रामग्राम स्तूप क्षेत्रको जियो फिजिक्स सर्भे सकियो

November 15, 2019

नवलपरासी– पश्चिम नवलपरासीस्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा बेलायतका जियो फिजिक्स विज्ञहरुको संलग्नतामा चौथो पटकको जियो फिजिक्स सर्भे (भू–भौतिक अध्ययन) सम्पन्न भएको छ ।

युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्शन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ टोलीले एक हप्तासम्म विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको स्तूप क्षेत्रमा बृहत् अध्ययन गरेको हो ।

कात्तिक २१ गतेदेखि सुरु भएको अध्ययन बुधबार सकिएको पुरातत्व विभागले जनाएको छ । टोलीले स्तूप क्षेत्रमा जमीनको सतहमूनि रहेका संरचनाको अध्ययन गरी फर्किएको छ । अध्ययनको विस्तृत प्रतिवेदन भने आगामी जनवरी महिनामा सार्वजनिक हुनेछ । यहाँको अध्ययन सकेर विज्ञ टोली तिलौराकोट पुगेको थियो ।

विज्ञ टोलीले खाली रहेको क्षेत्रमा जियो फिजिक्स प्रविधिबाट तथा झाडी र रूखहरु रहेको ठाउँमा अगरकोर प्रविधिमार्फत अध्ययन गरेको थियो भने जमीनमूनि रहेका संरचनाको मेसिनको सहायताले हिँडेर पत्ता लगाउने विधि अपनाएको थियो ।

अध्ययन टोलीले स्तूपको दक्षिणतर्फको झाडी र खाली जग्गामूनि पर्खाल देखिएको जनाएको छ । अन्य क्षेत्रमा देखिएका संरचनाहरुको विवरण विस्तृत प्रतिवेदन पाइएपछि मात्रै थाहा हुने जनाइएको छ ।

गत वर्ष सन् २०१८ मा गरिएको जियो फिजिक्स सर्भेका क्रममा पनि स्तूपको उत्तरतर्फको खाली जमीनमा ठूलो क्षेत्रफलमा फैलिएको विहार र पोखरी रहेको देखाएको थियो ।

विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको रामग्रामलाई सूचीमा समावेशका लागि यथेष्ट प्रमाण संकलन गर्न र रामग्रामको विकासका लागि बनाइएको गुरुयोजनालाई पूर्णता दिनसमेत यसपटक स्तूपको समग्र क्षेत्र समेट्ने गरी बृहत् अध्ययन गरिएको हो ।

इतिहासविद् डा डब्लु होईद्वारा पत्ता लगाइएको रामग्राम स्तूप क्षेत्रमा यसअघि सन् १९९७, १९९९ र २०१८ मा गरी तीन पटक जियो फिजिक्स सर्भे भएको थियो । सन् १९९७ र १९९९ मा गरिएको जियो फिजिक्स सर्भेबाट स्तूप क्षेत्रवरपर विहार देखिएपछि पुरातत्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा १९९९ देखि २००४ सम्म विभिन्न चरणमा रामग्रामको उत्खनन गरिएको थियो ।

लुम्बिनी विकास कोषले स्तूपको विकासका लागि ७ अर्ब बढीको लागत अनुमानसहित गुरुयोजनाको खाका तयार समेत पारेको छ ।
गुरुयोजनालाई स्थानीयको जीवनस्तरसँग जोड्ने प्रयास गरिएको छ ।

सम्राट अशोकले इसापूर्व २४९ मा लुम्बिनीलगायतका बुद्धस्थलहरुको भ्रमण गरी आठ राज्यले बुद्धको अस्तुधातु राखी बनाइएका स्तूपहरु उत्खनन गरी त्यसलाई विभक्त गरी ८४ हजार स–साना स्तूप बनाउने क्रममा रामग्राममा आउँदा यहाँका नागाराजाहरुले रोकेर अस्तुधातु उत्खनन गर्न नदिएकाले बुद्धका आठ अस्तुधातु प्रयोग गरी बनाइएका स्तूपमध्ये रामग्राममा अवस्थित स्तूपमात्र पवित्र र उत्खनन नभएको स्तूपका रूपमा मानिन्छ ।

सम्बन्धित समाचार