८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाल पुगेर स्टेज तताउने रहर छ


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

गायिका पविता परियार सोलो एल्बमका साथ सांगीतिक फाँटमा आइपुगेकी छिन् । सन् २०१२ मै न्युयोर्कमा तिज गीत रिलिज गरेकी उनले यसपटक आधुनिक गीतहरुको संग्रह ‘दीप’ एल्बम सार्वजनिक गरेकी छिन् ।
गीतकार गीता खत्रीको शब्द, हरि लम्साल, वसन्त सापकोटालगायतको संगीत रहेको एल्बममा ७ वटा गीत छन् । एल्बम चलचित्र निर्देशक तुलसी घिमिरे र न्युयोर्कस्थित नेपाली नियोगका महावाणिज्यदुत नारायणप्रसाद मैनालीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
रेडियो नेपालबाट गाउन सुरु गरेकी गायिका परियारले न्युयोर्कको सांग्रीला रेस्टुरेन्टमा पनि लामो समय गजल गाएकी थिइन् । हालै राजेशपायल राईसँग पनि संयुक्त गीत गाएकी गायिका परियारसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीको सम्पादित अंशः
तपाईको हालै सार्वजनिक भएको ‘दीप’ एल्बममा कस्ता गीतहरु छन् ?
अनेसासका पूर्व अध्यक्षसमेत रहनुभएकी साहित्यकार, गीतकार गीता खत्रीजीले लेख्नुभएको गीतहरु यसमा समावेश छन् । सबै आधुनिक गीत हुन् । सातवटा गीत एल्बममा राखिएको छ । गीतमा जय कुमार, हरि लम्साल, यश कुमार, उदय सोताङ, बसन्त सापकोटा र महेश खड्काको संगीत रहेको छ । एल्बम जय म्युजिकले बजारमा ल्याएको हो ।
pabita-pariyar-newएल्बमको बजार घट्दो छ, सबै म्युजिक भिडियोतिर लागिसकेका छन्, तपाईंलाई नयाँ काइदा ठिक लागेन ?
मलाई आफैंलाई चै एल्बमको बजार घटेजस्तो लागेको छैन । किनकि एल्बम रिलिज भएको एक हप्तामा ५ सय सिडी बिक्री भए । अझै पनि राम्रै गइरहेको छ । म्युजिक भिडियो पनि बनाएकी छु । यस एल्बमका २ गीतका म्युजिक भिडियो तयार भइसकेका छन् ।
एल्बममा संगीत भर्नेहरु टन्नै हुनुहुदों रहेछ, उहाँहरुसँगै प्रत्यक्ष रेकर्ड गराउने समय कसरी जुटाउनुभयो ?
उहाँहरुले नेपालबाटै म्युजिक कम्पोज गरी पठाउनु भएको हो । मैले गीत पठाए । उहाँहरुले म्युजिक कम्पोज गरी पठाउनुभयो । यहाँ पनि नेपाली स्टुडियो खुल्दैछन् । यही गीत गाएर फाइनल नेपालमा गरेकी हुँ ।
नयाँ एल्बम ल्याउनु भएको छ, प्रमोसन तयारी कस्तो छ ?
नेपालमा रेडियोहरुमा बज्न थालिसकेका छन् । युट्युबमा प्रोमो तयार छ । यहाँ पनि मिडियाका साथीहरुले साथ दिइरहनुभएको छ । अब म्युजिक भिडियो पनि रिलिज गर्दैछौं ।
अमेरिकामा नेपाली संगीतका लागि स्टेजहरु एकदमै कम छन्, कस्तो लाग्छ तपाईंलाई ?
कम हैन, प्रशस्तै छन् । बाल्टीमोर, बोस्टोन, डिसीदेखि युरोप यात्रा गीत गाएरै गरेकी छु । यहाँ विभिन्न कार्यक्रम भइरहन्छन् । त्यहाँ प्रस्तुतिका लागि पुगिरहेकै हुन्छु । त्यसैले यहाँ स्टेजको कमी छैन ।

नेपालका स्टेजहरू तताउने योजना छ कि ?

८ वर्ष पुगिसकेछ यता अाइपुगेको । अब चाँडै नै जन्मदेश पुगेर त्यहाँका स्टेजहरूमा मेरा श्रोता, दर्शकका लागि गाउन अातुर छु ।
तपाईं १५ वर्ष अघिदेखि संगीत क्षेत्रमा हुनुहुन्थ्यो, तर एउटा सोलो एल्बम ल्याउन किन यति ढिलो ?
मैले उदयपुरमा कक्षा ८ मा पढ्दै गर्दा नै काठमाडौंमा आएर रेडियो नेपालमा भ्वाइस टेस्ट गर्ने मौका पाएकी थिएँ । तर, त्यतिबेला सफल भइनँ । एसएलसीपछि संगीत सिकेर रेडियो नेपालमा भ्वाइस टेस्ट परीक्षा पास गरें । पछि रेडियो नेपालमा कार्यक्रम पनि चलाए । बिहे भयो । यस्सै संगीत यात्रा रोकियो । अमेरिका आइ पुगेपछि सांग्रीला रेस्टुरेन्टमा गजल गाउने मौका पाएँ । यहाँ प्रशस्त रियाज भयो । पाँच वर्षसम्म गाउँदा हिन्दी, टिबेटेन, बंगाली गीत पनि गाएँ । यही गाउँदागाउँदै मेरो सांगीतिक सपना फेरि पलायो र अहिले एल्बम रिलिज गर्दैछु । अब यही क्षेत्रमा निरन्तरता दिन्छु ।
सानैदेखि यो क्षेत्रमा आउने रुचि थियो ?
रेडियो सुन्दा अरुणा लामाहरुको गीत सुनेर उहाँ जस्तै बन्ने रहर आएको थियो । त्यसैले त बुवाले सानैमा रेडियो नेपालमा ल्याउनुभएको थियो ।

अहिले यो क्षेत्रमा नाम कमाउन आउनुभयो ?
यो क्षेत्रमा नामदाम दुबै छ । यो भन्दा पनि धेरै आफ्नो श्रोताहरुको माया छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ७ : १३ बजे