साहित्यकार एवं वाणिज्यदूत कृसु क्षेत्रीको कविता संग्रह चराको गीत’ लोकार्पण    

August 31, 2018

साहित्य, कला, पत्रकारिता तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुदेखि सर्वसाधारणले खचाखच भरिएको जेभिस सेन्टरको हलमा सम्पन्न कार्यक्रमका बिच राजदूत डा. अर्जुनकुमार कार्कीले साहित्यकार एवं वाणिज्यदूत कृसु क्षेत्रीको कृति ‘चराको गीत’  कविता संग्रहको लोकार्पण गरेका थिए।  जीवनमा एउटा मात्र कविता लेखेको प्रसंग कोट्याउँदै राजदूत कार्कीले वाणिज्यदूत क्षेत्रीको कृतिको प्रशंशा गरेका थिए ।

समकालीन नेपाली साहित्यमा स्थापित स्रष्टा क्षेत्रीले आफ्नो परिचय स्थापित गर्ने क्रममा आफनै दाजुबाट प्रेरित भएर साहित्यमा लागेको प्रसंग उल्लेख गरेका थिए । सरकारी जागिरको सिलसिलामा आफुले लेखेको सिर्जनाका कारण अनेक स्पष्टिकरण झेल्न’परेको भन्दै साहित्यकार क्षेत्रीले जीवन जगतले देखे भोगेका आरोह अवरोहको गाथा समेटेको उम्दा कविताहरू वाचन गर्दा हलमा उपस्थित सबैले तालि बजाएर उनको लेखनको प्रशंसा गरेका थिए ।  उनले जागिरको सिलसिलामा विभिन्न मुलुकमा पुगेको बेला जन्मभुमी नेपाल, जन्म दिने आमा र नेपाली चाडलाई सम्झेर गरेका रचना वाचन गरेका थिए ।  आफ्नो कृतिमा क्षेत्रीले आदिवासी जनजातिको पक्षमा समेत लेखेको कविता वाचन गरेका थिए ।  न्युयोर्कको व्यस्त समयको भावजुद पनि साहित्यिक कार्यक्रममा शुरुदेखि अन्त सम्म नै सहभागी भएर कार्यक्रम सफल बनाइदिएको भन्दै क्षेत्रीले सहभागी सबैलाई पटक पटक धन्यवाद दिएका थिए ।

नेपाली समुदायको हितको लागि जुनसुकै समयमा पनि खट्न तयार मिजासिला र लोकप्रिय वक्ताको रूपमा परिचित वाणिज्यदूत क्षेत्री न्युयोर्कका नेपाली समुदायमा धेरैले रुचाइएका व्यक्तिका रुपमा चिनिन्छन्।

बिलयन लेखनका प्रवर्तक साहित्यकार क्षेत्रीको आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), बोधिसत्वको मृत्यूउत्सव (कविता), अर्धमुर्छित आँखाहरू (गजल), बोधिसत्वको म्यानमामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य र चौध वर्षपछि (संयुक्त कविता) लगायतका कृतिहरू प्रकाशित छन् । वाणिज्यदूत तथा साहित्यकार क्षेत्री राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देवकोटा युवा वर्ष मोती पुरस्कार (२०६६), गजल श्री सम्मान (२०६०), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक), शताब्दी स्वर्ण पदक लगायत विभिन्न साहित्यिक पुरस्कारहरूबाट सम्मानित भईसकेका छन्।

युएसनेपाल अनलाईनको आयोजनामा गरिएको कार्यक्रममा अतिथिहरूको स्वागत र कार्यक्रम सञ्चालन युएसनेपालअनलाईनका प्रधान सम्पादक प्रदीप परियार थापाले गरेका थिए भने जर्सी सिटीका मेयरकी सल्लाहकार विष्णुमाया परियारको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीसाहित्यकारपत्रकार लगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेका थिए ।  

 

सम्बन्धित समाचार