सोनाम जे शेर्पा पप गायक हुन् । तीन महिना अघिमात्र उनले आफ्नो एल्बम ‘सोनामिङ’ बजारमा ल्याए । एल्बममा पाँच नेपाली गीत र ३ शेर्पा भाषाका गीत छन् ।
खुलेर तिमीले भन्न सक्थ्यो..
खुलेर तिमीले बोल्न सक्थ्यो..
मनमा लुकाई कुराहरु गाह्रो हुन्छ मायालु….
यो उनको पहिलो एल्बमको पहिलो भिडियो गीत हो । पप गीतमा गिटार जम्ने भएपनि सोनाम भने गिटारभन्दा टुङ्ना बजाउन रुचाउँछन् । त्यसैले उनले तिब्बतियन गुरुसँग चारवर्षसम्म टुङ्ना कक्षा पनि लिएछन् ।
‘सानैदेखि गिटार बजाएँ, तर गिटारमा त्यति पोख्त भने भइनँ, मलाई टुङ्नाले मन तान्यो,’ उनले भने, ‘४ वर्ष यता टुङ्न सिक्दै बजाउँदै छु ।’
टुङ्नामा नेपालीपन भएको र नेपाली गीतमा टुङ्नाको प्रयोग कम भएकोले आफुलाई यसले तानेको उनले बताए । सोनाम भन्छन्, ‘ट्रेडिसनल टुङ्ना बजाउने धेरै छन्, तर प्रोफेसनल एकदम कम, त्यसैले टुङ्ना बजाउन मन लाग्यो ।’ आफ्नो गीतमा संगीतसमेत भरेका सोनाम टुङ्ना पहिचान भएको बताउँछन् ।
गीत र संगीतमा टुङ्नाको धुन स्वादिलो पनि हुने उनको भनाई छ । धेरैले टुङ्नाको धुनको साटो बेन्जुको प्रयोग गर्ने र बेन्जुको स्वर कडा हुने उनले बताए । सोलुखुम्बुको खुम्जुङमा जन्मिएका सोनामले २०६६ बाट संगीत सिकेर शेर्पा समुदायको कार्यक्रममा गाउन सुरु गरेका रहेछन् । ‘सुरुमा शेर्पा भाषाका गीतहरु गाउँथे, पछि चर्चित गायकहरुका चर्चित गीतहरु गाउन थालें,’ उनी भन्छन्, ‘शेर्पा समुदायबीच चिनिदैं गएपछि आफ्नै गीत सिर्जनामा मन ढल्कियो ।’
आइटी इन्जिनियरिङमा स्नातक गरेका उनलाई गायनले कसरी तान्यो त ? ‘मेरो पढाई आइटी हो, पेशा पर्यटन, रुचि गायनमा,’ सोनाम भन्छन्, ‘गायनबाट आफ्नो संस्कृतिलाई चिनाउने मेरो उद्देश्य हो ।’ शेर्पा भाषाकै गीतमा बढी रुचि भएको बताउने उनी शेर्पा भाका, सेब्रु नाचलाई सबैमाच चिनाउन चाहन्छन् । सिजनमा पर्यटन व्यवसायमा व्यस्त हुने उनी चाडवाडमा भने स्टेजमा व्यस्त हुन्छन् । लोसारमा सबैभन्दा बढी व्यस्त हुने उनले बताए ।
पहिलो एल्बम ‘सोनामिङ’ मा उनले ‘नासम लेमु…’, ‘छोर्तेन कोरा…’ र ‘टासी ल्होसार…’ बोलका ३ वटा शेर्पा भाषाका गीत समावेश गरेका छन् भने ‘खुलेर तिमीलाई…’, ‘डाँडैको झ्याम्मै…’, ‘सोलुखुम्बु खुम्जुङ…’, ‘कान्छीको रुपैमा…’, ‘जाउँ मैच्याङ…’ बोलका ५ वटा नेपाली गीत पनि समावेश गरेका छन् । नेपाली भाषाका गीतमा शरण जोशी, हवल लामा, दोर्जी शेर्पा र गायक स्वयमका शब्द र प्रकाश लामा र बबीराज घतानीको संगीत रहेको छ । यता शेर्पा भाषाका गीतमा भने नवाङ थर्वा शेर्पा र निमा छिरिङ शेर्पाका शब्द रहेका छन् भने संगीत गायक सोनामले नै गरेका छन् । जाउँ मैच्याङको भिडियो तयारी रहेको र केही दिनमै रिलिज गर्ने उनले बताए ।
आफ्नो पहिलो एल्बमले नै चिनिएकोमा सोनाम दंग छन् । भन्छन्, ‘मेरो एल्बम नेपालमा मात्र होइन, अमेरिका, जापान, कोरिया, पोर्चुगलतिर पनि राम्रै गयो, छोटो समयमै यसरी चिनिदाँ निकै खुसी लागेको छ ।’ सम्पूर्ण सहयोगी, दर्शक, श्रोताको सहयोगमै आफु अहिलेको अवस्था आइपुगेको उनले बताए ।
प्रतिक्रिया पनि राम्रै आइरहेको उनले बताए । नेपाली गीतसँगै शेर्पा गीतलाई पनि निरन्तरता दिने उनको योजना छ । सुरुका दिनमा शेर्पा भाषाका गीत गाउन सजिलो भएपनि नेपाली शब्द उच्चरण गर्न भने निकै अप्ठेरो भएको उनले सुनाए । ‘सुरुमा नेपाली शब्दहरु उच्चारण गर्नै मुश्किल हुन्थ्यो,’ उनले भने, ‘अहिले त्यति गाह्रो हुदैन ।’
४ जेष्ठ २०७४, बिहिबार
0
Shares