परदेशीको व्यथा

March 4, 2020

शेखर ढुंगेल

यता
फर्कने रहर गर्दा गर्दै स्वदेश
यतै मारिने पो हो कि भन्ने
चिन्ता छ
कुनै न कुनै बहाना बोकेर
पलायन हुनेहरुको
आफ्ना आफ्नै व्यथा छ
अर्काको भूमि
दोस्रो दर्जाको नागरिक
गर्ब गर्ने ठाउँ कमै छ
निहीत स्वार्थको सपनामा
चिटचिटाहट पसिना निधारमा बोकेर
यन्त्रमय जीवनलाई
निरन्तरता दिन कठिन छ
सम्झना आउँछ ती दिनहरु
अभावमा पनि
नरित्तिने हाँसोको मुहान थियो
बन्धुबान्धबहरु सितको
सहयात्रामा दुःख टाढा भाग्दथ्यो
कथित सुविधा र सुखमा
भौतारिँदा
एकमुट्ठी हाँसो हाँस्न पनि
बहाना खोज्नु पर्ने भयो
उता
भन्छन् कमायो ठूलो भयो
के सम्झन्थ्यो हामीलाई
परदेशमै मर्ने भयो
के सम्झन्थ्यो जन्मेको माटोलाई
गुनासो गर्छन्
कमाउँछ उसकै लागि
हाम्रो दुःख के हेर्थ्यो र ?
सम्झी–सम्झी कोसेली लग्यो
छुट्ने को त आफ्नै कुरो
पाउने को पनि गुनासो
भन्छन् यस्तो पनि ल्याउने हो
फर्कंदा सधै चिन्ता हुन्छ
कसलाई कसरी चित्त बुझाउने हो
यताको यथार्थता र
उताको कल्पना
बीचको पर्दा कसरी हटाउने हो
सोध्न मन लाग्छ
हे देशको ठेक्का लिन्छु भन्नेहरु हो
देश सम्पन्न बनाएर
विदेश जाने बहाना
कहिले रित्याउने हो ?