अमेरिकामा जनजातिहरुको संस्था खोलेको दस वर्ष पुगेछ । यो अवसरमा न्युयोर्कमा धेरैजसो जातजातिले मौलिक नृत्य प्रस्तुत गर्दै आदिवासी दशक मनायो । विदेशमा संस्था खोल्नु जति सजिलो छ, हुर्काउन त्यति सजिलो छैन । त्यसमा पनि न्युयोर्कमा ८० भन्दा बढी संस्थाको वीचमा हुर्काउन÷बढाउन र स्थापित गर्नु चानचुने कुरा होइन ।
हुन त कतिपय संस्थाहरु वर्षमा दुइपटक बैठक बसेर काम नै नगरी वर्षो वर्ष कटाइरहेका पनि छन् । कोही संस्थाभित्र अध्यक्ष र महासचिव दुई जनाको मिलेमातोमा मनपरी कार्यक्रम गरी वर्षौवर्ष कटाइरहेका पनि छन् । हामी जहासुकै पुगे पनि हामीलाई निश्चित उद्धेश्यका लागी संस्था चाहिन्छ । हो संस्थाकै माध्यमबाट हामीले धेरै महत्वपूर्ण कार्यहरु पनि गर्न सकिरहेका छौ ।
प्रसंग अमेरिकामा क्रियाशिल आदिवासी जनजाति महासंघ, अमेरिका(फिप्ना)को हो । ८ वर्ष अघि जतिखेर म अमेरिका आइपुगेका थिए । त्यतिखेर अहिलेको जस्तै फिप्नाको अधिवेसनको चहलपहल भइरहेको थियो । अधिवेसनको दिन म पनि कार्यक्रमस्थलमा गएँ । अत्यन्तै कम सहाभागिता थियो अधिवेसनस्थलमा । हुन त कतिपय आदिवासी जनजाति समुदायका सदस्यहरु अझै पनि संस्थाको सभा सम्मेलनतिर सहभागी हुन त्यति रुचि राख्दैनन् । त्यसमा पनि भाषण भनेपछि उनीहरु अलि टाढै रहन्छन् वा कम सुन्न चाहान्छन । यो हाम्रो बास्तविकता हो ।
हामी हाम्रो धर्म र मौलिक संस्कृति जगेर्ना गर्ने कार्यक्रममा भने बढी सहााभागी हुने हाम्रो विशेषता जस्तै भइसकेको छ । समाज यस्तो हुनुमा संस्थालाई नेतृत्व गर्नेहरु राजनीतिक पूर्वग्रही भावनाले आफ्नो स्वार्थका लागि एकहोरो भएभरको शक्ति खर्चेर भाषाण मात्र गर्नले हो । कतिपय अवस्थामा संस्थाको नेतृत्व गर्नेहरुको खराब आचरण र उनको कमजोर सोचविचारको कारणले हाम्रो समाजका व्यक्तिहरु उनको भाषणा सुन्न जान चाहदैन । बास्तवमा भन्ने हो भने हाम्रो समाजमा काम गरोस नगरोस जसले राम्ररी मिलाएर मिठो भाषाण गर्छ उ सधैभरिको नेता हुनुपर्छ र बनाउनुपर्छ भन्ने हाम्रो क्षणिक सोचकै कारण ती नेताहरुले जति गलत कार्य गरेपनि चुप लागेर बस्नु पर्ने बाध्यताहरु रहेको छ ।
बास्तवमा समाजमा बस्ने सबै बुद्धिजीविले समाजलाई माथि उठेको हेर्न चाहने हो भने जसले समाजलाई निस्वार्थ भावनाले सघाउछ, जसको समाजमा कुनै खोट छैन, जसले विवाद खडा गर्दैन त्यस्तोलाई अगुवा छान्नु सक्नुपर्छ । त्यसमा पनि भुमीपुत्रको रुपमा सदियौदेखि चिनिदै आएको आदिवासी जनजातिले आफ्नो हकहित र अधिकार प्राप्तिको लागि असल चरित्र, दीर्घाकालीन सोच, धैर्यता, अनुशासनमा बसेकोलाई बढी प्रथामिकता दिनुपर्छ । संसारमा जहाँपनि नेतृत्वमा पुग्नेहरुले गरेको खराब चरित्रको कारणले धेरैजसो आन्दोलनहरुले गन्तव्य लिन नसकेको उदाहरणहरु छन् ।
अगुवा छान्नकै लागि अमेरिकामा बसोबास गर्ने आदिवासी जनजातिहरुको साझा संस्था फिप्नाले पनि महिनौ लामो कसरतपछि पछि पुनः पुरानै अध्यक्षलाई नेतृत्वको जिम्मेवारी दिएको छ । आदिवासी जनजातिले नेतृत्व छान्दै गर्दा गैरजनजातिको नेता भनाउँदालेसमेत भोट माग्दै हिडेपछि यो अधिवेसनबाट केही जनजाति नेताले भने पक्कै राम्रो शिक्षा पाएका छन् ।
कुनै संस्थाको नेतृत्वमा पुग्नु र पु¥याउनु खासै ठुलो अर्थ राख्दैन । अर्थ यहाँ राख्छ जसले नेतृत्वमा पुगेपछि समाज र संस्थालाई कहाँ पु¥याउछ भन्ने हो । जन्मभुमी छाडेर प्रवासमा खोलेको फिप्ना न्युयोर्कको करिब १२ जातीय संस्थाहरु अवद्ध संस्था हो । अमेरिकी भूमिमा खोलेको यो संस्थाले अहिलेसम्म सबै जातीय संस्थाहरुको नेतृत्व गर्न सकेको छैन ।
मैले बुझेको आदिवासी जनजाति महासंघ(नेफिन) एक मात्र आदीवासी जनजातिको हकहितको लागी क्रियासिल संस्था हो । जसले नेपालको ६० भन्दा बढी हरेक जातीय समुदायको हकहितसंगै भाषा, धर्म र सस्कृतिको संरक्षणमा लाग्दै आएको छ । यसको साथै मुलुकको भूमिपुत्रको रुपमा चिनिएको आदिवासी जनजातिले लामो समयदेखि सामाजिक, आर्थिक, राजनीतिक, भुगोललगायत विभिन्न क्षेत्रमा राज्यले गर्दै आएको विभेद र शोषणको विरुद्ध लड्दै आएको छ । जसको कारणले सबै राजनीतिक दल र राज्य सरकारको आँखा खोल्ने काम भने पक्कै गरेको छ । अमेरिकामा आएपछि खोलेको जनजाति महासंघ फिप्ना एक दशक पुरा भइसक्दा पनि जातीय समुदायको हितमा कुनै उल्लेखनीय काम गरेको छ ?
सायद कमैलाई हेक्का होला । तर मेरो बुझाईमा फिप्नाले अहिलेसम्म गरेको कार्यहरुको मुल्याङकन गर्ने हो भने सबैभन्दा बढी जुनसुकै पार्टीको सरकार प्रमुख न्युयोर्क आएको बेला विरोध गर्ने, ज्ञापन पत्र बुझाउने र कालो झण्डा देखाउने कार्य मात्रै गरेको छ । यसको साथै सीमित जातिको नेताहरु न्युयोर्क आएको बखत अन्तरक्रिया गर्ने र नेतृत्वलाई सानो कुरा चित्त बुझेन भने जतिखेर पनि वक्तत्वबाजी गरि हाल्ने कार्य गरेको देखिन्छ । फिप्नाले नेपालको जनजाति आन्दोलनलाई खासै बल पु¥याउन नसकेपनि प्रबासमा विभाजित विभिन्न जातीय संस्थालाई मिलाउने प्रयास गर्नुपथ्र्यो । त्यति गर्न नसकेपनि प्रवासको जातीय संस्थाहरुले महान पर्वको रुपमा मनाउदै आएको चाडपर्वलाई विशेष महत्व दिएर राष्ट्रसंघसम्म सन्देश दिने सक्नु पथ्र्यो । यस अघिको कार्यकालले त्यस्ता महत्वपूर्ण कार्य गर्न नसकेपनि सबैले आशाको साथ भर्खरै चुनिएका फिप्ना नयाँ नेतृत्वले सबैको भावना अनुरुप कार्य गर्नुपर्नेछ । अबको यो नेतृत्वले विरोधै विरोध र जतिखेर मनलाग्यो त्यतिखेर विज्ञाप्ती जारी गर्ने मानसिकताबाट माथि उठेर समग्र प्रवासमा रहेको जनजाति संस्थाको भावनालाई कदर गरी संस्थाको हित गरोस भन्ने शुभकामना दिन चाहान्छु ।
पुरानो कार्यसमितिल आफ्नो कार्यकाल छोड्न लाग्दा आयोजित फिप्ना दशक सांस्कृतिक कार्यक्रममा सहभागी असाध्यै पतालो देखिएको र पाँचौ अधिवेसनको व्यवस्थानले सबैलाई दुखित तुल्यायो । आयोजकले अधिवेसनको दिन सहाभागीहरुलाई निम्तो दिएपनि स्थान कहाँ हो केही जानकारी दिएको थिएन । त्यति मात्र होइन निर्वाचन कमिटिले पनि दोस्रोपटक उठ्न लागेको उमेदवारको हकमा व्याख्या गरेको विधानको बुदाँहरुमा थप विवाद हुन्छ भनेर हतार हतार उमेदवारको नाम दर्ता गरेर चुनाव गराएर अन्तिममा बन्द सत्र गर्दाको निकै खल्लो व्यवस्थापन गरेका थियो । अबदेखि अमेरिकामा क्रियासिल फिप्नाले समयअनुरुप आफुलाई परिवर्तन गरी व्यवस्थित कार्य गरोस भन्ने कामना पनि गर्दछु ।
४ जेष्ठ २०७४, बिहिबार
0
Shares