भिजिट नेपालबारे न्युयोर्कमा अन्तर्क्रिया

February 5, 2020

न्युयोर्क । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको व्यापार तथा पर्यटन प्रवद्र्धन समितिले नेपाल भ्रमण वर्ष २०२० सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ र नेपाल–अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष किरण सख्खाको उपस्थितिमा न्युयोर्कमा अन्तर्क्रिया तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

नेपालको पर्यटनसँग आबद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा एनआरएनए व्यापार तथा पर्यटन प्रवर्द्धन समिति संयोजक आङ जाङ्बु शेर्पाले नेपालबाट आइपुगेका सदस्य सचिव श्रेष्ठ र चेम्बरका अध्यक्ष सख्खालाई खादा लगाई स्वागत गरेका थिए । संयोजक शेर्पाले नेपालको पर्यटन प्रवर्द्धनका लागि एनआरएनले फेसबुक लगायत विभिन्न माध्यामबाट नेपालको प्रचारप्रसार कार्य तीव्र पार्दै आएको बताउँदै भावी योजनाबारे जानकारी दिएका थिए ।
नेपाल डे परेड बोर्डका अध्यक्ष तथा शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पाले अमेरिकाको राजधानी न्युयोर्कमा बर्सेनि नेपाल चिनाउने भव्य कार्यक्रम नेपाल डे परेड कार्यक्रम यस पटक भिजिट नेपालको प्रचार गर्ने उद्देश्यले गर्न लागिएकोले भव्य रुपमा सफल बनाउन सरकारसँग सहयोगको आग्रह गरेका थिए ।

कार्यक्रममा एनआरएन न्युयोर्कका अध्यक्ष रामहरि अधिकारी, यूएस नेपाल आरोही संघका अध्यक्ष पासाङ निमा शेर्पा, बागलुङ समाजका अध्यक्ष चन्द्र जिसी, शेर्पा संघ अमेरिकाका उपाध्यक्ष मिङ्मा शेर्पा, लङ आइल्यान्ड नेपाली समाजका उपाध्यक्ष राजन गौली, शेर्पा किदुगका प्रवक्ता फरादेन्डी शेर्पा, निवर्तमान एनआरएन बोर्ड अफ डाईरेक्टर आङ निमा ग्याल्जेन शेर्पा, ठकुरी समाजका अध्यक्ष मिलन शाही, श्यामा किदुगका अध्यक्ष एपी लामा, सामाजिक अभियन्ता फूरी शेर्पा, अमेरिकी सेनाका पूर्वक्याप्टेन सुनिल महत, दावा शेर्पा लगायतले नेपाल भ्रमण वर्षबारेमा मन्तव्य दिएका थिए ।

कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष किरण सख्खाले विश्वमा भिन्नै विशेषता बोकेको नेपाल चिनाउनका लागि थलानी भएको यो भिजिट नेपाल अभियानले नेपालको पर्यटनसँगै विभिन्न क्षेत्रमा फाइदा पुग्ने बताएका थिए । त्यस्तै नेपाल पर्यटन वर्ष २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठले मुलुकको उन्नति र प्रगतिका लागि सुरु भएको भिजिट नेपाल सफल बनाउन देश–विदेशमा रहेका सबै नेपालीले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरेका थिए । सदस्य सचिव श्रेष्ठले यो अभियानलाई सफल बनाउन विदेशमा रहेका नेपालीहरुको संस्था एनआरएनसँग सरकारले मिलेर गर्ने सहमति भएकोले पनि थप मद्दत पुगेको बताए ।

भिजिट नेपाल सफल बनाउन सरकारले विदेशमा रहेका राजदूतावास वा कन्सुलेटहरुलाई सीमित बजेट छुट्टयाएकोले विदेशमा बस्ने नेपालीहरुले एनआरएन र सरकारी निकायसँग मिलेर नेपाल चिनाउने कार्यमा सहयोग गर्न उनले आग्रह गरेका थिए । उनका अनुसार भिजिट नेपालका लागि सरकारले विभिन्न प्याकेज र कार्यक्रम अघि सारेकोले पनि पर्यटकहरु आकर्षित हुनेछन् ।

सम्बन्धित समाचार