मोदी–पुटिन भेट, भारत–रुस सम्बन्धको समीक्षा

November 14, 2019

ब्राजिलिया– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा भेटवार्ता भएको छ ।

उनीहरुका बीचमा भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद गराउने बारेमा छलफल भएको बताइएको छ । ब्राजिलमा आयोजित ११औँ ‘ब्रिक्स’ सम्मेलनका लागि आएको बेला दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच दुई देशको व्यापारका बारेमा पनि कुराकानी भएको भारतको विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

विश्वकै प्रभावशाली मानिने नेताहरु मध्ये यी दुई नेताको भेटघाट दुई महिनापछि फेरि भएको हो । प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले तेल र प्राकृतिक ग्याँसको स्थायित्व र बृद्धिका बारेमा पनि छलफल गरेको बताइएको छ ।

दुई दिने औपचारिक भ्रमणका लागि मोदी बुधबार ब्राजिल आइ पुगेका हुन् । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको साझा मञ्च मानिने ‘ब्रिक्स’ सम्मेलनमा सहभागीता जनाउन ती देशका नेताहरु ब्राजिलमा भेला भएका छन् ।

ब्रिक्सको यो ११औँ सम्मेलनमा डिजिटल अर्थतन्त्र, विज्ञान र प्रविधिको क्षेत्रमा ५ देशको रणनीतिक भूमिकाका बारेमा बढी छलफल हुने जनाइएको छ । त्यसैगरी आतंकवादविरुद्ध संयुक्त रुपमा लड्ने संयन्त्र बनाउने विषय पनि यस सम्मेलनको प्राथमिकताको विषय भएको बताइएको छ ।

सम्बन्धित समाचार