काली तिम्रो नजरैले(हिम्मतवाली)
घन्टी बज्यो मनको(हवल्दारको सुन्तली)
झन्डु बाम(कान्छी मट्याटङटङ)
खाली खाली, खाली छ यो मन(एउटा साथी)
नेपाली युवाहरुको मन जित्न सफल नेपाली चलचित्र गीत हुन् यी । चलचित्र ‘जंजिर’को ‘किन गारो गारो हुन्छ,’ बोलको गीतबाट चिनिएका गायक टंक बुढाथोकीको स्वर र संयोजनमा फिल्मी बजारमा तहल्का पिटेका गीतहरु आइरहेकै हुन्छन् । युवा पुस्ताको रोजाई बुझेका यी गायक÷संगीतकार बुढाथोकी झापाको पाँचगाछीबाट विज्ञान पढेर देशको नामी मान्छे बन्ने सपना बोकेर काठमाडौं आइपुगेका रहेछन् ।
तर, काठमाडौंमा उनलाई संगीतले तान्यो । संगीतले तान्दा पनि उनी विज्ञानमा पनि घोत्लिएका थिए । तर, चलचित्र ‘थ्रि इडिएट्स’ हेरेपछि आफुले संगीत नै रोजेको उनले बताए । उनै गायक तथा संगीतकार टंक बुढाथोकीसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः
तपाईंका पुराना गीतहरु घरघरमा बजेकै छन्, अब कस्तो गीतको तयारीमा हुनुहुन्छ ?
युवा पुस्तालाई मनपराउने खालको गीतहरु नै मेरो रोजाइ हो । अहिले बजारमा चलचित्र आवेगको ‘सोल्टीले हाँसेको लास्ट राम्रो’ र च्याम्पियनको ‘मनपराउँछु तिमीलाई’ बोलका गीत बज्न सुरु भएको छ । चलचित्रकै २०० भन्दा बढी गीत स्टकमा छन् । पालैपालो बजारमा आउने छ ।
स्टुडियो खोल्नुभएको छ, स्टेजमा पनि भ्याउनु भएकै छ, कम्पोजलाई पनि छाड्नुभएको छैन, धेरै व्यस्त हुनुहुन्छ ?
आफ्नो कलालाई गोडमेल गर्न र हुर्काउन व्यस्त नै हुनुपर्दो रहेछ । यही क्षेत्रमा लागेर, यसैको कमाइले पुतलीसडकमा ‘स्टुडियो–९’ खोले ।
चलचित्र जंजिरमा काम गर्ने अवसर पाएदेखि नै मलाई आफ्नो कलामा हिम्मत बढेर आयो । यही चलचित्रको ‘किन गारो गारो हुन्छ’ गीतले चिनायो । त्यसपछि ‘काली तिम्रो नजरैले,’ ‘घन्टी बज्यो मनको’, ‘खाली, खाली छ यो मन’ जस्ता गीतहरु गर्ने मौका मिल्यो । मेरो कला धेरैले मन पराइदिनुभयो । र, अहिले यसरी काम गर्न पाइरहेको छु । स्टेज कार्यक्रमहरुमा पनि निम्तो आइरहेको छ ।
यति धेरै गीतहरुको कम्पोज गर्नुहुन्छ, सकस लाग्दैन ?
अहिलेसम्म लागेको छैन । आफुले गरेको काम सफल हुदाँ सकस मान्ने को होला र ?
कम्पोजमा चित्त बुझाउन कतिको गाह्रो हुन्छ ?
जति पनि गीतको कम्पोजको जिम्म पाएको छु, सबैको इमन्दारितापूर्वक कम्पोज गरेको छु । एउटै गीतको लागि ‘सेकेन्ड टेक’ कम्पोज गर्नुपरेको छैन । यसैले मेरो कामबाट खुसी हुनुहुन्छ जस्तो मलाई लागेको छ । अहिलेसम्म चित्त बुझाउन सकिरहेको छु ।
यति धेरै गीतहरु कम्पोज गर्दा कतैकतै अरु लय संगीततिर मेल खान पुग्छ होला नि ?
आफैले सुरु गरेको संगीतमा केही मेल खान्छ नै । हरेक संगीतकारको आफ्नै फ्लेभर आउँछ । संगीतमा केही कलर आउन सक्छ । तर, ठ्याक्कै मेल खाने भन्ने चै हुदैन । कुनै कुनै गीतमा फलनाले हिन्दी गीतबाट चोरी गरेको छ भन्ने आरोपहरु पनि लाग्छ । तर, ती संगीतहरुलाई नेपाली स्वादमा पस्किन पाउनुपर्छ भन्ने मलाई लाग्छ ।
तपाई चलचित्रको गायक÷संगीतकार, कथालाई कतिको ध्यान दिनुहुन्छ ?
पहिले चाहि काम गर्न पाउनु नै ठुलो ठान्थें । तर, अहिले चलचित्रको विषयवस्तु पनि हेर्छु । गीतको तालमेल पनि हेर्छु । यसरी काम गर्दा टिमलाई नै राम्रो हुने रहेछ ।
तपाईं विज्ञान पढ्न काठमाडौं आउनुभएको मान्छे कसरी यो क्षेत्रले तान्यो ?
मेरो बुवा टिचर हुनुहुन्छ । आमा नर्स । उहाँहरु म डाक्टर वा इन्जिनियरमध्ये एक होस भन्नुहुन्थ्यो । एसएलसी सकाएर काठमाडौंमा ‘आइएस्सी’ पढ्न आए । ब्याक लाग्यो । संगीतले केही ध्यान तान्यो । घर फर्के । बाआमाले फेरि पढाईलाई नै फोकस गर्नुभयो । विर्तामोडमा आइएस्सी पास गरी जेभिएर इन्टरनेसनल कलेजमा फिजिक्समा बिएस्सी पढ्न भर्ना भए । त्यही बेला अमिर खानको थ्रि इडिएट्स फिल्म हेर्ने मौका जु¥यो र मैले आफ्नो क्षमता चिने । त्यसपछि यो क्षेत्रमा निरन्तरता दिदैंछु ।