संगठनको सफलता नेतृत्वमा निर्भर

December 26, 2017

 

उत्तर दोङ

अन्य नेपाली जन-जातिय समुदायहरुको तुलनामा संख्यात्मक हिसावमा मगर समुदायपछिको दोस्रो ठुलो समुदाय तामाङ जाति देखिन्छ । ईतिहासको विभिन्न काल खन्ड देखि शासक वर्गका विभेदपूर्ण नीति र ब्यवहारका कारण तामाङ समुदाय शैक्षिक, आर्थिक र सामाजिक तथा साँस्कृतिक रुपले अन्य नेपाली जाति र समुदाय भन्दा धेरै पछाडि परेको कुरा कमसे कम आजको जेनेरेशन भित्रका सचेत तामाङ समुदायलाई जाहेरै छ । यही चेतनाका कारण ईतिहासको विभिन्न काल खन्डमा हिजो शाहकालदेखी राणाकाल हुँदै पञ्चायतकाल र बहुदलिय प्रजातन्त्रको स्थापना पछि आज गणतन्त्रको स्थापना कालसम्म पनि विभिन्न संघर्ष र बिद्रोह (रिभोलुशन) गर्दै आफ्नो ज्यानको आहुति दिन समेत पछी नपरी तामाङ समुदायले आफ्नो पहिचान, सँस्कृती, भाषा र अस्तित्वलाई आजसम्म जोगाउँदै आएका छन । तर पनि आजसम्मको उपलब्धिलाई बिश्लेषण गरी हेर्ने हो भने तामाङ समुदायले लगानी गरेको योगदान र प्रयासको तुलनामा उपलब्धि भने नगन्य रुपमा छन् । तीतो यथार्थ के हो भने तामाङ जाति नेपालमा शैक्षिक, आर्थिक, राजनैतीक, र सामाजिक स्तरमा जनसंख्या र भौगोलिक अनुपातले अझै निकै पछाडि नै परेको देखिन्छ ।

तामाङ समुदायभित्र राजनैतीक चेतनाको कारण पञ्चायत कालदेखी नै संगठित हुँदै अघि बढेको देखिन्छ । बहुदलिय प्रजातन्त्र प्राप्तिपछि त तामाङ जाति लगायत अन्य जाति – जनजातिहरुको संगठनहरु च्याउ झै उम्रेका देखिन्छ । यत्ति सम्मकि जात-जाति भित्र पनि बिभिन्न उपजाति प्रजातिको संगठन, भौगोलिक संगठन, राजनैतीक पार्टिका भ्रातृ संगठन आदि इत्यादि । यसै शिलशिलामा यस्ता संगठनहरु बिदेशी भुमीसम्म पनि व्यापक रुपले फैलेको देखिन्छ र बिशेष गरी विश्वका शक्तिशाली राष्ट्रहरु मध्ये सबै भन्दा बलियो मानिने संयुक्त राज्य अमेरिकामा पनि तामाङ लगायत अन्य नेपालीहरुको संगठन च्याउ सरी उम्रेको देखिन्छ ।

यी संगठनहरुको उदेश्य सुन्दा त सबैलाइ एकताको सुत्रमा बाँध्ने देखिन्छ, तर आफैमा भने उदेश्य विपरीत शुरुमै विभाजित देखिन्छ । त्यत्ति मात्रै होइन, संगठनभित्र गुट ऊपगुटको जन्म भै संगठन नै टुक्रिएको, उदेश्य, भिजन अनुसार अघि बढ्न नसकेको सबै जग जाहेर नै छन् । यो रोग नेपालीहरुको हरेक संगठनहरुमा क्यान्सर जस्तै फैलेको देखिन्छ चाहे त्यो नेपाली भुमीमा होस वा बिदेशी भुमीमा ! यस् रोगको मुख्य कारण अरु केही नभएर त्यस्ता संगठन वा संघ संस्थाहरुको नेतृत्वबर्ग नै हुन् भन्ने स्तम्भकार को निर्क्योल छ र त्यसमा कसैको फरक मत नहोला । नेतृत्वबर्गको पद मोह, स्वार्थ, अहमता, शैक्षिक लगायत सामाजिक चेतनाको अभाव, अविवेकशिल्ता, कमन् सेन्स को अभाव, अदूरदृष्टी, अव्यबहारिक भिजन र मिशन लगायतका अवगुणहरुले गर्दा नै यी संगठनहरु आफ्ना उदेश्य प्राप्तिमा पछाडि परेको देखिन्छ । तीतो सत्य के हो भने एक-दुई अपवाद बाहेक पूरै नेपाली संगठनहरु अमेरिकामा पनि माथि उल्लेख रोगहरु मुक्त देखिदैन ।

यस अवस्थामा आगामी जनवरी १३-१४ मा हुन गै रहेको उत्तर अमेरिकी तामाङ सम्मेलनका नेतृत्वबर्ग पनि माथि उल्लेख गरिएका अवगुणहरु मुक्त छन् या छैनन् भन्ने कुराले नै यसको सफलता र असफलता निर्धारण गर्दछ । बिशेष गरी पद मोह, अव्यबहारिक भिजन र मिशन, नेतृत्वकाका लागि आबश्यक न्यूनतम योग्यता (बिवेकशील, निष्पक्ष, सामाजिक, राजनैतीक एवम विश्व परिवेशको चेतना) को अभाव नै भोलिको सफलताको लागि चुनौती हुने देखिन्छ । यी चुनौतीलाई कसरी सम्बोधन गर्ने भन्ने रणनीति नेतृत्वबर्गले बनाउँन नसकेको अवस्थामा सहभागी लगायत शुभेक्षकहरुलाई निराशा मात्रै दिने खतरा देखिन्छ । तसर्थ, बेलैमा बुध्दी पुराउँदै सचेत भै विवेकपुर्ण निर्णय गरियोस् र सम्मेलन उपलब्धिमुलक रहोस् भन्ने शुभकामना सहित यो सुझाव मेरो ब्यक्तिगत तर्फबाट आयोजकहरुलाई । धन्यवाद !

(लेखक तामाङ सोसाईटी अफ ग्रेटर वाशिङ्टनका अध्यक्ष हुन्हुन्छ । उहाँले नेपालमा बिध्यार्थी हुँदा देखि नै जनजातिय मुभमेन्टलाई नजिकबाट नियाल्दै आउँनु भएको छ । ) 

सम्बन्धित समाचार