न आर्थिक सहयोग गरेका छन् ।

 

यस पटक पनि समूहका संयोजक आनन्द विष्टको निवास स्थानबाट खानेकुराहरु किनेर ल्याएर जम्मा गरि सबैतिर वितरण गरेका थिए ।

६१ जना विद्यार्थीहरुको कोठासम्म सामाग्री पुर्‍याउने स्वयमसेवकहरु राजकुमार बिष्ट, बिष्णु रानामगर, पासाङ शेर्पा, अच्युत सिग्देल, मिलन शाही, राक्पे छिरिङ्ग लामा, अनिल पाण्डे, नबराज खड्का, शिव बानिया, यम लामा, टेक गुरुङ, आनन्द बिष्ट, कृष्ण आचार्य, सोनाम गेल्बु शेर्पा, मुना राई, कृष्ण लमिछाने, टिकाराम पाण्डे,भरत संग्रौल, अंकुर लुइटेल र आङछिरिङ शेर्पा थिए । समूहको स्वयसेवकलाई हिमालयन याक रेष्टुरेन्टका निमा दिकी शेर्पाले दिउँसोको खाना निशुल्क उपलब्ध गरेका थिए ।

सम्बन्धित समाचार