रामजानकी विवाहमा अयोध्याबाट आए जन्ती, जनकपुर झकिझकाउ

November 28, 2019

जनकपुर– विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ । मंगलबारदेखि नै साताव्यापी महोत्सव सुरु भएको हो ।

त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामको विवाह भएको दिनको स्मृतिमा मंसिर शुक्ल पञ्चमीमा हरेक वर्ष जनकपुरमा रामजानकी विवाह उत्सव मनाइँदै आएको छ ।

साताव्यापी महोत्सवमा पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभंग, चौथो दिन मटकोर, पाँचौं दिन तिलकोत्सव, छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा मनाइन्छ ।

बुधबार साँझ अयोध्याबाट आएको जन्ती मटिहानीमै बास बसेका छन् । बिहीबार बिहान उनीहरु महोत्तरी सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथको दर्शन गर्दै साँझ धनुषाको जनकपुरधाम पुग्ने छन् । पिपरा गाउँपालिका चाँदनीचोकमा दिउँसो खाना पछि विश्राम गराएर जन्तीलाई जनकपुरतर्फ पठाउने चलन रहे पनि उपनिर्वाचनका कारण जन्ती सोझै जनकपुर जाने भएका हुन् ।

शुक्रबार भारतबाट आउने जन्तीको स्वागत राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तयारी भइरहेको छ। राष्ट्रप्रमुखले पहिलोपटक अध्योध्याका जन्तीलाई स्वागत गर्न लागिएको हो । राष्ट्रपति भण्डारी जानकी मन्दिरमा विशेष पूजा गरी रंगभूमि मैदानमा आयोजना हुने तिलक कार्यक्रममा सहभागि हुनेछिन्।

महोत्तरी नाकाबाट प्रवेश गरेका जन्तीलाई विवाहपछि रामकलेवा विधि सकेर वीरगञ्ज नाकाबाट अयोध्याका लागि बिदाइ गरिन्छ ।

सम्बन्धित समाचार