इरानबाट पश्चिमी वायु नेपाल आउँदै, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना

December 10, 2019

काठमाडाैं– पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायु प्रणाली बुधबार साँझ नेपाल प्रवेश गरेसँगै देशैभरी चिसो बढ्ने भएको छ ।

उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको छ। यो प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ। यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हिमपातको सम्भावना रहेको छ।

साथै देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ। बुधबारबाट सुरू भई यो मौसमी प्रणाली शनिबारसम्म कायम रहने जनाइएको छ ।

मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ भने जुम्लामा माइनस ३.३ डिग्री सेल्सियसमा पुगेको छ।

उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात र पहाडी भेगमा वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन माहाशाखाले आग्रह गरेको छ ।

तीन दिनको माैसमी अनुमान यस्तो छ :

मंसिर २४ गते (मंगलबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

मंसिर २५ गते (बुधबार)

दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने तथा बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ।

राति: देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य बदलि रही थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ।

मंसिर २६ गते (बिहीबार)

दिउँसो: देश भर सामान्यदेखि पूर्ण बदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च हिमाली भूभाग हरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च हिमाली भू–भाग हरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार