३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

नेजा अधिबेशन ,मेरो भोगाइ र बुझाई


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

सुदिप पन्त

विश्व प्रसिद्द हलिवूड शहरमा नेपाल अमेरिका पत्रकार संघको चुनाबी अधिबेशनमा सहभागी हुन आउनुभएका पत्रकारसाथीहरु शायद कर्मथलो पुगेर थकान मेट्दै उही हिजो अस्तीको नियमित जिबनचर्यामा फर्कीसक्नुभयो होला । अधिबेशन मार्फत नेजाले अहिले नयाँ टिम पाएको छ। नेजाबारे सुन्दै छु अनी पढ्द्दै पनि छु। म त बरिष्ठ पत्रकार पनि होइन ,मिठो बोल्न र तिखारिएको कलमले बिद्द्वता प्रस्तुत पनि गर्न सक्दिन । मलाई माफ गर्नुहोला ।एउटा सिकारु पत्रकार नेजाको सदस्य लिएको जम्मा जम्मी आठ बर्ष मात्र भयो ,आज चाँही अरु बरीष्ठ मित्रहरुले जस्तो नजाने ,नबुझे पनि आफ्नो मनमा लागेको कुरा जती बुझे सम्झे अनी थाहा पाए ,कोरेको छु। कुरा नलुकाइ भन्दा नेजा जन्मे देखी अहिले सम्म बिबादरहित पक्कै भएको छैन , नेजामा आबद्द र नेजा भित्र बाहिर बस्दै गरेका दाजु ,साथीभाइहरुको अर्थात पत्रकार ‘लोग्ने मान्छेहरुको” रत्यौली मैले पनि नजिक नजिकबाट हेरेको र भोगेको छु। शायद एउटा पात्रको रुपमा नेजाको गुण र दोषको जिम्मा लिने ब्यक्तीमा पनि पर्न सक्छु होला । पहिला नेजाको लसएञ्जलसमा भर्खर सकिएको अधिबेशनमा नै केन्द्रित हुन्छु।धेरै सहभागी साथीहरुले नेजा अधिबेशन उद्घाटन र समापन अनी संयोजक र स्थानिय आयोजक साथीहरुको भूमिकाको बारेमा प्रसंशा गरिदिनुभएकोमा धन्यबाद एब आभार पनि प्रकट गर्न चाहन्छु ।कुरा राम्रा नराम्रा सबैप्रकारको आउछन नै तर कुराहरु जे जती बाहिर आएका छन ति मध्ये केही कुराहरु, तथ्यहरु अधिबेशन संयोजक एब कार्यसमितीको सचिबको हैसियतले आफ्नो तर्फबाट राख्न चाहन्छु।

अधिबेशनमा खानबस्न के कस्तो सुबिधा रह्यो रहेन ,मनोरन्जन भयो भएन , कुनै समस्या आयो आएन भन्दा पनि नेजाले अधिबेशनबाट तय गर्नु पर्ने नयाँ गोरेटो बनाउन चाहिने आधारहरुको बिषयमा हामीले छलफल गरेउ कि गरेनौ?सबै भन्दा ठुलो भूमिका रहने साधारण सभाले नेजाले लिने गन्तब्यको बिषयमा सम्बोधन गर्‍यो कि गरेन भन्ने कुरा मुख्य होला जस्तो लाग्छ मलाई। मैले जिम्मेवार भएर भन्नै पर्छ ,कार्यसमितीले जुन तरिकाले साधारण सभामा प्रस्तुत हुनुपर्ने हो सो अनुसार तयारी गरेको थिएन। सहभागी धेरै पत्रकार साथीहरुले पनि साधारण सभामा जिम्मेवारपुर्बक गभिरताका साथ् छलफल गर्नुपर्ने बिषयमा केन्द्रित नभएर चुनाबी मुद्दाहरुमा बढी केन्द्रित थिए। बिधान संसोधन समितीले संसोधन सहित पेश गरेका बिधानका केही दफा एब धाराहरुमा कार्यसमितीले छलफल गर्न पाएको थिएन अर्थात गहन छलफल नगरि कार्यसमितीले अनुमोदन नगरि सिधै साधारण सभामा पेश गरिएको थियो त्यो पनि कार्य समितिको एउटा कमजोरी थियो। बन्द सत्रमा हामीले सहभागी सदस्यहरुलाई एक एक प्रती आर्थिक प्रतिबेदन ,महासचिबको प्रतिबेदन एब संसोधन गर्न लागिएको बिधानको प्रतिलिपीहरु उपलब्ध गराउन सकेनौ। यस्को जिम्मेवार हामी सबै कार्यसमितीको साथीहरुले लिनै पर्छ ,एउटा भागीदार म पनि हो ,जिम्मा मैले पनि लिनु पर्छ। अहिले भएका कमीकमजोरीलाई ढाकछोप गरिए कमजोरीहरु हट्ने होइन अझ बढ्ने सम्भावना हुन्छ। हामीले हाम्रो गल्ती सार्वजनिक गर्दा हामी नांगो हुँदैनौ ,सानो पनि हुँदैनौ बरु गल्तीहरुलाई महसुस गरेर अगाडि बढ्दा आगामी दिनमा सस्थालाई बलियो बनाउन मार्ग प्रसस्त हुन्छ । आर्थिक प्रतिबेदन एब महासचिबको प्रतिबेदन कार्यसमितीमा छलफल एब पारीत गरेर नै साधारण सभामा प्रस्तुत गरिएको थियो। कुनै पनि साधारण सदस्यले सो बारेमा चाख एब रुची लिएको मैले देखिन। सस्थाले के मा आम्दानी गर्‍यो ? मुख्य श्रोत के हो ? दिर्घकालिन आम्दानीको स्रोत कसरी पहिचान गर्ने,आफ्ना सदस्यहरु बिरामी,गार्हो सार्हो पर्दा के कस्तो सहयोग गर्न सकिन्छ ,पत्रकारिता पेशालाई नेपाली समुदायमा नै केन्द्रित गर्ने हो कि ,यहाको सामाजिकरणमा रुपान्तर हुँदै नयाँ पिडीलाई पत्रकारितामा प्रबेश गराउन गोरेटो बनाउने हो ,कुनै चर्चा भएन।

बिहान् देखी बेलुका सम्म नेपालको र यहाँ रहेका स्थानिय संघसस्थाहरुको समाचार बनाउने ,पढ्ने ,प्रकाशित गर्ने थुप्रै पत्रकारहरुले नेपालको “न” अनी यहाँका सस्थाहरुसँगको सहकार्यका बिषयमा “क” पनि बोलेनन। संसोधन गरेको बिधानले धेरैको उम्मेदारी प्रभावमा पार्छ भन्ने हल्ला ले नयाँ बिधान पास फेल गराउन घम्साघम्सी हुने खालको बातावरण पनि देखिएको थियो जुन अत्यन्त गलत थियो। कार्यसमितीका धेरै साथीहरुलाई बिधानका कतिपय संसोधन गरेको बुँदाहरु थाहा पनि थिएन ,त्यो पनि एकप्रकारले गलत नै थियो।बिधान कसैलाई जिताउने ,हराउने अनी अन्श भागबण्डा लगाउने गरी होइन ,सस्थाका साथीहरुलाई अनुशासनमा राख्न,सस्थालाई दिगो र बलियो बनाउन अनी सस्थाका जिम्मेवारसाथिहरुलाई चेक एण्ड ब्यालेन्स गर्न ,जिम्मेवारी र कर्त्यब्य बोध गराउन बनाउने हो।आशा छ आगामी हुने वार्षिक साधारण सभाले बिधानको दफा दफामा बहस र छलफल चलाउने छ। धेरै कुरा आएका छन ,नेजाको बिषयमा धेरैले तल्लो स्तरमा गएर गाली गलौज सम्म गरेको सामाजिक सन्जालमा हेरेको छु। पत्रकार कसैले हो भनेर हुने कसैले होइन भनेर नहुने हुन्न। कनिष्ठ र बरीष्ठ,सिपालु र लेख्न जान्ने नजान्ने ,म यस्तो ,त्यो त्यस्तो सस्ताकुराहरु धेरै सुन्ने र पढ्ने अवसर पाएको छु। पत्रकार तपाईं हाम्रो शिपले ,हाम्रो ज्ञान अनी मेहनतले ,समाजमा तपाईंहामीले लेखेका ,देखाएका कुराहरुले तौलने हो।तपाइ कस्तो खालको समाचार ,रिपोर्ट ,फिचर ,कभर स्टोरी बनाउनुहुन्छ ,समाजको घटनालाई कसरी चित्रित गर्नुहुन्छ त्यसबाट नै आम साधारण मान्छेले नै तपाईंको पत्रकारिताप्रतीको निष्ठा ज्ञान अनी शिपलाई बुझ्न सक्छ। नेजामा सबैले आबद्द हुनुपर्छ भन्ने नै होइन तर हामी प्रबाशको पनि धेरै टाढा अमेरिकामा छरिएर रहेका छौ। थोरै संख्यामा रहेका हामी छाती फराकिलो बनाएर एउटै छाता मुनी सबै अटाउन सकौ भन्ने मेरो आग्रह मात्र हो। यस्को लागि कार्यसमितीका जिम्मेवार साथीहरु नै अगाडि बढ्नु पर्छ। नेजा बाहिर बसेका केही साथीहरुसँग मेरो बेला बेलामा कुराकानी हुन्छ, मलाई लाग्छ हामीमा अहम छ, हामी सानो भएर प्रस्तुत हुँदा सबै कुराको परीणाम पोजेटिभ आउछ।यो पल्ट धेरै साथीहरु नेजामा प्रबेश गर्नुभएको छ। सकृय पत्रकारिता गर्दै गरेको या नेपालमा बस्दा पत्रकारिता गरेको ब्यक्ती नेजामा स्वागतयोग्य छ, तर पत्रकारिता नै नगरेको ब्यक्तीहरुलाई नेजामा सदस्यता दिनु दु:खद पक्ष हो ।

अहिले अरुले कसैको नाममा समाचारहरु लेख्दै नेजामा सद्स्य बनाउन कसरत गरिरहेको देखिरहेको छु। नेजा बलियो बनाउ भन्ने मेरो पनि चाहना हो तर परिस्थिती एस्तो पनि नहोस् नेजा भित्र रहेर नै राम्रो कुराको लागि आवाज उठाउदा आवाज दबिएर बाहिर बस्ने स्थिती आओस । नेजाको कार्यसमितिले बुझ्नु पर्ने कुरा हो। पद पाउनु कुनै ठुलो कुरा होइन पदमा बसेर असल कार्य गर्नु चाँही ठुलो कुरा हो। हिजो आज पदमा पुग्दा सम्मान र खादा खोज्छन ,हेक्का रहोस् पदमा रहेकालाई सम्मान गरिन्न पदबाट समाज र सस्थालाई दिएको योगदानको कदर स्वरुप सम्मान गरिन्छ । यो पल्टको नेजाको राम्रो पक्ष -नेजाले पत्रकारिताको आदर्श र मुल्यलाई कती सम्म जिबन्त राख्न सक्यो त्यो आफ्नो ठाउँमा छ ,बहस फेरी गरौला तर एउटै पेशामा थोर बहुत समय खर्चिएर होमिएका हामीसबैलाई एउटा सामुहिक झमघटमा नेजाले जुट्ने अवसर दिएकोमा गर्बित पनि छु। होला हामी हाम्रो मुख्य एजेण्डा भन्दा बाहिर गएको होला,चर्चा गरिएको जस्तो उदेश्य बाहिर गएर भोज भतेर गरेउ होला । तर हामी त नेपाली हौ ,बन्धुत्वको भावना हाम्रो छातीमा छ ,रगतमा छ। हिजो ह्युष्टन अधिबेशनमा भेटेर मित्रता गासेको राम चन्द्र भट्ट र धर्म भट्टराईलाई दुई बर्ष पछी लसएञ्जलसमा भेट्न पाउदा यो मन कती रमायो होला। गिरिशजी एब सम्झना भाउजु,तारा दाई ,बिटु भाउजु , गुणराजजी ,बिष्णु शितलदाइ पुन भेट्दा आनन्द भएको क्षण ,न्युवोर्कका मन मिल्ने मित्र आङ्छिरिङ्ग लगायत अन्य मित्रहरु , बाल्टिमोरका साथीहरु ,सनफ्रानसिस्कोका दर्जन भन्दा बढी साथीहरु ,टेक्सासका साथीहरु ,कोलोराडो र भर्जिनियाका साथीहरुसँग मित्रता गास्न पाएको क्षण पनि स्‍मृतिपटलमा गाढा रहिरहनेछ। आगामी दिनमा नेजाले सबैको मन जित्ने कार्यक्रमहरु लिएर आओस् ,कोही भित्र र बाहिरका भन्नु नपरोस ।मित्र भोलाजीको नेत्रित्वमा रहेको नेजाको नयाँ कार्यसमितीलाई धेरै धेरै शुभकामना साथै निबर्तमान अध्यक्ष गौतम दाहालको नेत्रित्वमा दुई बर्ष नेजाको जिम्मेवार पदमा बस्ने अवसर मिल्यो साथै अत्यन्त सौहार्द बातावरणमा कार्यकाल सकियो, मित्र गौतमजीलाई पनि धेरै धेरै धन्यवाद।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ४ : २४ बजे