माइक्रोसफ्टले बन्द गर्‌यो विन्डोज ७, सिस्टम अपग्रेड गर्न आह्वान

January 15, 2020

एजेन्सी– विन्डोज-७ अपरेटिङ सिस्टम मंगलबारदेखि बन्द भएको छ। माइक्रोसफ्टले आफ्ना प्रयोगकर्तालाई छिटो विन्डोज-१० अपग्रेड गर्न भनेको छ।

नयाँ प्रविधिमा ‘फोकस’ हुने भन्दै कम्पनीले विन्डोज-७ बन्द गरेको हो। करिब दुई वर्षअघि नै कम्पनीले यसबारे जानकारी दिएको थियो। विन्डोज-७ बन्द भएसँगै प्रयोगकर्ताले कुनै पनि महत्वपूर्ण सेक्युरिटी अपडेट र उपकरण सुरक्षित राख्ने अन्य सुविधाहरू पाउने छैनन्। अहिले पनि विन्डोज प्रयोगकर्ताका एक चौथाइले विन्डोज-७ नै प्रयोग गरिरहेको स्टाटकाउन्टरको तथ्यांक छ।

माइक्रोसफ्ट लामो समयदेखि विन्डोज-७ मा ह्याकरहरूको आक्रमणबाट पीडित थियो। अब विन्डोज-७ मा कुनै समस्या आए माइक्रोसफ्टले समाधान गर्ने छैन।

‘अपडेट र सुरक्षा सुविधा नभएपछि विन्डोज-७ मा चल्ने उपकरणहरूमा भाइरसको समस्या झन् धेरै हुन्छ’ माइक्रोसफ्टको वेबसाइटमा लेखिएको छ।

क्यास्पर्स्की ल्याबका वरिष्ठ सुरक्षा अध्येता डेभिड इमले पनि जतिसक्दो चाँडो प्रयोगकर्ताले नयाँ विन्डोज राख्नुपर्ने सुझाएका छन्। नभए कम्प्युटरहरूमा भाइरस र अन्य समस्याले आक्रमण गर्नेछ र पूरै बिग्रिन पनि सक्छ।

त्यस्तै ह्याक भएमा कम्प्युटरमा भएका सबै डेटा र विवरण पनि चोरिन सक्छ। विन्डोज-७ बन्द भए पनि कम्प्युटर चल्ने नै छ । तर यसमा जोखिम बढी हुनेछ।

यससँगै बेलायती अधिकारीले इन्टरनेट बैंकिङ कारोबार वा इमेल गर्न विन्डोज-७ नचलाउन चेतावनी पनि दिएका छन्।

सम्बन्धित समाचार