‘उच्च मनोबल र सबैको कामनाले दोस्राे जुनी पाए’

April 18, 2020

  • पाल्देन शेर्पा

न्युयोर्कमा साथीहरुसँग हामी प्रायजसो गल्फ खेल्न गइरहन्थ्यौ । सधै जस्तै गत मार्च १५ तारिख हामी गल्फ खेल्न गएका थियौं । सधै त हामी दुई राउण्ड खेल्थ्यो तर त्यो दिन म अलि थकित महसुस भएकोले एक राउण्डमै चित्त बुझाएर घर फर्कियौ । घरमा आएपछि नुहाइधुवाई गरि बेलैमा सुते । भोलिपल्ट एक्कासी कब्जियतले निकै पेट दुख्नु थाल्यो । मेरो जीवनमा कहिल्यै पनि त्यस्तो नराम्रो पेट दुखेको थिएन ।

तत्कालै प्राइमेरी डक्टरलाई सम्पर्क गरे । त्यतिखेर डक्टारको असिष्टेन्टसग सम्पर्क भए अनुसार ४ बजे डक्टरले कुरा गर्छ भनेको थियो । तर धेरै पेट दुख्न थालेर सहन नसकेपछि ज्याक्नहाइटको सिटि एमडिमा चेकअप गर्न गए । धेरै दुखेर घोप्टो परेर बसेको केही समयपछि पेनकिलरको इन्जेक्सन दियो । त्यसले अलिक सन्चो भएजस्तो भयो । त्यही दिन वेलुकीतिर प्राइमेरि डक्टरले फोन गरेर मलाई कब्जियत (कन्सटिपेसन) मात्र हुन सक्छ भनेर सम्झाए । डक्टरले तिमीलाई निमोनिया हुने संभवना भएकोले एन्टीबाइटिक खानु भनेर औषधी प्रिसकेप गर्नुको साथै धेरै कठिन भयो भने अस्पताल जानु भन्ने सल्लाह दिएको थियो ।

भोलिपल्ट निकै दुखेर एष्टोरियाको माउन्टसेनाई अस्पतालको इर्मजेन्सीमा गए । त्यहा ६ घण्टा बसेर पेट सम्बन्धीत अल्ट्रसाउण्ड, छातीको एक्सरे, ब्लड टेष्ट सबै गरियो । ज्वरो पनि थिएन । प्रेसर पनि राम्रो थियो । सबै जाच गरेपछि डक्टरले तिमिलाई कन्सटिपेसन मात्र भएको रहेछ । सवै ठिक रहेछ घरमै गएर आराम गर्नु भनेर पठाए । त्यही अनुसार घरमा गए । घरमा ठिक होला भन्ठानेको भोलिपल्ट पनि निकै दुख्न थाल्यो । त्यसपछि श्रीमतिको विशेष आग्रहमा 911 मा फोन गरेर एम्बुलेन्स बोलायो । तुरुन्तै एम्बुलेन्स घरमा आएको वितिकै वेडमै डक्टर आएर मलाई जाच गरियो । त्यतिखेर मलाई खोकी ,ज्वरो थिएन र प्रेसर पनि राम्रो थियो ।

उनीहरुले यतिखेर अस्पतालमा धेरै सिकिस्त विरामीहरु भएकोले अस्पताल नजानु घरमै आराम गर्नु भनेर सल्लाह दिएका थिए । मैले भने अस्पताल जानै पर्छ मलाइ निकै गारो भइरहेको छ । उनीहरुले कम्पुटरमा चेक गरियो । त्यसो भए एलमष्ट अस्पतालमा जाने हो भने लान्छु भन्यो । मैले एलमष्ट त नजाने भनेर गएन । भोलिपल्ट उस्तै  दुखाई ,झन स्वास बढन थालेर हिडन गारो हुन थालेपछि श्रीमतिले जर्बजस्ती भान्जासंग लङआइल्याण्ड जुइस मेडिकल सेन्टरमा लगियो । त्यतिखेर नजिकको सबै आफन्त र साथीहरुलाई विरामी भएर अस्पताल जादैछु भनेर खबर गरे । नेपालमा पनि दिदीहरुलाई खबर गरेर पुजा गर्न लगाए । अस्पताल पुग्न साथ मेरो अक्सिजन निकै कम भएकोले सास फेर्न धेरै गारो भइसकेको थियो ।

मलाई अक्सिजन लगाएर रुममा लगियो । तत्कालै डक्टरले कोभिड जाचको लागी रगत निकाले । बेडमा पुगेपछि केही औषधी दियो । ज्वरो, सुगर, प्रेसर पनि जाच गर्दा सुगर बाहेक सबै ठिक थियो । नाकमा मास्क , र अक्सिजनको पाइप लगाइदियो । तीनदिनपछि डक्टरले मलाई कोभिड पोजेटिभ भएको जानकारी दियो । कोभिड लाग्यो भने पनि मनमा डर लागेको थिएन । त्यसपछि मलाई डक्टरले फ्लु लाग्दाको पहिलो चरणको औषधि दियो । त्यो औषधिले काम लागेन भनेपछि म निकै दुखित भए । उनीहरुले दोस्राे जाँचका लागि औषधि दिन्छौ तयार छ भनेर अनुमति मागियो ।

मैले भने उपचारका लागि मे जे पनि तयार छु । म बाच्न चाहन्छु । मलाई बचाउनु पर्‍र्यो भने । उनीहरुले त्यो इन्जेक्सन हातमा लगाउने कि पेटमा लाउने भनेर सोधियो । मैले दाहिने हातमा भने अनुसार लगाइदियो । त्यो दोस्राे औषधिले मेरो अक्सिजन बढ्न थालेपछि मुखको मास्क निकालियो । त्यतिखेर नजिकका आफन्तहरुलाई सम्पर्क गरेर आफनो स्वास्थ्य स्थितिको बारेमा जानकारी दिए । सबै आफन्त र साथीभाईहरुले मेरो स्वास्थ्य लाभको लागी कामना गरिरहेको थाहा पाउदा निकै खुसी लाग्यो । मुखको मास्क खोलेपनि नाकको पाइप बाकी थियो । त्यतिखेर शरिर सुधार भएपनि पिसाबमा समस्या हुन थाल्यो । केहीदिनपछि पिसाब नालीबाट निकालिएपछि अलि सन्चो भयो । त्यसपछि कन्सटिपेसनको औषधिले मलाई सहज बनायो । त्यहा उपाचर गरेको १० दिनपछि मन र शरिर निकै आनन्द भयो । दिनदिनै स्वस्थ्यमा सुधार हुन थालेपछि १२ दिनमा नाकको पाइप झिकियो । त्यही दिनदेखिन आफै बाथरुम जाने र आउने सक्ने भए ।

अस्प्तालमा भर्ना भएको १३ दिनमा नर्सले सवै सुधार भयो ,अब घर जानु पर्छ भनेकी थिइन तर त्यतिखेर म निकै कमजोर भइसकेकोले हिडन सक्ने अवस्थामा थिएन । मैले केही दिन यही आराम गर्छु भनेर अनुरोध गरेको थिए । तर १४ दिनपछि डक्टरले अब घर जानुपर्छ यहा बस्नु पदैन भन्यो । मैले घर जादा परिवारको सुरक्षाको बारेमा पनि जानकारी लिए । त्यसपछि मलाई व्हिलचेयरमा राखेर घर पठायो । घरमा पुगेपछि पनि भर्‍याङ चढेर बेडरुममा जान निकै गाह्राे भयो । झण्डै २० मिनेट जति स्वस्वा भएर निस्सासिए। बेडमा पुगेको केही समयपछि लामो सास तान्ने र फाल्ने काम गरे । त्यसले अलि आनन्द मिल्यो । मनमा भोक पनि लागिरहेको थियो । श्रीमतिले खुवाएको तातो ग्रिन टि, तातो जाउलो र मासुको सुपले थप आनन्द भयो । त्यसपछि नियमित ग्रिनटिसँगै ताजा खानेकुरा, फलफुल र भिटामिनहरु खादै अहिले उठेर हिडडुल गर्न सक्ने र बोल्न सक्ने भएको छु । अझै पनि शरिर कमजोर भएकोले लामो समयसम्म उभिएर बस्न र हिडन अलिक गारो महसुस भइरहेको छ । तर अहिले धेरै सुधार भएको अनुभव गरिरहेका छु ।

मैले सोच्दै नसोचेको कोभिडसँग यसरी लड्न पुगियो । मेरो उच्च मनोवल र सबैको कामनाले मैले दोस्राे जुनी पाए जस्तो लागिरहेको छ । मेरो बलियो आत्माविश्वास त छदै थियो, त्यसमा पनि श्रीमतिले दिँदै आइरहेकाे थप आत्मविश्वासले मैले कोरोनालाई जिते । मैले कोरोनासँग लड्दै गर्दा मेरो स्वास्थ्य लाभको लागि भगवानसँग प्रार्थना गरिदिनु हुने नेपालमा रहेका मेरो दिदीहरु, न्युयोर्कमा रहेका दाई, दिदी, भान्जाभान्जीहरु र सवै साथीभाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

यस्तो रोग जो कसैलाई लागे पनि आफु कहिल्यै हरेस खानु हुँदैन रहेछ । सधै सकारत्माक सोच र बलियो आत्माविश्वानै ठुलो कुरो रहेछ । विरामी नहुदै स्वास्थ्यमा ख्याल गर्नु र घरमै बस्नु अहिलेको लागि एकदम राम्रो उपाय भएकोले सवै सुरक्षित होओस भन्ने कामना गर्दछु ।

एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पासँगको कुराकानीमा आधारित

सम्बन्धित समाचार