तेजमाया गुरुङ
अमेरिका घुमेपछि…
डिसेम्बर १ मा हामी अमेरिकाको भर्जिनियाका लागि उड्यौ । मेरो पहिलो अमेरिका यात्रा हो यो । कार्यालयबाट ‘स्टाफ’कालागि भर्जिनियामा तालिम हुदैथियो । सोही तालिमका लागि दुई हप्ता अमेरिका भ्रमण तय भएको हो ।
अमेरिकामा पुगेपछि यहाँको भौतिक संरचना देखेर लोभिए । हामीलाई यहाँको भौतिक संरचना एकदमै राम्रो लाग्यो । हामीकहाँ धान्नै नसक्ने खालको भौतिक संरचना छन् । यहाँ भने प्रशस्त ‘अप्सन’ रहेछन् । बाटोहरु एकदमै खुला, अन्डरग्राउन्डमा पनि बाटो, आकाशमा पनि बाटो ।
पानीभित्र टनेल, जमिनमुनि साततले ट्रेन चल्छ भन्ने कुरा सुनेर हामीलाई झनै रोचक लाग्यो ।
तालिम सकेपछि हामीले यहाँ लोकल बसहरु पनि चढ्यौ । रेल चढ्यौ । मेट्रो बस, लोकल बस जुन पनि भनेकै समयमै पुग्ने । त्यस्तो विशाल न्युयोर्क सहरमा पनि नयाँ मान्छेहरु सजिलै घुम्न सकिने रहेछ । कलर लाइन, इन्फर्मेसन बोर्डले धेरै सजिलो बनाउँदो रहेछ । यति लामो यात्रामा अमेरिकी सडकहरुमा ट्राफिक प्रहरी नदेख्दा हामीलाई आश्चर्य पनि नलागेको होइन । तर, सबै सिस्टममा चल्ने देश भएकैले यस्तो रहेछ ।
नेपालमा ठगिइन्छ कि भने ट्याक्सी ड्राइभरदेखि हामी डराउँछौ । त्यहाँ ड्राइभरले ठगेको थाह पाउनसाथ खबर गरेमा तुरुन्तै कारबाही गर्दोरहेछ ।
अर्को सजिलो पैसा बोक्नै नपर्ने । कार्ड बोकेर हिड्ने हो । सपिङ गर्दा होस जुनसुकै ठाउँमा कार्ड । कार्ड बोकेपछि भारी पनि भएन, पैसा हराउने डर पनि भएन । डिसी र भर्जिनियामा ढुक्क लाग्यो । न्युयोर्कको बाल्टिमोरमा नेपालीहरुकै अनुभव सुन्दा अलि डर लाग्यो । तर, त्यस्तो डरलाग्दो अवस्था नै छ भन्ने छैन ।
अमेरिकामा नेपालीहरु जति नेपालमा स्वतन्त्र हुन्छन्, त्यति स्वतन्त्र त हुदैन नै ।
पैसा कमाउनुपर्ने भएकोले त्यहाँ सक्दो बढी श्रम गर्नुपर्ने देखियो । केही दाजुभाइहरु अलि जोखिमयुक्त काममा पनि लाग्नुभएको देखियो । पैसा कमाउने नेपालीहरुले एकदमै दुःख गर्नुहुदो रहेछ । सन्तानका लागि, भोलिका लागि नेपालीहरु एकदमै दुःख गर्नुभएको होला ।
अमेरिकी सरकारले नेपालीलाई एकदमै राम्रो मान्ने रहेछ । काम गर्नमा र कर तिर्नमा नेपालीहरु इमान्दार देखिएकोले पनि नेपालीहरुको स्तर राम्रो हुदै आएको रहेछ ।
आफ्नो छोराछोरीको भविष्य सुरक्षित देखिएकोले नेपालीहरु पनि खुसी नै देखियो । शिक्षा, स्वास्थ्य र भविष्यको योजनाका लागि सरकारले ग्यारेन्टी लिइदिएको देखियो ।
यसरी घुम्दै पुग्दा राम्रो ठाउँ देख्ने वित्तिकै मनमा आफ्नो देशसँग तुलना गर्न मन लागिहाल्ने । कति राम्रा संग्राहलय । कति सुरक्षित गरिरहेको ! त्यस्ता संग्राहलयमा पर्यटकलाई निःशुल्क प्रवेश गराइदिने रहेछ । आफ्नो देश बनाउनेलाई उनीहरुको योगदानअनुसार स्मारक बनाएको देखे । हरेक पिंढीलाई देशका लागि केही गर्न तयार रहने खालको वातावरण बनाएको रहेछ ।
अमेरिका गोराहरुको देश भनेर सोचेर गएका थियौं । तर, त्यहाँ त्यस्तो देखिएन । त्यहाँ विश्वका मान्छेहरु रहेछन् । अमेरिकालाई विश्वभरका मान्छेहरुले मेरो देश भन्न चाहने रहेछन् । धेरैले ‘ग्रिनकार्ड’ भिर्न चाहने रहेछन् ।
यो छोटो बसाईमा धेरै कुरा हेर्ने र सिक्ने मौका पनि पाइयो । शिक्षामै कति पछाडि परेका रहेछौ हामी । हामीलाई घोकाएर मात्र पढाइयो । समान शिक्षा पाएनौ हामीले । त्यहाँ समान शिक्षा दिइने रहेछ ।
व्यापारमा त्यस्तै, नीजिलाई प्राथमिकतामा राखिएको देखियो । नेपालमा नीजिलाई सरकारले अंकुश लगाउन खोज्छ । त्यहाँ काम गर्न व्यक्तिगत अधिकार प्रयोग गर्न दिइएको देखियो । नीजि मान्छेलाई जति काम गर्न दियो, उसले जति कमायो सरकारलाई उति नै कर तिर्नुपर्छ । र, तिर्छ पनि । त्यसले सरकारलाई नै फाइदा हुने रहेछ । तर, नेपालमा कम कमाउनेहरुले कर तिरिरहन्छन् । बढी कमाउनेहरुले कर छल्दै सरकारलाई घाटामा पारेको देखियो ।
अर्को कुरा टुरिजमको । त्यहाँ स्ट्याचु अफ लिबर्टीमा फोटो खिच्न मानिस लाइन लागेको देखे ।
त्यस्ता टुरिजम एरिया नेपालमा प्रशस्त छ । यसरी लाइन लाग्ने गरी विकास नेपालमा कहिले होला जस्तो पनि लाग्यो । नेपालमा धेरैजसो पर्यटक यहाँको दरिद्रता र गरिबी हेर्न आउँछन् । केही साहासिक पर्यटनका लागि आउने हो ।
पर्यटकलाई मनोरञ्जन दिन सक्नुपर्छ । उसले यहाँ आएर मनोरञ्जन दिने होइन । यसका लागि जनता सभ्य हुनुपर्छ । जनता सभ्य बन्न सरकारको नियममा परिवर्तन आउनुप¥यो । हामी अमेरिका पुग्दा बंगलादेशका ट्याक्सी ड्राइभरले समेत नेपालको नाकाबन्दी समस्यप्रति सहनुभुति जनाएका थिए ।
युवाहरुलाई जागरुक बनाउने, उद्यम बनाउने प्रयास गर्ने काम सरकारले गरेको पनि देखियो । नेपाल अहिले भूकम्पले थला परेको छ । यस्तै बेला घुम्न जान पाउँदा हामीले घरको स्ट्रक्चरलाई पनि खुबै ध्यान दियौ ।
अमेरिकीहरु अलिसान महलमा बसेको होलान् भनी सोचेर अमेरिका पुगेका थियौ । तर, बस्नका लागि बनाएका घरहरु होचा र सस्तोमै बन्ने रहेछ । लोकल सामानबाटै घर बनाउने । ती घर बलियो पनि हुने । घरमा सिमेन्टको प्रयोग एकदमै कम । ती घर पनि भूकम्पप्रतिरोधी । अग्ला घर बनाए तलाअनुसार कर बढाउने भएकोले सानै घरमा बस्दा रहेछन् । नेपालमा जति तला थपे पनि सरकारले ट्याक्स लिदैन ।
यस्तो घरको स्ट्रक्चर नेपालका नेताहरुले पनि देखेका होलान् । नेताहरुले केही सिके हुन्थ्यो कि जस्तो पनि लाग्यो । यी स्ट्राक्चर हेर्न नेपालका सबै जनालाई अमेरिकामा लगेर ६ महिना इन्टर्न गरे भने नेपाल धेरै राम्रो हुन्छ जस्तो लाग्यो ।
–नेपालस्थित युएसएडमा कार्यरत गुरुङसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीमा आधारित । भ्रमणमा गुरुङसँगै उनका श्रीमान जिएस गुरुङ थिए ।