हास्य कलाकार विनोद राई वान्तावा अब निर्देशनतिर पनि लागेका छन् । सामाजिक सञ्जाल ‘युट्युब’मा नेपाल कला टेलिभिजनका लागि निर्माण गरिएको ‘फनफन्नी’ सिरिज्बाट उनले निर्देशन थालेका हुन् । फन्फन्नीमा उनले समसामयिक विषयमा व्यङ्ग्य प्रस्तुत गरेका छन् ।
दस वर्षअघि कलाकारितमा प्रवेश गरेका राई कान्तिपुर टेलिभिजनमा प्रसारण हुदैं आएको हास्य शो ‘ह्वाट दि फ्लप’ बाट चर्चामा आएका हुन् । यही सिरियल आफ्नो कला यात्राको ‘टर्निङ प्वाइन्ट’ भएको उनी बताउँछन् । ह्वाट दि फ्लपकै निर्देशक सन्दीप क्षेत्रीको सहयोगमा आफ्नो कला यात्रा यहाँसम्म तय भएको बताउने राई हाल नेपाल टेलिभिजनमा प्रसारण हुने मेरी बास्सै, भद्रगोलमा पनि देखिएका छन् । उनै कलाकार विनोद राईसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः
मेरी बास्सैदेखि भद्रगोलसम्म देखिन थाल्नुभएको छ, अब त तपाईलाई फूर्सदै हुदैन होला ?
मेरी बास्सैमा ‘मथ्लो गाउँको मुखिया’को भूमिकामा देखिन थालेको थिएँ । यता भद्रगोलमा राई काकामा । तर, अहिले दुबै सिरियल बन्द भएकोले त्यति व्यस्त नै भएको त छैन । आशा गरेको छु, दुबै सिरियल पुनः सञ्चालनमा आउने छ र व्यस्तता बढ्ने छ ।
मेरी बास्सैमा तपाईको भूमिका मथ्लो गाउँको मुखिया छ, यो पात्र नाकाबन्दीले सिर्जेको हो ?
मेरी बास्सैमा आउने सपना पहिले देखिकै हो । यसपटकको नाकाबन्दीको कथाले नै मलाई मथ्लो गाउँको मुखिया बनाइदिएको जस्तो मलाई लाग्छ । चिनियाँ भएर प्रस्तुत भएको छु । यही भूमिकामा म मेरी बास्सैमा प्रवेश गर्न पाएँ । मेरो लागि यो खुसीको क्षण पनि हो । नाकाबन्दीले गर्दा तयार भएको कथामा आफु फिट हुन पाएकोमा भाग्यमानी ठानेको छु ।
तपाईंको प्राथमिकतामा कुन सिरियल पर्छन् ?
पहिलो त ह्वाट द फ्लप नै हो । त्यसपछि आफ्नै निर्देशनमा बनेको फन्फन्नी । अनि, मेरी बास्सै र भद्रगोलमा चाहि मेरो भूमिका भएको बेलामा मात्र जानुपर्ने भएकोले बढी समय दिनुपर्दैन ।
फन्फन्नी कस्तो प्रकारको सिरिज् हो ?
यो हास्य सिरिज् हो । तर, यसमा रेगुलर पात्रहरु छैनन् । समाजमा भएगरेका घटनाहरुलाई उनेर तयार पारिएको छोटोमिठो चटनी हो । नेपाल कला टेलिभिजनको सहयोगमा यो सिरिज् बनेको हो ।
कला क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सानैदेखि कलाकार बन्ने सपना देखेको थिएँ । फिल्मको किरो नै थिएँ । मिथुनको फिल्म हेरेर जान्थे । हिरोले गुन्डालाई कुटेको देखेर मजा मान्दै घर जाँदा आफुले पनि पिटाई भेट्थे । घरमा अबेला पुग्ने भएकाले यसरी पिटाई खानुपथ्र्यो । पछि सडक नाटक हुदैं यही क्षेत्रमा संघर्ष गर्दै आइयो । पहिले तितोसत्यमा रोल पाएको थिएँ । तर, ताली बजाउने र उभिने रोल मात्र ।
धेरैपछि डायलगसहितको रोल पाएको थिएँ । क्यामेरा फेस गर्नसाथ डायलग बिर्सेछु । त्यसपछि केही ब्याक भयो कला यात्रा । धेरै ठाउँमा धाएँ । कान्तिपुर टेलिभिजनमा ह्वाट द फ्लपका सन्दीप क्षेत्री सर भेटेपछि भने यो जुनीमै कलाकार बन्ने धोको पुरा भयो जस्तो लाग्यो । कान्तिपुरमै ‘हिजोआजका कुरा’ मा काम गरें । झ्याईकुटीझ्याइ, अमिलो पिरो, गाई कि त्रिशुलमा पनि काम गरे ।
कतिको गाह्रो भयो यहाँसम्मको यात्रा ?
सुरुका दिनहरुमा विभिन्न ठाउँ धाएँ, कतै केही रोल पाइहालिन्छ कि भनेर । तर, सुरुमा सबैले आश मात्र देखाउँथे, पछि निराश पार्थे । दस वर्षको यात्रामा धेरै फिल्महरुमा अनसिन रोल पाएँ । जहाँ न त नाम हुन्थे, न त अनुहार देखिन्थे । यसरी नै निरन्तरता दिदैं रहे । अहिले भर्खर सुनौलो बिहानी सुरु भएको छ । अब यो यात्रामा घाम उदाउँला कि भन्ने आशामा बसेको छु ।