भारतसँगको सिमा विवाद समाधानको उपाय

May 20, 2020

  • राजा घले

नेपालले इतिहासका बिभिन्न कालखण्डदेखि नै भारतसँगको सिमा बिबाद भोग्दै आएको कुरा सर्बबिदितै छ I काली नदी, लिम्पियाधुरा र लिपुलेक जस्ता ७१ ठाउँमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भुभागहरू भारतद्वारा अतिक्रमण गरिएका छन् । पछिल्लो समय लिपुलेकको नक्सा भारतमा गाभिनु र भर्खरै लिपुलेकदेखि चीनसँग जोडिएको सडक शिलान्यास भए पछि यो सम्पूर्ण नेपालीको निम्ति चासो र तातो बहसको बिषय बनेको छ I

राजा घले

लिपुलेकमा १२ वर्षदेखि चीनसँग जोडिने सडक बनेर सिलान्यास हुँदासम्म  देशको सत्ता सम्हाल्ने प्रमुखहरू कानमा तेल हानेर बस्नु हामी सबै नेपालीको लागि दुर्भाग्यको बिषय हो । बिगतको सुगौली सन्धिमा नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीच सम्झौता हुँदा नेपालले आफ्नो भूमिको झण्डै दुई तिहाई भू-भाग गुमाएको थियो भने भारत अंग्रेजबाट स्वतन्त्र भएपछि पनि नेपाल भारतबीच बिभिन्न सन्धिहरू भएका छन् । तर सिमा विवादको अहिलेसम्म स्थायी समाधान निस्कन सकेको छैन । तसर्थ अब १८१६ मा भएको सुगौली सन्धि कि संशोधन गर्नुपर्छ कि खारेज गर्नु पर्छ । नक्सा मात्र बनाएर हाम्रो भूभाग पनि स्वत स्फुर्त फिर्ता हुन सक्दैन ।

यही सिमा बिबादको बिरोधमा बिभिन्न प्रदर्शनहरू भइरहेका छन् भने यसको समाधानका लागि बिभिन्न तर्कहरू पनि आईरहेका छन् । कसै कसैले सेना परिचालन गर्नुपर्ने मान्यताहरू ल्याएका छन् भने कतिले तत्काल दुई देशको प्रधानमन्त्री स्तरीय बार्ता गर्नुपर्ने जस्ता तर्कहरू गरिरहेका छन् ।

इतिहासलाई हेर्ने हो भने जहाँपनि ठूलोले सानोलाई  हेप्ने, बलियोले कमजोरलाई थिचोमिचो गर्ने प्राकृतिक नियम जस्तै हुन् । आफ्नो मातृभूमिको माया कस्लाई हुदैन र? त्यसैले छिमेकी राष्ट्रको यो गिद्धे प्रक्रितिले सम्पूर्ण नेपालीमा तनाब हुनु स्वाभाविक हो । समाधानको लागि ज्यानको बाजी ठोकेर युद्धमा अहिले नै होमिहालौ भन्ने आक्रोश पनि कसैमा आँउन सक्छ । त्यसैले प्राकृतिकरुपमा देशप्रेम र आफ्नो देशको सार्बभौमसत्ता रक्षाको लागि हरेकले आआफ्नो तर्क राख्नु स्वाभाबिकै हो । तर आवेशमा आएर कुनै आक्रोसित निर्णय लिँदैमा समस्याको दिर्घकालिन समाधान हुन सक्दैन । लडाई र झगडा गरेर या सेना परिचालन गरेर यसको समाधान हुन्छ भन्ने सोच हाम्रो देशको लागि हास्यपद बिषय मात्र बन्छ किनकि क्षेत्रफलमा २२ गुणाले नेपालभन्दा भारत ठुलो छ भने प्राय सम्पूर्ण आवश्कीय बस्तुहरू भारतबाट नै आयतित हुनाले नेपाल झण्डै ७० प्रतिशत भारतमै निर्भर छ । केही समयको नाकाबन्दीले नै नेपालमा उथलपुथल ल्याउँछ भने सेना परिचालन गर्छु भन्नु हात्तिको मुखमा जिरा जस्तै हुन्छ ।

प्रमुख समाधान भनेको कुटनितिक प्रयास नै हो । बैदेशिक मामलामा कुटनितिक सम्पर्कको लागि बिभिन्न चरणहरू हुन्छन् । दुईदेशको बिदेश सचिबको सम्पर्क प्रथम चरणको कुटनीतिक छलफल बन्छ । यदि त्यस चरणबाट भएन भने बिदेश मन्त्रीबाट यसको पहल हुनुपर्छ । दुई देशको बिदेशमन्त्रीहरू बसेर पनि यस सम्बन्धि छलफल गरेर समाधान निकाल्न सक्छन् यदि यस चरणबाट समाधान आएन भने राष्ट्र प्रमुखहरू नेपाल र भारतको सन्दर्भमा प्रधानमन्त्रिहरू बीचको छलफलबाट दिर्घकालिन समस्याको समाधान निकाल्नु पर्ने हुन्छ ।

यदि भारतले नेपाललाई यस समस्याको समाधानको लागि कुनै तरहबाट सहयोग गर्न चाहदैन भने अन्तरराष्ट्रिय अदालत “हेग” मा मुद्दा लगाउन सकिन्छ किनकि कुनैपनि राष्ट्रहरू बीचको समस्या र बिबादको समाधान उनीहरू स्वयंले गर्न सकेन भने यो अन्तरराष्ट्रिय अदालतले न्याय दिलाउछ । त्यसैले यदि कुटनीतिक पहलबाट समस्याको समाधान हुन सकेन भने यो अर्को प्रभाबशाली उपाय हो तर यसको लागि हाम्रा बिज्ञ व्यक्तिहरुबाट तथ्य र प्रमाणहरू जुटाउनु पर्छ भने परिणामको लागि निरन्तर प्रयाश जारी राख्नु आवस्यक हुन्छ ।

केहि विज्ञहरु भन्छन् अंग्रेज र नेपाल बीच भएको सुगौली सन्धिमा १९५० को धारा ८ ले सबै सन्धिहरु खारेज गरिएको छ भन्ने लिखित प्रमाण भेटिएको छ जस अनुसार नेपालको टिस्टा देखि काँकड़सम्मको जमिन फिर्ता लिन सकिन्छ । भारतको कुनै पनि छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध छैन र यस्ता सिमा विवाद बर्मा, पाकिस्तान, बंगलादेश, चीन, भुटान जस्ता अन्य छिमेकी राष्ट्रहरूले पनि झेल्नु परेको इतिहास साक्षी छ । सत्यको जहिले जीत हुन्छ त्यसैले सबै देशहरूले आआफ्नो अडानलाई निरन्तरता दिए एक दिन भारतले झुक्नै पर्छ । सन १९७१ मा पाकिस्तानबाट अलगिएर बनेको बंगालदेशले स्थापनाकालदेखि भारत र बंगलादेश वीचको सीमा विवाद निरन्तर जारी राखियो । ४६ बर्षपछि विवादको समाधान निस्केयो । निरन्तर प्रयासपछि यो सहमति संभव भएको हो । बंगलादेशबाट पनि हामीले यो पाठ सिक्ने हो की ।

त्यसैगरी दिर्घकालिन समाधानका लागि नेपाल र भारतबीच पासपोर्टको ब्यबस्था गर्नुपर्छ किनकि बिना पासपोर्ट खुल्ला आवतजावतका कारण पनि यो समस्या आएको हो र अन्ततगत्वा जोखिमपूर्ण पनि हुन्छ । कुनै दिन त्यस्तो परिस्थिति  आउन पनि सक्छ जहाँ बिहारका जनताहरु मात्र नेपाल ओइरिए भने पनि थेग्न मुश्किल हुन्छ । त्यस्तै यदि यसैलाई निरन्तरता दिने हो भने एकदिन नेपाल पनि सिक्किम जस्तै भारतको प्रान्त नबन्ला भन्न सकिन्न अनि स्वाभिमानी हामी नेपाली थियौ भन्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

नेपाल दुई ठुलाठुला देश भारत र चीन बीचमा रहेको सानो देश भएकोले जहिले पनि छिमेकी राष्ट्रबाट प्रताडित हुनुपरेको छ । यी दुई बिशाल देशहरूसँग लड्ने क्षमता यसले राख्न सक्दैन त्यसैले बिबेक पुर्र्याएर यिनीहरूसँगको सम्बन्ध सुमधुर बनाउने रणनीति नै यो देशको अस्तित्व र स्वाधिनताको लागि महत्वपूर्ण पाटो हो । नेपाल र भारतका मानिसहरू धार्मिक आस्थाका आधारमा पनि धेरै समान भएकोले दुई देशबीचको धार्मिक सहिस्णुता कायम गर्न सकिन्छ । भारतमा धेरै हिन्दुधर्मालम्वीहरू छन् र नेपालमा पनि हिन्दु धर्मप्रतिआ स्थावानहरू धेरै भएकोेले हामी बीचको सम्बन्ध धार्मिक कारणले पनि निजक्याउँछ । हिन्दुहरूको लागि पशुपतिनाथ प्रमुख तीर्थस्थल हो । यसलाई देखाएर पनि हामीबीच समानता र अपनत्वको भावाना कायम गर्न सक्छौं । त्यस्तै चीनमा बुद्ध धर्मालम्बीहरु धेरै छन् । हाम्रो देश गौतम बुद्धको जन्मस्थान हो भनेर दुई देशबीचको सम्बन्ध प्रगाड बनाउन सक्छौ । बुद्ध शान्तिको प्रतिक हो र बुद्धको देश नेपाल सधै शान्तिको पक्षमा छ भन्ने सन्देश हामी सबैले फैलाअौ अनि देश सम्हाल्ने बागडोर लिएकाहरुले यिनै कदम चाले यस्ता सिमाका समस्याहरू समाधान भएर नेपाल सधै शान्त अनि सुन्दर रहनेछ ।

एटलान्टाका लागि नेपालको मानार्थ पर्यटन दुत तथा सामाजिक अभियन्ता घलेसँग एभरेस्ट टाइमको तर्फबाट इन्दिरा चोङबाङले गरेको कुराकानिमा आधारित !