ल्होछारलाई एकैदिन एसियास्तरमै मनाउने गरी विकास गर्न सकिन्छ : अजीतमान तामाङ, भाषा तथा संस्कृतिविद्

January 21, 2020

विश्वमा अहिले ल्होछारको उत्सव चलिरहेको छ । नेपाल, चीन, हङकङ, मंगोलिया लगायत देशमा मनाइने ल्होछारको उत्पत्ति, उद्गमस्थल एउटै भए पनि क्षेत्र र समुदायअनुसार फरक तिथि, मितिमा ल्होछार वा नयाँ वर्ष मनाइन्छ । नेपालमा भने हरेक पुस १५ मा गुरुङ समुदायले तमु ल्होछार मनाउन्छन् । अब यही माघ ११ गते तामाङ समुदायको ल्होछार परेको छ । ल्होछार निश्चित दिन तोकिए पनि देश, विदेशमा रहेका सम्बन्धित समुदायले आफ्नो अनुकूलतामा विभिन्न कार्यक्रम गरी मनाउँछन् । तामाङ समुदायले मनाउने सोनाम ल्होछारको ठीक एक महिनापछि फागुन १२ गते शेर्पा लगायतले ग्याल्पो ल्होछार मनाउने छन् । यीनै ल्होछार पर्वको सांस्कृतिक, ऐतिहासिक महत्व र एकीकृत रुपमा मनाउन सम्भव छ ? भन्ने विषयमा लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव एवं भाषा तथा संस्कृतिका जानकार अजीतमान तामाङसँग गरिएको कुराकानी ।

अहिले ल्होछारको मौसम, ल्होछारबारे प्रस्ट्याइदिनुस् न ?

‘ल्हो’ भनेको वर्ष हो, समय, काल हो । समय परिवर्तनसँग ल्हो जोडिएको छ । ‘सार’ भनेको नयाँ हो । हरेक कुरा नयाँ आउने । ल्हो र सार जोडेर ल्होछार शब्द भएको हो । तामाङ भाषामा ‘सार्बा’ र छार शब्द अलग–अलग भएकोले सार्बा भन्नाले नयाँ, छार भन्यौं । सार्बा भन्नु नयाँ उत्पत्ति हुनु । विज्ञानको नियमअनुसार परिवर्तन हुने भएकोले ‘सार’ आएको हो तिब्बेतियनमा । हाम्रोमा छार, सार दुवै प्रयोग हुने शब्द हुन् ।

हिमाली भेगका कयौं बोटबिरुवाका वर्षामा झरेका पातहरु अहिलेको शिशिर ऋतुमा पलाउने र फूल खेल्न खोज्छ । पहाडी भेगहरुमा एक वर्षमा एकपटक फुल्ने फूलहरु हुन्छन्, त्यसमा अरु प्रजातिका खुर्पानी पनि भन्छ । तिब्बेतियन भाषामा ‘फातिङ’ भन्छ । त्यो खुर्पानीको फूल पुसको अन्त्यमा र माघको पहिलो महिनामा फुल्छ । त्यो फूल फुल्ने समयलाई आधार मानेर वर्ष पद्धति आएकोले ल्होछार÷ल्होसार भनेको हो भनेर प्राचीन मध्य तिब्बत, पश्चिम तिब्बत नेपालको उत्तरी भेगमात्रै नभएर मंगोलिया, किर्जिकीस्तान, काजकीस्तान, एसियाका केही भागसम्म यो प्रथा पाइन्छ । हामीभन्दा केही माथितिर यो फूल एक महिनापछि फुल्छ । वातावरण र मौसमलाई हेर्ने हो भने । तर खगोलशास्त्र, ज्योतिषशास्त्रअनुसार हेर्ने हो भने तिब्बतीहरुले मानी आएको ग्याल्पो ल्होछारका कारण चन्द्र अधिकमास पर्छ । गणना गर्ने अथवा पात्रोमा जोड्ने परम्पराअनुसार उनीहरु एक महिनापछि गाछन् । अथवा जति पनि हामी ल्होछार मान्नेहरु एकै दिन, एकै समयमा पर्छ । तिब्बतमा चलेको पात्रोअनुसार मलमास, अधिकमा जोड्ने परम्परा अरु पात्रोभन्दा एक वर्ष ढिलो छ । चलिरहेको वर्षका तिब्बती पात्रोमा १३ महिना छ । हाम्रो पात्रोमा १३ महिना अघिल्लो वर्षमा भइसकेको हुनाले १३ महिना सकेर पहिलो महिना सुरु भएको । त्यसकारण गत वर्ष तिब्बती र तामाङको ल्होछार एकै दिन पर्‍यो । तिब्बतीयन पात्रोमा भएको मलमास जोड्ने फरक परम्पराको कारणले गर्दा सोनाम र ग्याल्पो ल्होछार फरक पर्न आएको हो । सौर्यमास र चन्द्रमासको पात्रोअनुसार गणना गरिने भिन्नताका कारण फरक–फरक ल्होछार आएको हो । नत्र सबै ल्होको उत्पत्ति, उद्गम र यसको प्रचलन एउटै हो ।

उसोभए, तमु, ग्याल्पो, सोनाम, तोला ल्होछार एकैदिन मनाउने अवस्था छ कि छैन ?

यसका लागि राज्यस्तरबाट नै कदम चाल्नुपर्छ । सबैलाई एक ठाउँमा मान्न नसक्ने भन्ने होइन । दलाई लामा मेन्चिखाङ यो सबै हेर्ने धर्मशालामा छ । उसको ज्योतिष (खगोलशास्त्र विभाग), नेपालको पञ्चाङ्ग समिति छ । नेपालमै पनि तामाङहरुसँग ल्होछार मान्ने मुगाली (मुगाम्बा)हरु, योल्माली (योल्मो) हरु, डोल्पालीहरु र तामाङहरुसँगै ल्होछार मान्ने तिब्बतका सिगात्से, ग्याङ्चे र पोराङ्चेका तिब्बतीसहित पाँचभन्दा ठूला ठूला समुदायले एकैदिन एकै समय ल्होछार मानी आएको छ । बाँकी ल्हासा केन्द्रितवालाहरुले ग्याल्बो ल्होछार मान्छ । त्योबाहेक ठूलो जमातले तामाङहरुले नेपालमा मानिआएकै दिनमा हरेक वर्ष मानिआएकै छन् । त्यसकारणले एकै ठाउँमा मान्न नसकिने भन्ने होइन, मान्न सकिन्छ । किनभने १२ वर्ष जीवचक्र एउटै छ । गुरुङले यसपालि बँदेललाई मृग भनिदिए । हाम्रो तामाङ समुदायमा पनि विवाद छ । कहिलेकाहीं बिरालोलाई पनि कोहीले खरायो भन्छन् । त्यसलाई पनि सबै बसेर एकरुपतामा ल्याउन सक्छौं । अहिले वर्ग पनि भन्न थालिएको छ । त्यो खासमा वर्ग होइन, वर्ष हो । वर्ग भनेको राशिबाट आउने कुरा हो । गुरुङ, तामाङले पर्वतीय भाषा सिकिसकेपछिको ल्हो वा वर्षलाई अहिले वर्ग भनेको हो । वर्ग सही हो भन्ने लाग्दैन मलाई ।

ल्होछार परम्पराअनुसार मान्नुपर्नेमा अहिले फेसनको रुपमा मानिन थालिएको देखिन्छ नि, सही हो ?

यो दुइटा कुरामा आधारित छ । एउटा पाटो, १२ मगरातको गोर्खाली उपनिवेशबाट केन्द्रीय धर्म, भाषा, संस्कृतिको आधारमा राज्य खडा भयो । यो वास्तवमा कोलोनाइजेसन हो । विश्वभरि नै रहेका त्यो चलन नेपालमा पनि चलेको थियो । त्यसैले पृथ्वीनारायण शाहको नेपाल एकीकरण होइन, कोलोनाइजेसन हो । त्यसको असरले हाम्रो सबै संस्कृति लोभ भयो । त्यो पुनर्जागरण गर्न नेपालमा बहुदलीय व्यवस्था आइसकेपछि २०४६÷४७ पछि लोप भइसकेको संस्कृति खोजको क्रममा हामीले ल्होछार सांस्कृतिक पर्व मनाउन थालिएका हौं । यो सहरबाट गाउँतिर गइराखेको छ । वास्तवमा यो गाउँमा जन्मेर सहरतिर आएको हो । सहरमा ल्होछार आन्दोलनको रुपमा मनाएर गाउँतिर पसिसकेको छ । गाउँमात्र होइन एउटा सहरबाट अर्को सहरमा । विदेशमा पनि भव्य । मौलिक भेषभूषा लगाएर मनाउन थालिएको छ ।

अर्को पाटो, हाम्रो हराइसकेको, बिलाइसकेको पर्वहरुको पुनरोत्खनन्, अध्ययनको कमी हो । यसको वैज्ञानिक अनुसन्धानका विधि, प्रक्रियाअनुसार विभिन्न कोणबाट अध्ययन नगर्नाले, नहुनाले, नभएकाले र राज्यले नगरेको कारण यस्तो हुन गएको हो ।

ठ्याक्कै ल्होछार मनाउने विधि, प्रक्रियाचाहिँ के हो ?

हरेक परिवर्तनको बेला एउटा सम्झनास्वरुप केही–केही मानवीय गतिविधि गरेको मात्रै हो । त्यसमा पनि मुख्य गरेर ल्होछारको बेलामा अथवा वर्षभरी अन्नबाली लगाउने, लुगा बुन्ने, काष्ठकलाजस्ता सबै कामहरु यो वर्ष सक्नै पर्छ है भनेर टुंग्याइन्छ । त्यो बाँकी रहे पनि नयाँ सुरु गरिन्छ । त्यसकारणले नयाँ वर्षको परम्परा सुरु भएको हुन्छ । नयाँ वर्ष आउनुभन्दा करिब २० दिनअघि नै गाउँघर सफा गर्ने गरिन्छ । र, पछि ल्होछारमा आफ्ना इष्टमित्र बोलाएर नयाँ वर्षको अघिल्लो दिन राति विभिन्न गेडागुडी पकाएर उत्सव मनाउने, यो वर्षको राम्रो, नराम्रो सबै जाओस् भनेर पन्छाउँछ । भोलिपल्ट तरुल, भ्याकुर, सेलरोटी लगायत खानेकुरा आफ्नै घरका सबैभन्दा जेठोबाठोबाट आशीर्वाद थापेर खाने, लिने परम्परा हो, ल्होछार । यसको परम्पराबारे गहन अध्ययन गर्न सकियौं भने हाम्रो संस्कार, संस्कृति, परम्परा विविधमा एकतामा ल्याउन पनि सक्छौं । एसियास्तरमै एकैदिन मान्ने पर्वको रुपमा ल्होछारलाई विकास गर्ने आधारहरु यसको परम्परामा छ ।

तामाङ समुदायमा माघमा ल्हो फेरिन्छ भन्ने मान्यता छ । ल्होछारको तिथिभन्दा अगाडि माघमै जन्मिएकालाई कुन वर्षमा गणना गर्ने त ?

तामाङ लगायत ७ वटा समुदायको लिखित परम्परा छ । तामाङसँग तिथि दरोसँग छैन । तर, मुगम्बा, चिनियाँ, तिब्बतीहरुसँग छ । डोल्पालीका गुम्बाहरुमा उनीहरुले लेखेर राखिसकेका छन् । एउटा अभिलेख, दस्तावेज छ । ती दस्तावेज हेर्दा चन्द्रमानअनुसार चन्द्रमाको महिनाअनुसार माघको शुक्ल पक्ष प्रतिपदालाई समाउनु पर्ने हुन्छ । तामाङ पहिलो महिना अर्थात् परेवाको ख्रेला छेपागी । औंसीपछिको भोलिपल्ट पहिलो दिन नयाँ वर्ष हो । बेलुकी औैंसीको दिन १२ वर्ष ल्हो फेर्छ । त्यो तिथिलाई समाउनुपर्ने हुन्छ । हिजोको दिनमा घडी थिएन, हामीसँग पात्रो थिएन । त्यो समयमा २७ वटा नक्षत्रहरुमध्ये पुषीय, माघ विभिन्न नक्षत्रका आधारमा १२ वटा महिनाहरुअनुसार गरिएको छ । त्यो महिना समाउँदो माघ पर्न गएको हो । त्यो तामाङमा मात्रै होइन थारु, मगरमा पनि देखियो । उनीहरुले पनि औंसी र पूर्णिमालाई समाउने न हो । सोलार क्यालेन्डर समाएर न हो । लुनार क्यालेन्डर समातेमा त हामीसँगै आइपुग्ने रहेछन् नि उनीहरु । त्यसकारण हामीमा यो मान्छे यस दिनमा जन्मेको भनेर तथ्यगत आधारमा भन्ने अवस्था छ । त्यो माघ महिना भन्नु परेन । जब १० गतेको मध्यरातमै ल्हो फेरिसक्छ । मध्यरात भनेको ११ बजेपछि भयो भने नयाँ फेर्‍यो । मुसा भयो । १० गते ११ बजेअघि भयो भने बँदेल वर्षै भयो । तामाङहरुले यसरी बुझ्नु पर्‍यो । योल्मो, थकाली, डोल्पालीले यसरी बुझ्ने हो । सिगात्से, तिब्बतीलगायतले यसरी बुझ्ने हो । हामीले मात्रै होइन, उनीहरुले बुझिराखेकै छन् । यो चलिआएकै परम्परा हो ।

यी चाडपर्व मनाउन जलवायु परिवर्तनले कत्तिको असर गर्छ ?

जलवायु परिवर्तनले केही असर त गर्छ नै । जस्तो खुर्पानीको फूल फुल्नलाई पालुवा आउनु पर्ने । ललितपुरको गोदावरीमा यही सोमबार, मंगलबार हेरेँ, खुर्पानीको टुसासम्म पलाएका छैनन् । माघको ११, १२ गतेसम्म पलाउँछ कि पलाउँदैन त्यसको अब्जरभेसन गर्दैछु । कतिपय फुलिसक्नु पर्ने । सायद यसपालि चिसो चाँडो आएकोले नफुलेको पनि हुनसक्छ । निश्चित रुपमा जलवायु परिवर्तनले प्रभाव पर्छ जस्तो लाग्छ । किनभने फूल ढिला फुल्दै गयो भने हाम्रो परम्पराअनुसार त मिलेन । आधार हो त्यो । जलवायु परिवर्तन र मौसम परिवर्तनले हाम्रा सांस्कृतिक पर्वहरुमा असर गर्छ । ल्होछार मान्नुपर्‍यो टुँडिखेलमा । ल्होछार मान्ने दिन्नमा पानी परिदियो भने कसरी मान्ने ? यो त हिउँदमा, खेतीबाली लाउन नपर्ने र पुरानो बाली पनि भित्र्याइसकेको अवस्थाको बीचको असाध्यै फुर्सदको समय हो । झ्यामझ्याम पानी पर्‍यो भने खेतबारीमा जानु पर्‍यो । निश्चित रुपमा सांस्कृतिक असर पर्छ । यसमा पनि परिवर्तन र बदलाव ल्याउनुपर्ने हुन्छ ।

पछिल्लो समय आदिवासी जनजातिहरु ल्होछारमा राष्ट्रिय बिदा देउ भनेर माग गर्दै आइरहेका छन्, तर माग पूरा भएको अवस्था छैन नि ?

जबसम्म नेपालमा पृथ्वीनारायण शाहले गरेको कुरो उपनिवेशिकरण हो भनेर यो राज्यले, सत्तामा भएका प्रधानमन्त्रीज्यूले बुझ्नु हुन्न र पृथ्वीनारायण शाह भनेका हाम्रै पूर्खा हुन् भनेर ढोग्नु हुन्छ, तबसम्म हामीले यो नियति भोग्नुपर्छ ।

भन्ने बेलामा पृथ्वीनारायण शाहको नाम लिएर चार जात, छत्तीस वर्ण भन्ने तर सबैलाई एउटै छातामुनि राख्ने ? फरक फरक फूललाई फरक रुपमै फुल्न नदिने, सयपत्री होइन तँ गुलाब होस् । गुलाब होइन चमेली होस् भनेर एउटै संस्कृति लाद्ने परम्परा गोरखा उपनिवेशबाट सुरु भएको अहिले पनि ज्यूँकात्यूँ छ ।

सम्बन्धित समाचार