२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

फुटबलर पाइला प्रविधितिरः विदेशबाटै नेपालको मोबाइलमा रिचार्ज गर्न मिल्ने एप


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

बिष्णुहरि घिमिरे/न्युयोर्क

जीवनको रफ्तार सब ठिकठाक हुदो हो त राजविराजका प्रलय राजभण्डारी र सिन्धुपाल्चोकका राजीव श्रेष्ठ अझै पनि राष्ट्रिय फुटबल टिमको जर्सीमा मैदानमा देखिनु पर्ने हो । किनकी नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा)को महत्वकांक्षी योजना एन्फा एकेडेमीका पहिलो ब्याचका ४० जना मध्येका दुई जना हुन यी ।
तर परिस्थिती यस्तो बन्यो कि प्रलयले एकाध बर्ष राष्ट्रिय टिमको जर्सी लगाउने अवसर भेटाए पनि राजीव त्यसबाट बञ्चित नै रहे । एन्फा नेतृत्वको व्यवसायीकताको रटानमा विश्वास मान्न नसकेपछि बुट थन्काएर, एक दशक अगाडी लाखौ नेपाली युवा जस्तै भविश्य खोज्न यिनीहरुले पनि पनि पासपोर्ट बोकेर विमानस्थलमा लाइनमा बसे । उच्च शिक्षा अध्ययनका लागि भन्दै सात समुन्द्र पारी अमेरिका यिनीहरुको गन्तब्य बन्यो ।
झण्डै दुई बर्ष अगाडीको एक साँझ अध्ययन त्यस पछिको कामले थकित बनेका राजीव निदाउनु अघि गाउमा रहेका आमा बाबुसँग फोनमा कुराकानी गर्दै थिए, फोन एक्कासी काटियो, कुरा टुङिगएकै थिएन, अमेरिकाको जीवन शैली राजीव आफै कलिङ कार्ड किन्न जाने स्थितीमा थिएनन्, उता गाउँमा रहेका बा आमालाई पनि तत्काल रिचार्ज कार्ड किनेर छोरासँगको कुराकानी टुङगाउने सुविधा नै थिएन । राजीवमा रातभरी छटपट भयो, अमेरिकामा धेरै काम घरमा बसेर एउटा कम्युटर अझ पछिल्लो समयमा स्मार्ट फोनबाटै सल्टाउन सकिन्छ, आईटीमा मास्र्टस गर्दै थिए उनी, आफुलाई परेको यो समस्या म आफैले किन नसुल्झाउने ? गम्दै गए, ‘नेपालमा प्रिपेट फोनमा रिजार्च विदेशबाटै किन गर्न नमिल्ने ?’
दुई बर्षको मेहनतपछि अहिले राजीव सफल भएका छन् विदेशबाट नेपाल जोड्न । उसले एप बनाएका छन् जसको सहयोगमा विश्वको जुनसुकै कुनाबाट नेपालमा प्रयोग गरिने कुनै पनि मोबाइलको प्रिपेडमा रिचार्ज गर्न सकिने छ । उक्त एपलाई उनले नाम दिएका छन कनेक्ट टु नेपाल । ‘आइटिमा मास्र्टस गरेको छु, गोपालले पनि गरेको छ, यसै फिल्डमा काम गरिएको छ, पढाइ के का लागि भन्ने पनि भो, ४० घण्टाको कामको लागि मात्र होइन, केही कुरा देशलाई दिउ न भनेर निकालेको कन्सेप्ट हो, हामीले के पढ्यौ त भन्नका लागि पनि यो अवधारणा ल्याइएको हो ।’
राजीवले आफ्नो कन्सेप्टलाई व्याकता दिन एन्फा एकेडेमीका आफ्ना सहकर्मी प्रलयलाई मार्केटिङ डाइरेक्टर तोकेका छन् । यस्तै गोपाल सापकोटा टेक्निकल डाइरेक्टर । राजीवको कन्सेप्ट सहरभन्दा पनि ग्रामीण क्षेत्रका बासिन्दाका लागि छ, उनी भन्छन, ‘नेपालमा प्रिपेटको प्रयोगकर्ता धेरै छन्, अझ गाउँमा, नेपालमा यस्तो घर वा गाउ छैन जसको सदस्य विदेशमा नगएको होस, हो उनीहरुको सुविधाका लागि यो एप्सको कन्सेप्ट ल्याएको हु ।’
भर्जिनियालाई कर्म थलो बनाएका राजीव, न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्सा घरको बेसमेन्टमा खुल्दै गएका थिए, ‘काठमाडौंमा त केही सजिलो होला, तर गाउँघरमा बा आमा हुनुहुन्छ, कतिपय त लेखपढ गर्न सक्नु हुन्न, हातमा फोन छ तर रिचार्ज गर्ने कसरी भन्ने थाहा छैन, हो उहाँहरुका लागि बनाएको हो यो एप्स ।’
प्रलय अगाडी थप्दै थिए, ‘कसैको आमाबाबु बृद्ध हुनुहुन्छ, पसलसम्म जान सक्नु हुदैन, उनीहरुले रिचार्ज कसरी गर्ने त भन्ने सोच आयो, हामी जस्तो तन्नेरी छोरा विदेशमा छ भने नेपालमा भएको आमा बाबुको फोन यही बसेर रिचार्ज गर्न मिल्ने भो, बाहिरबाट नेपाल फोन गर्नु भन्दा नेपालबाट बाहिर फोन गर्दा सस्तो पनि छ ।”

कसरी काम गर्छ त ?

appअन्य एप्स जस्तै स्मार्ट फोनमा कनेक्ट टु नेपाल डाउनलोड गर्न सकिन्छ । यो सुविधा लिनका लागि डेबिड वा क्रेडिट भने हुनै पर्छ । सुरुमा स्मार्ट फोनमा एप डाउनलोड गर्नू पर्छ, कनेक्ट टु नेपाल टाइप गरेपछि देखाउँछ, यो सुविधा लिन इमेलबाट रजिस्टर गर्नुपर्छ , आफ्नो पासपोर्ट हालेपछि कुन नम्बरमा पैसा पठाउने छनोट गर्नु पर्छ, एक पटकमा एक नम्बर चयन गरेपछि रकम रोज्न पाइन्छ, पेपलबाट पैसा तिर्न पर्छ ।
राजीवका अनुसार एक सय देखि एक हजार रुपैया सम्मको रिचार्ज गर्न सकिने छ, रिचार्ज गरेको दिनको नेपाली मुद्राको विनिमय अनुसार पे पलले डलरमा चार्ज गर्दछ । यो एप्सको प्रमोसनका लागि राजीव, प्रलय र गोपालले अमेरिकामा घुम्ती टेक नामक कम्पनी नै दर्ता गरेका छन् । कम्पनी र एप्सको मार्केटिङ गर्ने जिम्मा कुनै समय नेपाली राष्ट्रिय फुटबल टिमका अलराउनडर प्रलयले पाएका छन् ।
‘सबैले भन्छ खेलाडी विदेशियो, विदेशमा उनीहरुले के गरेको छ त भन्ने पनि छ, हाम्रो यो प्रयासले नेपालीको जीवनमा ठूलो परिवर्तन नै ल्याउने कुरा त होइन तर पनि नेपालीले नेपालीको लागि सानो भए पनि केही सहयोग हो ।’
उनी अमेरिकामा पढेर जानेको कुरा आफ्नै दाजुभाईका लागि किन उपयोग नगर्ने भन्ने सोचले पनि यस तर्फ प्ररित गरेको बताउछन । ‘यहाँ आएर पढाइ सकियो, सेटल त भएको छैन, संघर्ष गर्दै छौ । तर पनि नेपालको माया कता न कता छ, चाहे त्यो भुकम्प जादाको समयमा हो, वा कुनै खेलाडीलाई सहयोग गर्दाको क्षणमा होस, हामीले हरेक रुपमा सयोग गरेका छौ, र यो पनि नेपालका लागि सहयोग हुन सक्छ जस्तो लाग्छ ।’
कुराकानीको बिट मार्न खोज्दै गर्दा राजीव अझै उत्साहित हुदै थिए । ‘नेपालमा मोबाइल प्रयोग कर्ताको बारेमा अध्ययन गरेका थियौ दुइ बर्ष अगाडी हाम्रो नेपालमा ७९ प्रतिशतले मोबाइल फोन प्रयोग गर्दा रहेछन्, नेपालभरी इन्टरनेटको विकास तिब्र गतिमा हुदैछ, यो सुरुवात हो, घुम्ती टेक कम्पनी भित्र कनेक्ट टु नेपाल जन्मिएको हो, हामी छिट्टै नै यो भन्दा धेरै एप्स निकाल्छौ ।’

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  २ : ०७ बजे