विदेशीहरु हिमाल हेर्ने ठूलो इच्छाले नेपाल घुम्छन् : पासाङ शेर्पा, पर्यटन व्यवसायी 

February 20, 2020

  • नेपालमा राम्रो स्टार होटल बनाउने धोको छ
  • काठमाडौंजस्तो फोहोर हुने हो भने नेपालमा कहिल्यै टुरिस्ट आउँदैन

सोलुखुम्बुका पासाङ शेर्पा पर्यटन व्यवसायी हुन् । उनी झन्डै २५ वर्षदेखि यस क्षेत्रमा छन् । भरियाबाट यस क्षेत्रमा प्रवेश गरेका शेर्पाले टे«किङ कम्पनी खोलेको २० वर्ष पुगिसकेको छ । विश्वका थुप्रै पर्यटकीय देशहरु घुमिसकेका शेर्पा नेपाल सरकारले सडक सुविधा, प्रचारप्रचार लगायतमा ध्यान दिएमा पर्यटन क्षेत्रको राम्रो भविष्य रहेको बताउँछन् । व्यवसायीमात्रै नभइ अफ्रिकाको किलिमन्जरो हिमाल आरोहणपछि विश्वका सातै महादेशका अग्ला हिमालहरु चढ्ने योजनामा छन् उनी । कल्चरल टुरिजमका सफल व्यवसायीका रुपमा परिचित शेर्पासँग यस क्षेत्रका आरोहअवरोह, नेपालको पर्यटन लगायत विषयमा खिम घलेले गरेको कुराकानी ।

तपाई पर्यटन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

म एसएलसी पास गरेपछि सोलुखुम्बुबाट वि.सं. २०५२ सालमा काठमाडौं छिरेको हुँ । त्यससँगै ट्रेकिङ क्षेत्रमा पोटर (भरिया) बाट काम सुरु गरेँ । पोटर, गाईड हुँदै सन् २००१ बाट आफ्नो कम्पनी सुरु गरेको हो ।

सोलुखुम्बुतिरका त धेरै पर्यटन व्यवसायमा लागेका हुन्छन् । तपाईंचाहिँ लहैलहैमा, यही क्षेत्रमा करिअर बनाउँछु वा के सोचेर लाग्नुभएको ? 

गाउँबाट काठमाडौं पर्यटनमै लाग्छु भनेर आएको होइन । उच्च शिक्षा हासिल गर्ने भनेर आको हो । तर, म गाउँको गरिब परिवारकै मान्छे, थोरै पैसा लिएर आएको । यहाँ (काठमाडौंमा) केही न केही काम गर्नुपर्ने अवस्था थियो । त्यतिबेला पर्यटन क्षेत्रमा सजिलै पाउने काम पोटर नै थियो, चिनेका मान्छेहरु धेरै भएकोले । शेर्पा दाइहरुले पोटरमा जानु, पछि गाइड गर्नकै लागि सजिलो हुन्छ भन्नुभएपछि ग्रासरुट पोटरबाटै काम सुरु गरेँ । काठमाडौंमा आइकम पढ्दै टाइम मिलाएर पोटर गरेँ । दसैंलगायत बिदाको समयमा भरिया बन्न जाने गर्थेँ ।

पढाईचाहिँ कुन तहसम्म पुर्‍याउनुभयो ? 

मैले २००१ बीबीएस सिध्याएँ । अनि छोडेर व्यवसायमा लागेँ ।

एकातिर पढाई अर्कोतिर काम गर्दा कत्तिको अप्ठ्यारा हुन्थ्यो ?

एकदमै गाह्रो थियो । स्पेसल्ली मलाई काठमाडौं बस्न पैसा चाहिने थियो । सरभाइभ हुनका लागि पनि काम गर्नुपर्ने थियो । पहिलो ट्रेकिङचाहिँ म एभरेस्टतिर गएको थिएँ । सुरु सुरुमा काम गर्दा दुःख नै हो । अहिले पनि पोटरमा काम गर्दा स्थिति त्यस्तै छ ।

तपाईं पोटरबाट कति वर्षपछि गाइड बन्नु भयो ?

पोटर गरेको दुई वर्षमै म गाइड बनिहालेँ । ट्रेकिङ पनि लिनुभयो ? ट्रेकिङ लिइहालेँ । लगभग अन्नपूर्ण, एभरेस्टलगायत ६/७ ठाउँमा पोटर भएर गएँ । गाउँको मान्छे, अंग्रेजी राम्रो थिएन, पोटर गर्दैगर्दा सुधार गर्दै गएँ । इंलिस बोल्ने बानी पर्दै गयो, पर्यटकहरु पनि चिन्न थालेँ । पर्यटकहरुले प्रगति गर्न सक्ने क्षमता देखेर अलि अलि सहयोग पनि गरे । त्यसपछि तालीम लिएर गाइड गरिहालेँ । लगभग सन् १९९८ मा गाइड भइसकेको थिएँ । पर्यटन क्षेत्रमा लाग्नेहरु त पोटर अनि लामो समय गाइड भएर बसिरहन्छन् ।

तपाईंले त गाइड भएको दुई वर्षको अवधिमै कम्पनी खोल्नुभएछ त ?

म पढ्दै थिएँ । आइडियाहरु पनि धेरै आउने भइहाल्यो । ६/७ चोटी ट्रेकिङमा गइसकेपछि एक जना टुरिस्ट साथीले भने, ‘तिमीसँग राम्रो नलेज छ । तिमी गाइडमात्रै होइन, चाह्यो भने कम्पनी खोल्न सक्छौ ।’ माओवादी द्वन्द्वकालमा ट्रेकिङमा समस्या आएको थियो । ट्रेकिङभन्दा पनि जागिर खानु पर्छ भन्ने लागेको थियो । त्यतिबेला वेबसाइटसम्बन्धी काम पनि गर्थें । त्यसले पनि सपोर्ट भयो । अर्को, एउटा टुरिस्टले भिजिटिङ कार्ड बनाउँदा सजिलो हुन्छ भन्ने सुझावपछि त्यसो गरेँ ।

२००१ देखि २०१० सम्म त एकदमै अप्ठ्यारो सिजन थियो, त्यहीबेला तपाईंले पर्यटन व्यवसायी सुरु गर्नुभएको रहेछ, कसरी सरभाइभ हुनुभयो त ?

एकदमै गाह्रो अवस्थामा सुरु गरियो । हामी  तीनजना दाजुभाइ मिलेर २००१ मा कम्पनी दर्ता गर्‍यौं । कम्पनी दर्ता गर्दाखेरी म ‘जब’ पनि गरिरहेको थिएँ, आइटी कम्पनीमा । वेबसाइट कसरी बनाउने, मर्केटिङ कसरी गर्ने, कसरी वितरण गर्ने भन्ने काम हुन्थ्यो । मोबाइल भर्खरी आएको थियो, आजभन्दा २० वर्षअगाडि । मोबाइल पनि एकदमै महँगो । पेजर भन्ने चलाउनुपथ्र्यो । म साइकल चलाएर मार्केटिङ गर्थेँ । त्यस समयमा कम्पनी खोले पनि वेबसाइडसम्बन्धी नलेज भएकोले अलि सहयोग पुर्‍यायो । त्यो समयमा बिजनेस एकदकै गाह्रो भयो । कम्पनी नाममात्रै भयो, बिजनेस आएन भन्दा पनि हुन्छ । एक/दुई जना चिनेका सर्कलबाट टुरिस्टहरु आउने भए । त्यसले सरभाइब गराउन ठीकठीकै भयो । कम्पनी डामाडोल हुने देखेपछि सन् २००३ मा विदेश पनि गएँ ।

कम्पनी खोलेर पनि नेपालमा स्थिति गाह्रो भएपछि म अफगानिस्तान गएको थिएँ । भाइ पनि विदेश थिए । म लगभग दुई वर्ष विदेशमै बसेँ । आर्मी क्याम्पमा काम गरेँ । अमेरिकन, क्यानेडियन लगायत थुप्रै देशका आर्मीहरु थिए । त्यो क्याम्पमा काम गर्नाले पनि मलाई राम्रो किसिमको नलेज पाएँ । अफगानिस्तान जानुअघि अमेरिका जाने भनेर धेरैचोटि भिसा एप्लाई गरेँ । विद्यार्थी भिसाको लागि पनि प्रयास गरेँ तर भिसा पाइनँ । अहिले यसो बुझ्दा भिसा नलागेको पनि ठीकै भयो । अमेरिकको भिसा लागेको भए त्यतै हुन्थेँ होला अथवा कतै केही गरेको हुन्थ्यो होला । योभन्दा बेटर लाइफ हुन्थ्यो होला । त्यता नमिलेपछि अफगानिस्तान गएँ । त्यहाँ तीन, तीन महिनामा आउनेजाने हुन्थ्यो । दुई वर्षपछि फर्किएँ । २००५ देखि बिजनेस पनि राम्रो हुँदै गयो । २००१ मा कम्पनी खोलेको दुई वर्ष त्यत्तिकै गयो भने दुई वर्ष विदेश गएर समय बिताएँ । २००५ मा पर्यटकहरु आउन थाले । केही आफूले भरियाको रुपमा काम गर्दाका चिनेका साथीहरु पनि आउन थाले । अफगानिस्तानको आर्मी क्याम्पमा कति काम गर्नु । ज्यानको रिक्स पनि हुन्थ्यो, किनकि त्यो त यट्याक्ट हुने ठाउँ हो । त्यसो भएपछि सबै काम छोडेर नेपाल आएँ ।

तपाईंको कम्पनीको राम्रै पिकअप कहिलेबाट भयो ? 

पिकअप २००६ बाट सुरु भयो । द्वन्द्वकाल हुँदाहुँदै पनि पर्यटकहरु आउन थाले । त्यतिबेला होटेलहरु एकदमै सस्तो थियो । इभन फाइभ स्टार होटेलहरुले पनि रेट घटाएर १५/२० डलर राखेको थियो । त्यस समयमा मलाई मौका पनि मिल्यो, भाग्यले पनि साथ दियो । टुरिस्टहरु बढ्दै बढ्दै गयो । र, सबैभन्दा राम्रो पिकअप लिएको भने सन् २००८ देखि २०१४ हो ।

यो समयमा सबभन्दा बढी टुरिस्ट लगेको कुन ठाउँ हो । 

एभरेस्ट नै हो । एभरेस्ट बेसक्याप, अन्नपूर्ण सर्किट, अन्नपूर्ण बेसक्याम्प, लाङटाङ, मुस्ताङलगायत नेपालका चलेका रुटहरु ।

तपाईंको यत्ति लामो अनुभव भइसक्यो, विदेशी पर्यटकहरुले चासो विशेषगरी केमा राख्दोरहेछ ?

विदेशीहरु नेपाल आउनुको सबैभन्दा ठूलो इच्छा भनेको हिमाल हेर्नु नै हो । युरोप, अमेरिकामा पनि हिउँ पर्छ । डाँडाकाँडा देखिन्छ, त्यो साधारण भयो । नेपालमा त रियल हिमाल नै देखिने भयो । पहिलो रोजाई हिमाल भयो । र, अर्को सस्तो र कल्चरल भयो । अरु ठाउँको तुलनामा नेपाल सस्तो छ । यो गरिब देश हो । सस्तो खाना पाइन्छ । होलिडे मनाउन, हिमाल हेर्ने र सबै कुरा मिलेकोले आउने हो ।

टुरचाहिँ चलाउनुहुन्छ कि ?

चलाउँछु । जस्तो काठमाडौं, पोखरा, चितवन, बन्दीपुर लगायतमा कल्चरल टुरहरु पनि गरिन्छ ।

तपाईं पर्यटन व्यवसायमा जमिराख्नुभएको मान्छे । फेरि नेपालीलाई चाहिँ रिलिजियस टुरिजमतिर कन्भट गर्ने सोच कसरी उत्पन्न भयो ? यो भन्दा अगाडि पनि त्यस्तो गर्नुभएको थियो ।

२०१५/०१६ तिर यो कुरा सोचेको थिएँ । ०१४ सम्म विदेशी पर्यटक नेपाल ल्याउने, घुमाउने । २०/२५ जना गाइडहरु थिए, उनीहरुलाई काम दिन्थेँ । विदेशीहरुले फलानो ठाउँ घुमेँ भन्थेँ । नेपालीहरुमा चाहिँ पैसा छैन र भनेर मैले २०११ मा ट्राभल सुरु गरेँ । अहिलेसम्म मैले २४ वटा राष्ट्र घुमेँ । आफ्नै खर्चमा । सन् २०१९ को अन्तिममा  अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जरो चढेँ । आरोही त होइन तर ड्रिम लभरचाहिँ हो । संसारका सातवटा महादेशका अग्ला हिमालहरु चढ्ने मेरो इच्छा हो ।

उसोभए, सगरमाथा पनि चढ्नुहुन्छ ?

सगरमाथा चढ्दै छु । ड्रिम ट्रिप २०२५ सम्म सिध्याउने योजना हो ।

अहिलेसम्म कतिवटा हिमाल चढ्नुभयो ?

अहिले किलिमन्जरो चढेँ । सबै हिमाल चढ्ने भन्ने होइन सबै महादेशका अग्लो अग्लो हिमाल चढ्ने सपना छ । सेभेन समिट चढेर गिनिज बुक वल्र्ड रेकर्ड राख्ने मान्छे संसारभरि थोरै छ । सबै मान्छेहरु एभरेस्ट नै चढ्छन् । अब म रसियाको इलब्रस चढ्दै छु । त्यो युरोपको सबैभन्दा अग्लो हिमाल हो । त्यसपछि अमेरिकाको आकोङग्ववा चढ्दै छु, ल्याटिन अमेरिकाको । त्यसपछि अस्ट्रेलिया र इन्डोनेसियाको बीचको हिमाल चढ्दै छु । सातैवटा महादेशमा सातवटै हिमाल छ, सगरमाथा संसारको सबैभन्दा टप हो । त्यो चाहिँ मैले अन्तिममा चढ्ने । सगरमाथा सन् २०२५ मा चढ्ने पैसा पुगेन, शारीरिक समस्याले सकेन भने ०२६ मा चढ्नेछु । त्यसका लागि अहिलेदेखि नै गृहकार्य भइरहेको छ । फिजिकल भनेको हिमाल अनुभव लिने । नेपालका साधारण हिमाल त चढिरहेकै छु । २०११ देखि जब म मैले विदेश भ्रमण सुरु गरेँ ।

एसियाको प्रायः सबै देशहरु पुगिसकेँ । अनि युरोप, अमेरिका, क्यानाडा जान बाँकी नै छ । अमेरिका धेरैचोटि गएँ । अस्ट्रेलिया, ब्राजिल, लन्डनलगायत २४ वटा राष्ट्र घुमिसकेपछि मलाई के लाग्यो भने, धेरै नेपालीहरु भ्रमण गर्छन् । तर उनीहरुलाई आइडिया छैन । त्यसमा पनि विशेषगरी बुढाबूढीहरु अलि कल्चरलतिर ध्यान दिने । म धेरैचोटि भुटान जाँदाखेरी बुझेको, नेपालीहरुलाई भिसा पाउन पनि गाह्रो । नेपाली, शेर्पाहरु विशेषगरी ब्रिटिसहरु त्यहाँ जान चाहने । तिब्बत पनि गाह्रो । २०१७ तिर बौद्धतिर गइरहेको । तर, दुःखसाथ गइरहेको । ल्याक अफ नलेज भएकोले टुरिस्टलाई संँगसँगै नेपाली कल्चरल टुर लानुपर्‍यो । अरुले मलेसिया, दुबई सस्तोमा टुरमा चलाउन थाले । सोचे, यो सस्तो मलाई काम लागेन । स्पेसल्ली आफ्नो समुदाय शेर्पाबाट सुरु गरौं भनेर कल्चरल टुरको अवधारणा ल्याएँ । यो २०१८ बाट सुरु गरेको हुँ ।

यो कुन कुन देशमा चलिरहेको छ अहिले ?

श्रीलंकाबाट सुरु गरेको हुँ । श्रीलंंका, भुटान, म्यानमार, इन्डिया अनि तिब्बत । पाँच वटा देश भयो अहिलेसम्म ।

मान्छेहरुले कत्तिको इन्ट्रेस्ट राख्छन् ? 

थुप्रै मान्छेहरुको इन्ट्रेस्ट छ यसमा । बुद्धिस्ट टुरिजममा शेर्पाहरु थुप्रो छ । रियल बुद्धिस्ट शेर्पाहरु पछिल्लो समयमा आउन थालेको छ । पैसा हुनेहरु इन्डिया जाने, तिब्बत जाने, श्रीलंका, म्यानमार जाने क्रममा छन् । स्पेसल्ली उनीहरु जाडोयाममा घुम्न जाने गर्छन् ।

खासमा बुद्ध जन्मेको नेपालमा, बुद्धिस्टहरु किन बाहिर घुम्न जान्छन् त ?

बुद्ध नेपालमा जन्मेको हो र भारतमा बढी ज्ञान प्राप्त गरे । इन्डियामा बढी समय बिताएका थिए । इन्डियामा चारनाथ छँदैछ । बोधगया, सागरनाथ, कोशीनगर लगायत चार ठाउँ विशेष ठाउँ भयो भने त्यसका साथै नेपालको लुम्बिनी विशेष ठाउँ । जहाँ जहाँ बुद्धले ज्ञान छर्दै गए त्यहाँ त्यहाँ पछिल्लो समय शेर्पाहरु कल्चरल टुरका रुपमा जान थाले । बुद्धले जहाँ जहाँ ज्ञान फैलाउँदै गए त्यहाँ त्यहाँ जाने भन्ने भइसक्यो । यसपालि इन्डिया गए, अर्को साल पनि त्यही गएर त भएन । त्यसैले उनीहरुमा नयाँ नयाँ डेस्टिनेसन खोज्नेक्रम छ अहिले । भर्खरैमात्र शेर्पाहरुले चाइनामा नयाँ ठाउँ पत्ता लगाए । त्यहाँ बुद्धिस्ट कल्चरल टुर जानुपर्‍यो भनेका छन् ।

तपाईंले पत्ता लगाउनु भएको कि अरुले ?

एक, दुईजना साथीहरु गएर आए । उनीहरुले केही फोटोहरु फेसबुकमा राखेपछि धेरैले हेरिराखेका छन् । मैले गरेको होइन । म जाने टुर कस्तो भने, सम्बन्धित ठाउँमा गएर अध्ययन गर्ने, त्यहाँ सम्भावना कत्तिको छ, खर्च कति लाग्छ । बौधमार्गीले तिर्न सक्छ कि सक्दैन ? उनीहरुको डिमाण्ड के छ ? शारीरिक अवस्थाले धान्न सक्ने कि नसक्ने ? लगायत हेर्नुपर्छ । म हचुवाको भरमा काम गर्दिनँ । ल पैसा आइहाल्छ भनेर पठाउँदिन । म टुरिजम व्यवसायी भएकोले एकदमै प्रोफेसनल तरिकाले गर्छु । स्पेसल टुरमा नेपालबाटै गाइड पठाएको छु । गाइडसहितको टुरिजम गर्दा नेपालीलाई राम्रो हुने भएकोले त्यसरी गर्ने गरेको छु ।

भनेपछि तपाईंको कल्चरल टुरिजम व्यवसाय बुद्धिस्टहरुको मात्रै हो ?

हिन्दूहरुको चाहिँ मैले गरेको छैन । तर, बुद्धिस्ट कल्चरल टुरमा अरु मान्छे पनि सामेल हुन सक्छन् । एउटा बुद्धिस्ट कल्चरलको अवधारणा ल्याइए पनि त्यसमा थुप्रै मान्छेहरु गइरहेका हुन्छन् । तिब्बतको ल्हासा र कैलाश बुद्धिस्टको मात्रै होइन । हिन्दूलाई पनि हो । ल्हासा आध्यात्मिक ठाउँ हो । प्रशस्त मात्रामा गुम्बाहरु छन् । धार्मिक ठाउँहरु छन् । त्यसैले सबै जना जान मिल्छ । श्रीलंका पनि त्यस्तै छ । म्यानमारमा पनि अरु मान्छेहरु पनि आउँछन् । संसारमा भुटान टोटल्ली बुद्धिस्ट कन्ट्री हो । महँगो टुर प्याकेज हुँदाहुँदै संसारकै टुरिस्टहरु भुटान जान्छन् । जहाँ महँगो छ, त्यहाँ किन महँगो भयो भनेर टुरिस्टहरुले सोच्छन् । र, गएर हेर्छु भन्ने सिद्धान्तमा त्यहाँ पुग्ने गर्छन् ।

तपाईं गइरहनु हुन्छ, भुटान किन महँगो भएको, के चिज रहेछ ?

भुटान सानो देश । एसियामै थोरै जनसंख्या भएको देश । भुपरिवेष्ठित देश । त्यहाँका राजा सबै जनता खुसी हुनुपर्छ भन्ने सिद्धान्तमा चल्छन् । कृषिपछि उनीहरुले देशको आर्थिक उन्नतिका लागि टुरिजम नै देखे । उनीहरुको नेपालको जस्तो सस्तोमा चलाउँदैनन्, टुरिजम प्याकेज हुन्छन् । त्यो सबै देशका नागरिकका लागि समान हुन्छ । भुटान जाँदा दिनमा २० हजार रकम बोक्नुपर्छ । त्यत्तिमा खाना, बस्न सबै कुरा आउँछ । त्यत्ति दैनिक खर्च गर्नै पर्‍यो । पर्यटकले दिएको रकममध्ये ६५ डलर त्यहाँको सरकारले लिन्छ । त्यो रकमले भुटानको रोड बनाउने, बच्चाहरु पढाउनेमा खर्च गर्छ । त्यहाँ १ देखि १२ कक्षासम्म सबै जनतालाई निःशुल्क शिक्षाको व्यवस्था छ ।

तपाईंले बुद्धिस्ट कल्चरल टुरका लागि फरक काम गर्नुभयो । नेपालीलाई नै टुर प्याकेजहरु बनाउन सकिन्छ कि सकिँदैन ?

मजाले बनाउन सकिन्छ । नेपालमा पनि धेरै ठाउँहरु छन् । पछिल्लो समयमा ट्राभल एजेन्सीहरुले सस्तो टुर प्याकेज बनाएका छन् । उनीहरुले मुक्तिनाथलाई फोकस गरेका छन् । हिन्दू नेपालीहरु एकदमै बढी जान चाहने, उच्च भाग ३८ सय किलोमिटरमा रहेको एकदमै राम्रो मन्दिर । त्यसैले मान्छेहरु त्यहाँ जान थाले । बुद्धिस्ट, हिन्दू सबैलाई काम लाग्छ त्यो ठाउँ । पछिल्लो वर्ष नेपालीहरु जान थालेको मुस्ताङ । त्यस्तै ४, ५ वर्षदेखि नेपालीहरुमा घुम्नुपर्छ भन्ने भावना जाग्यो । त्यसअघि नेपालीहरु धेरै घुम्दैनथे । मैले बुझेअनुसार नेपालीहरु घुम्नलाई कि त पोखरा जान्थे, बाँकी ठाउँका लागि उनीहरुको योजना नै हुन्थेन । नेपालीहरु प्याकेज बनाएर, फ्यामिलीसहित घुमेर रमाउन थालेको ५ वर्ष भयो । टुरिस्टहरु बिदा, मनाउन र घुम्नलाई नै आएका हुन्छन् । मसँग गर्ने हो भने टुरिस्टले १६ दिनेको १६ सय डलरको प्याकेज लिनुपर्छ । यो खालको प्याकेज पर्यटन व्यवसायीबाहेक अरुलाई थाहा छैन । यस्ता खालका प्याकेज पछिल्लो समय नेपालीले पनि गर्न सकिन्छ । अहिले नेपालीहरु सगरमाथातिर पनि गइराखेका छन् । अन्नपूर्ण बेसक्याम गइराखेका छन् । त्यसलाई नै रिलिजियस तरिकाले गर्ने हो । नेपालका घुम्ने ठाउँहरुमा मन्दिर हुन्छन् नै । त्यही नै भयो रिलिजियस टुर । नेपालीहरुको समस्या भनेको आर्थिक अवस्था नै हो । युवासँग पैसा हुँदैन । दैनिक १० हजार खर्च गर्नु भनेको ठूलो कुरा हो, त्यसरी सक्दैन । पछिल्लो समय चलेको दोलखाको कालिञ्चोक । काठमाडौंदेखि नजिक भएकोले मान्छेहरु गइराख्छन् । अहिले प्याक छ त्यहाँ । व्यवसायीहरुले चन्द्रागिरि हिल्समा केबलकारको अवधारणा ल्याए, त्यहाँ मान्छे जान थाले । मनकामनामा केबलकारको व्यवस्था गरे, त्यहाँ मान्छे जान थाले । नेपालमा रिलिजियस टुरिजम चलेको त्यही नै हो । नयाँ ठाउँ पत्ता लगाउनुपर्‍यो । त्यहाँ केबलकारको सुविधा गर्नुपर्‍यो । गाडी पुर्‍याउन थालेपछि नेपाली जान थाले । विदेशी टुरिस्टहरुचाहिँ केही सुविधा नभएका ठाउँमा पनि जान थाले । किनकि उनीहरु त सुविधाहरु छोडेर नेपालको विकराल अवस्था, दुःख हेर्न आएका ।

नेपालको पर्यटन क्षेत्रको भविष्य कस्तो देख्नुहुन्छ ?

भविष्य छ । नेपाल सरकारले पर्यटनमा प्रचारप्रसारदेखि धेरै सुधार गर्नुपर्ने छ । पर्यटनमा जहिल्यै पनि जोडिन्छ रोडको सुविधा हो । म जुनजुन देशमा पुगेँ, त्यहाँ पर्यटन चलेको रोडको सुविधाले नै हो । जबसम्म हाम्रो रोडको सुविधा हुँदैन, कन्ट्री सफा हुँदैन, तबसम्म पर्यटन व्यवसाय सफल हुँदैन । काठमाडौं यत्रो फोहोर हुँदाहुँदै पनि किन पर्यटक आउँछन् भन्दा नेपाल बन्दै छ । विकासोउन्मुख देश हो । यो चाँडै बन्दै छ भनेर टुरिस्टहरु घुम्न आउने हो । बुद्ध जन्मेको देश, सगरमाथा लगायत विशेषताका कारण उनीहरु आउने हुन् । काठमाडौंजस्तो अरु ठाउँ पनि फोहोर हुने हो भने नेपालमा कहिल्यै टुरिस्ट आउँदैन । हामीले भन्ने गर्छौं काठमाडौं छोडेपछि धूलोधुँवा छैन, सफा छ । त्यही भएर टुरिस्टले माइन्ड नगरेको । सहर प्रदूषित त हुन्छन् नै तर काठमाडौं जत्तिको पोलुटेड सिटी कतै छैन । हाम्रो काठमाडौंमा न त रोडको सुविधा भयो, न राम्रो खानेपानी । न हावापानी नै स्वच्छ भयो । काठमाडौं बस्नका लागि तीनवटै कुरा मिलेन । यही बस्नुको बाध्यता हामीसँग छ ।

तपाईं पोटरको रुपमा काठमाडौं आउँदा र अहिले सातै महादेशका अग्ला हिमालहरु चढ्ने योजनामा समेत पुग्नुभयो । यो सफलतामा कस्तो महसुस गरिरहनुभएको छ  ? 

आजभन्दा २५ वर्ष अगाडि मेरो कुरा गर्दा केही पनि सपना थिएन । जब २०११ देखि मैले ट्राभल गर्न थालेँ, तब यस्ता कुराहरु आउँदै गरे । घुम्दै गएँ अनुभव आयो । नेपाल फर्किएँ आइडिया हुँदै गयो । जति पनि देश घुम्छु, त्यहाँबाट केही न केही सिक्छु । जहिले पनि काम गर्दा टुरिस्टहरु कसरी रमाउँछन् त ? नेपालीहरु किन बेखुसी, उनीहरु किन खुसी ? टुरिस्टले अमेरिकामा महिनामा ५ हजार डलर कमाउने अनि ३ हजार डलर नेपालमा खर्च गर्छन् । बाँकी २ हजार ऋण तिर्छ । नेपालीचाहिँ कमाएको सबै पैसा जम्मा गरेर राख्नुपर्ने किन त ? घर किन्छ । तर ऊ खुसी छैन । घर त हुनु पर्‍यो । मलाई चाहिँ २०११ मा तीन, चार वटा देश घुमेपछि घुम्ने रहर चल्दै गयो । संसारका धेरै देश घुमिसकेँ, घुम्नै पर्ने खालका । कुन कुन ठाउँमा जाने भन्ने प्लान अटोमेटिक्ली बढिरहेको छ । विदेशका थुप्रै सिटिहरु घुमिसकेपछि मलाई लाग्यो अब नौलो काम गर्नुपर्‍यो भन्दै एकजना साथीसँग किलिमन्जरो चढ्न गएँ । नर्मल्ली अरुले ७ दिनमा चढ्ने किलिमन्जरो हामीले ३ दिनमा चढ्यौं ।

तपाईंहरुले त टुर, ट्राभलपछि होटल पनि खोल्नु भयो होइन ?

होटल पनि खोलौं न त भन्ने ६, ७ जना साथीहरुको टिम भयो । एक जना साथीले होटलको कन्सेप्ट बनाएको रहेछ । यसमा लगानी गरौं न भनेपछि सुरु गर्‍यौं ।

होटल राम्रो कि टुर, ट्राभल ?

करिब १० वर्ष अगाडि मेरो प्लान नै राम्रो होटल खोल्ने भन्ने थियो । आफ्नै होटल बनाउने भन्ने प्लान अभैm पनि सकेन । नेपालमा राम्रो स्टार होटल बनाउँछु भन्ने धोको छ । अहिलेको होटल रेन्टल हो । राम्रै चलिरहेको छ ।

सम्बन्धित समाचार