सागको पहिलो दिन कसले कति पदक जिते

December 3, 2019

काठमाडाैं– सागको पहिलो दिन नेपालले अंक तालिकामा अग्रता लिएको छ। १५ स्वर्णसहित नेपालले २४ पदक हात पारेको छ। जसमा २ रजत र ६ कास्य रहेका छन्। ३ स्वर्ण जितरे भारत दोस्रो स्थानमा छ। भारतले ८ रजत र ३ कास्यसहित १४ पदक जितेको छ।

तेस्रो स्थानमा श्रीलंका रहेको छ। श्रीलंकाले पनि ३ स्वर्ण, ७ रजत र १४ कास्यसहित २४ पदक जितेको छ। पाकिस्तान र बंगलादेशले २-२ स्वर्ण जितेका छन् ।

पाकिस्तानले ४ रजत र ७ कास्य जितेको छ। त्यस्तै बंगलादेशले १६ कास्य हात पारेको छ। उसको अंक तालिकामा कुनै रजत पदक छैन। भुटान र माल्दिभ्सले कुनै पनि स्वर्ण जित्न सकेका छैनन्। भुटानले एउटा कास्य पदक जितेको छ।

यी हुन् स्वर्ण जित्ने नेपाली खेलाडी

नेपालले तेक्वान्दो र कराँतेबाट ७ -७ स्वर्ण र ट्रायथलनबाट १ गरी १५ स्वर्ण जितेको हो।

नेपालले कराँतेको कातामा व्यक्तिगततर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते भने महिला र पुरुष समूह पनि नेपालले स्वर्ण जितेको हो ।

त्यस्तै, कराँते फाइटतर्फ ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। ८४ किलोभन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले, महिलातर्फ ५५ केजी तौल समूहमा अनु अधिकारीले र ४५ केजी तौल समूहमा कुसुम खड्काले स्वर्ण हात पारिन्।

तेक्वान्दोबाट कमल श्रेष्ठ र सिना मादेन लिम्बू र पार्वती गुरुङले व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका हुन्। त्यस्तै व्यक्तिगततर्फ नै आयशा शाक्यले पुम्से (कला प्रदर्शनी)बाट स्वर्ण हात पारेकी छिन्।

आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण समेत जितेकी छिन्। पुम्से विधाको महिला १७-२३ वर्ष उमेर समूहमा स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना विजयी भए। त्यस्तै २३ वर्षमाथि उमेर समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले पनि स्वर्ण जितेका छन्। ट्रायथलनको महिलातर्फ पोखरामा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन्।

सम्बन्धित समाचार