१९ कार्तिक २०८१, सोमबार | Mon Nov 4 2024

‘एक पटकको नेपाली सधैंको नेपाली’ लाई सुशील कोइरालाको पहिलो ईन्डोर्स


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

अहिले प्रवासी नेपालीहरुका लागि “एक पटकको नेपाली सधैको नेपाली” भन्ने वाक्य अति प्रिय छ । कुनै बेला यो वाक्य बिदेशमा बस्नेहरुले चाहेर पनि उच्चारण गर्न सकिरहेका थिएनन । नेपालमा बस्नेहरुले यसो भन्नु त कल्पना भन्दा बाहिरको कुरा थियो । यो वाक्यलाई एनआरएनका अभियन्ताहरु मात्र भन्ने गर्दथे ।

यसलाई पहिलो पटक राजनीतिक रुपमा ईन्डोर्स गर्ने व्यक्ति सुशील कोइराला नै हुनुहुन्छ । यो सन् २०१३ को नोभेम्बरको कुरा हो । दोस्रो संबिधानसभा निर्वाचनको पूर्व सन्ध्यामा । सुशीलजी न्युयोर्कको क्विन्समा आउनु भएको थियो । स्थानिय नेपाली समुदायको कुनै कार्यक्रम थियो । मैले यो बिषयमा ब्रिफिङ गरेँ र दाईलाई यो बिषयमा बोल्न भने । उहाँले पनि सजिलैसँग भन्दिनु भयो ।

यो कुरा मिडियामा पनि आयो । कांग्रेसभित्र पनि त्यति छलफल भएको थिएन । अर्को दिन बिहानै न्युयोर्कमै नेपाली संचारकर्मीहरुले कोइरालासंग कडा कडा प्रश्न गरेका थिए । धेरैले दोहोरो नागरिकता नै भन्ने बुझेछन । मैले नै कोइरालालाई फेरी भेटेर तत्काल स्पष्ट भन्न अनुरोध गरेँ । उहाँले त्यसै गर्नु भयो । कोइराला नेपाल जानु भयो ।

sushil-khagendraनेपाली कांग्रेसको घोषणापत्रमा एक पटकको नेपाली सधैको नेपाली भनेर लेखाउन सफल हुनुभयो । पछि उहाँले जहाँ पनि यो बिषयमा जोड दिनु भयो र आफ्नै नेतृत्वमा बनेको संबिधानमा यो कुरालाई राम्रोसंग सम्बोधन पनि गराउनु भयो । सुशील कोइरालासँगको मेरो सम्बन्ध पुरानै हो । अमेरिका आएपछि पनि उहाँसँगको सम्बन्ध उस्तै नै चलिरह्यो । बिशेषगरि उहाँ संगठन विस्तारका लागि धेरै सोच्ने र रुचि भएको मान्छे भएकोले जनसम्पर्क समितिको स्थापना र बिकासका क्रममा उहाँसंग मेरो धेरै काम र कुरा भएका थिए ।

जब कांग्रेसले अमेरिकामा जनसम्पर्क समितिको संगठन विस्तारको कुरा गर्यो त्यसपछि शुशिल दाईसंग मेरो धेरै सम्पर्क हुन थालेको हो । सुरुमै मलाई उहाँले नै संयोजक बनेर सहयोग गर्नुस भन्नुभयो । अधिबेशन गरेर छोडे । पछि विवाद आयो । कांग्रेसले धेरै प्रयास गर्दा पनि नभएपछि सूशील दाईले नै फेरी मिलाउन आग्रह गर्नुभएको हो । मैले प्रयास गरेँ । फेरी केके भयो । बिस्तारै दाई आफैले यो बिषयमा अमेरिकाका साथीहरुसँग मन दुखाउन थाल्नु भयो , जे गर्दा पनि नहुने, सबैलाई आफ्नै स्वार्थ मात्र पुरा गर्नुपर्ने भन्दै चित्त दुखाउनु हुन्थ्यो ।

जिब्रोको क्यान्सरको उपचारका लागि बेला बेलामा उहाँलाइ नै यहाँ आईरहन पर्थ्यो । यहाको समस्या तपाईहरु आफै मिलाउनुस भन्नुहुन्थ्यो । सबैलाई त्यही भनेको मैले पाएको थिएँ । उहाँ ले कुरा सबैको सुन्नु हुन्थ्यो । तर कसैको एकतर्फी कुरा सुनेर निर्णय भने कहिल्ल्यै गर्नुभएन । कसैका बारेमा कहिल्ल्यै नेगेटिभ हुनुभएन । नत्र उहाँले एउटाको पक्ष लिन सजिलै सक्नुहुन्थ्यो , त्यो सुबिधा उहाँलाइ थियो । तर सबैको चित्त बुझ्ने निर्णय के हुन्छ भनेर सबै पक्षसंग सल्लाह गरिरहनु हुन्थ्यो ।

केहि समयदेखि अमेरिकामा देखिएको एकता र संगठनको मजबुत उपस्थिति देखेर उहाँ अत्यन्त खुशी हुनुहुन्थ्यो । आफ्नो रोग पनि निको भएकोले होला यो पटकको अमेरिका भ्रमणमा उहाँ अलि बढी नै उत्साही पनि देखिनु भएको थियो । पछिल्लो समयमा अमेरिकाबाट जाने कांग्रेसी कार्यकर्तालाई सजिलै भेट दिने र उत्साही हुदै सबैको बारेमा सोध्नु हुन्थ्यो ।

मैले भेट्दा त्यही पाएँ र साथीहरुले पनि त्यही भन्दै हुनुहुन्थ्यो । मान्छेका रुपमा सामान्य गल्ति कमजोरी उहाँका पनि थिए तर उहाँ व्यक्तिगत स्वार्थभन्दा धेरै माथि उठेको व्यक्ति हुनुहुन्थ्यो । कोइरालासंगको लामो संगतले मैले के पाएँ भने उहाँ एउटा सच्चा प्रजातन्त्रवादी र आदर्श जीवन भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँको निधन पत्त्याउनै नसकिने खालको छ । यसले हामी सबैलाई स्तब्ध बनाएको छ । शुशिल कोइराला जस्तो आदर्श, स्वच्छ र देशलाई माया गर्ने नेता देशले बिरलै पाउछ । म सबै गैर आवाशीय नेपालीहरुका तर्फ बाट उहाँप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछु । सबैमा समबेदना ब्यक्त गर्दछु ।

प्रस्तुति: सतिश चापागाईं

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ६ : ५४ बजे