भारतमा आइतबार ‘जनता कर्फ्यु’

March 20, 2020

नयाँदिल्ली (एजेन्सी)— भारतले आइतबार १४ घण्टा ‘जनता कर्फ्यु’ घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै आइतबार बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किएर जनता कर्फ्यु पालना गर्न आग्रह गरेका छन् । जनता कर्फ्युको अनुभव र सफलताले आगामी कोभिड–१९ को चुनौती सामना गर्न तयार पार्ने उनको भनाइ छ ।

भारतले संक्रमण फैलिन नदिन आइतबार (२२ मार्च) देखि एक सातासम्म सबै नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । भारतभर विभिन्न रुटमा चल्ने १ सय ६८ रेलको सेवा ३१ मार्चसम्म बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडान र रेल सेवा बन्द गरिएपछि भारतका विभिन्न सहरबाट घर फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।

विदेशबाट फर्केका भारतीय एवं विदेशी पर्यटकका कारण संक्रमण बढेपछि भारतले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको हो । भारतमा पहिलो संक्रमण चीनको वुहानबाट फर्केका केरलाका एक विद्यार्थीमा देखिएको थियो । त्यसपछि पुष्टि भएका अधिकतर संक्रमित पनि विदेशबाट फर्केकाहरू छन् ।

भारतको नयाँ निर्णयका कारण काठमाडौंबाट नयाँदिल्ली, नयाँदिल्ली, बनारस, बैंग्लोर र मुम्बईमा हुँदै आएका उडान बन्द हुनेछन् । यी गन्तव्यमा नेपाल वायुसेवा निगम, बुद्ध एयर, इन्डिगो, एयर इन्डिया र विस्ताराले उडान गर्दै आएका थिए । विस्ताराले मार्च २१ देखि ३१ सम्म उडान बन्द गर्ने घोषणा यसअघि नै गरिसकेको छ । अब नेपालीले भारत हुँदै तेस्रो मुलुक उड्न पनि पाउने छैनन् ।

सम्बन्धित समाचार