अमेरिका पढ्न गएका विद्यार्थीका अभिभावकको कहालीलाग्दा गुनासा

२०७४ जेष्ठ ४, बिहीबार १६:५०

बिकु लामा

देशमा राम्रो शिक्षा रोजगार, अभाव, असुरक्षा जस्ता समस्याले जरा गाड्दै गएपछि उच्च क्षिक्षा हासिल गर्न हजारौ विद्यार्थी दिनदिनै विदेश पलायन हुनेक्रम तीब्र छ । अभिभावकले ऋण गरेर, घरजग्गा बन्धक राखेर सपनाको देश भन्दै अमेरिकालगायत विभिन्न मुलुकमा पठाउने प्रचलन फेसन जस्तै भइसकेको छ । हरेक अभिभावकलाई आफ्नो सन्तान, दरसन्तान, शिक्षित, सक्षम, कुशल, सबल र सफल होस् भन्ने चाहना हुन्छ नै तर आम नेपालीहरुको मानसपटलमा अल्झिरहेका सपनाको देश भनेर कल्पित अमेरिकाभित्र आइसकेका विद्यार्थीहरुको वास्तविक अवस्था भने कहालीलाग्दो छ । कैंयौ अभिभावकहरुको रोदन, पीडा र ब्यथा सुनीसाध्य छैन । यहाँको स्वतन्त्र वातावरणमा धेरै असल बालबालिका अभिभावकबाट स्वतन्त्रताको दुरुपयोग गर्दै परिवारबाट अलग भएको दर्दनाक जीवन्त कथाब्यथाहरु यत्रतत्र सुन्न सकिन्छ । प्रायः १८ बर्ष पार गरेको बालबालिका अभिभावकसँग बसेको कमै मात्र भेटिन्छन । उनीहरु पारिवारिक दवाबबाट मुक्त हुन चाहन्छन् । स्वतन्त्र जिउन खोज्छन ।

लेखक

खासगरी अमेरिकाको कानुन १६ बर्षभन्दा माथिका बालबालिकाहरुको लागि पूर्ण स्वतन्त्र अर्थात खुल्ला छ । जे गरेपनि, जसरी बसेपनि, जता गएपनि, जोसँग बसेपनि उनीहरुको व्यक्तिगत स्वतन्त्रता नैसर्गिक अधिकारमाथि कुनै कानुनी बन्देज छैन । उनीहरुको इच्छा, चाहना आकांक्षा बिरुद्ध कसैले बोल्न केही गर्नै नमिल्ने कानुन छ । उनीहरुको विवेक र क्रियाकलापलाई नियमले खुल्ला छाडिदिएको छ । परिवारमा कसैले प्रतिरोध खण्डनसमेत गर्न नपाइने, अभिभावकले ठुलो स्वरले गाली गलौज र हातपात गर्न पूर्ण निषेध छ । यदि यस्तो क्रियाकलापको विरुद्धमा बालबालिकाले प्रशासनलाई खबर गरेमा स्वयम अभिभावकहरु बन्दीगृहमा बस्न वाध्य हुन्छन् । विकसित देशको शक्तिशाली बालकानुन । जीवनको मानचित्र कोर्न असमर्थ बालबालिकाका लागि यस्तो ब्यबस्था कतिसम्म जयज हो संबेदनशील अभिभावकहरुले बुझ्न जरुरी छ । जीवन भरको कमाइ र सम्पत्ति आफ्नो सन्तान मान्ने समाजको लागि अपाच्य संस्कार भन्दा फरक नपर्ला । वास्तवमा यस्ता कानुनले कलिलो बालबालिकाको भविष्यको रेखा कसरी निर्धारण गर्नसक्ला ? कसरी सामाजिक, आफ्नोपन राष्ट्रिय, राष्ट्रियता, परिवारप्रतिको जिम्मेवारी, अपनत्व, आफ्नोपन, परिवेश, संस्कार, उत्तरदायित्व र सक्षम हुनसक्ला ? कलिलो बालबालिकालाई कसरी सुमार्गमा डोर्याउन सक्ला ? आम अभिभावकका लागि यो साझा प्रश्न हुनसक्छ ।
वास्तवमा कुनै पनि बालबालिका मानासिक रुपमा पूर्ण बिकास हुन कम्तिमा पनि २५ बर्ष लाग्दछ । जन्मेर २५ बर्षसम्म पाको सोचाइ बिचार सही र गलत छुट्ट्याउनै लाग्दछ । जसले गर्दा यी उमेर भित्रका बालबालिका दुव्र्यसन, कुलतमा फस्ने प्रवल सम्भावना हुन्छ । ब्यक्तीगत रुपमा उनीहरु सुखी, खुसी रहेपनि जन्मदिने आमा बुवा र समाज कहिल्यै खुसी हुन सक्दैन । जन्मेर परिवार, समाज र राष्ट्रको लागी केही गर्न नसक्ने सन्तानको खासै कुनै अर्थ पनि हुँदैन । समयको लागि होइन समाज र राष्ट्रको लागी बाँच्ने नागरिक नै महान हुन ।
आफु मात्रै मोजमस्ती र जीउने प्रवृत्ति समाजशास्त्रीय दृष्टिकोणले पनि राम्रो मान्दैन । अमेरिकन बातावरणमा भिजेपछि ९५ प्रतिशत बालबालिका आफ्नो देश फर्कन रुचाउँदैनन । नगन्य रुपमा मात्रै फर्केको भेटिन्छन । बरु बेरोजगार होमलेस भएर बस्न रुचाउने प्रशस्तै छन । आफ्नो सन्तानलाई उच्च शिक्षा अध्ययनको लागी जीवन भरको समय र कमाइ गुमाएका धेरै अभिभावकहरु निराश, निरर्थक भएर बाँच्न बिबश छन । आफुले आफैलाई धिकार्दै बस्न बाध्य छन । अमेरिका अध्ययनमा आएका बिधार्थी बिशेषगरी, उच्च सरकारी ओहदा, ठुलाठुला ब्यापारी, सम्पन्न परिवार, र एक्लो सन्तान भेटिन्छन । यसर्थ कम्तिमा पनि २५ बर्ष वा स्नातक तह उतिर्ण गरेका बालबालिकालाई भने अमेरिका अध्ययनको उत्कृष्ट गन्तब्य हुनसक्दछ । यी बिषयलाई समयमै विचार, विमर्श र रोकथाम गर्न सकिएन भने नेपाली समाजमा दीर्घकालिन असर त गर्छ नै अब उप्रान्त बिदेश अध्ययन गर्न पठाउने अभिभावकले समय सन्दर्भलाई ख्याल गर्दै सामाजिक रवाफ, रहर र देखासेखी नगरिकन बेलैमा सचेत हुनु जरुरी छ ।

-bikulama@gmail.com