३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

‘प्याकुली भाइरस जन्माउने धुर्मुस र सुन्तली नै हुन्’


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

मोड टेलिशृंखलाबाट टेलिभिजनको पर्दामा प्रवेश गरेकी जानुका पौडेल अहिले हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा ‘प्याकुली भाइरस’ बनेकी छिन् । सिन्धुपाल्चोक ठोकर्पाकी पौडेलले टेलिभिजनबाट देशदुनियाँमा पुग्ने सपना बुनेर अभिनय थालेको पनि १२ वर्ष पुगेछ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘किलो ट्याङ्गो माइक’, हास्य टेलि शृंखला भुइँचालो, नेपाल टेलिभिजनबाट प्रसारण भएको हास्य टेलि शृंखला ‘जय होस’मा उनले अभिनय गरिन् ।
दस वर्षसम्म विभिन्न टेलिशृंखलामा अभिनय गरेपनि जानुकालाई दर्शकले त्यति ‘नोटिस’ गरेनन् । मेरी बास्सैमा अभिनय थालेको २ वर्षमा आफु ‘प्याकुली भाइरस’ को नाममा चर्चा कमाएकोमा खुसी छिन् उनी । यो पात्रको सिर्जना गरिदिने मेरी बास्सैका निर्देशक सीताराम कट्टेल ‘धुर्मुस’, र कुञ्जना घिमिरे ‘सुन्तली’ यहाँसम्म डो¥याईदिने पल्पसा डंगोल ‘चम्सुरी’कै कारण आफु चर्चामा आएको उनी बताउँछिन् । उनै जानुका पौडेलसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः

‘प्याकुली भाइरस’ यात्रा वृत्तान्त सुनाइदिनुस न ।
यो यात्रा पल्पसा डंगोल ‘चम्सुरी’कै कारण तय भएको हो । पात्र सिर्जना गरिदिनुहुने मेरी बास्सैका निर्देशक सीताराम कट्टेल ‘धुर्मुस’, र कुञ्जना घिमिरे ‘सुन्तली’ हुनुहुन्छ । उहाँहरुले यो पात्र बनाइदिनु भयो । मलाई फिट गराइदिनुभयो । यसपछि म ‘प्याकुली भाइरस’ बने । २ वर्ष पुगिसकेछ ।
नाम र चरित्रले तपाईंलाई कतिको अप्ठेरो परिरहेको छ ?
कलाकारले अभिनय गर्ने हो । त्यसैले यो चरित्रले मलाई केही असर गरेको छैन । घर परिवारमा सबैलाई थाह छ जानुकाको बानी । नाम चाहि सुरुका दिनमा अड लागेकै थियो । पछि सबैले यही नामले बोलाउन थालेपछि मनपर्न थालेको छ । मेरो कला यात्रा १२ वर्ष भयो । १० वर्षसम्म त दर्शकको खासै प्रतिक्रिया पाउन सकेकी छैन । अहिले २ वर्ष भयो मेरी बास्सैमा प्याकुली भाइरस बनेकी । यति छोटो समयमा मलाई धेरैले चिन्नुभएको छ ।
तपाईं जस्तै पात्र देख्नुभएको छ ?
प्युकली भाइरसजस्तै पात्र मैले अहिलेसम्म सुनेकी पनि छैन ।
अनि कसरी बन्यो यस्तो पात्र ?
यो त निर्देशक धुर्मुसले बनाइदिनु भएको हो । सायद उहाँले यस्तै पात्र देख्नुभएको होला । मेरी बास्सैमा धुर्मुस फटाह पात्र हुन् । त्यस्तो फटाह काम केटीले पनि गर्छन् भनेर यस्तो पात्र सिर्जना भएको हो ।
तपाईंले वास्तविक जीवनमा कति जनालाई जिस्क्याउनुहुन्छ ?
आफुले जिस्क्याउने कुरै छाड्नुस, कोही केटाले जिस्क्यायो, जिब्रो पड्कायो भने छेउमै गएर थर्काउनेसम्मको काम गरेकी छु ।

भाइरसको भूमिकाबाहेक अरु के के गर्नुहुन्छ ?
म्युजिक भिडियो, स्टेज कार्यक्रमतिर पनि काम गर्न पुग्छु ।
तपाईंलाई त धेरैले लाइन मार्छन्, ती मध्ये कसैले केही किन्दिएका छन् ?
कसैले किन्दिएनन् । आफैंले दुई जोर कुर्थासुरुवाल किने । पहिले सेतो कुर्थासेट थियो । बुद्धि तामाङ ‘हानुमाने’सँग बिहेपछि पहेंलो कुर्था लगाउन थाले । अहिले त्यही चलिरहेको छ ।
तपाईंको कला यात्रा कसरी सुरु भयो ?
टिभी हेर्दा मलाई पनि टिभीमा आउने रहर जाग्यो । यही रहरले यहाँसम्मको यात्रा तय गरेको हो । खासै ठुलो सपना बोकिएन । मोडमा मौका पाएँ । त्यतिबेला विभिन्न भूमिकामा काम गरे । टेलि शृंखला भूँइचालोपछि भने कमेडी बेसमा काम गर्न थाले । अहिले यस्तै कमेडी भूमिकामा काम गरिरहेकी छु ।
कसको अभिनय देखेर यसरी टिभीमा आउने मन लाग्यो ?
त्यतिबेला कसको अभिनय राम्रो भनेर छुट्टाउन सकिनँ । यो खत्र कलाकार हुन भनेर पनि चुन्न सकिनँ । अभिनयकै क्रममा विभिन्न सिरियलमा काम गरेपछि मेरी बास्सैमा एकपटक खेल्न पाएँ हुन्थ्यो जस्तो लाग्थ्यो । त्यो चाहना पुरा भएको छ ।
अहिले सबैभन्दा मनपर्ने कमेडी आर्टिस्ट को हुन् ?
मह जोडी । उहाँहरुसँगै काम गर्ने चाहना अझै मरेको छैन ।

ठुलो पर्दामा अभिनय गर्नुभएको छ ?
अहिलेसम्म छैन । राम्रो लिड रोल पाएँ भने अभिनय गर्छु ।
फुर्सत कसरी कटाउँनुहुन्छ ?
टिभीमा कमेडी शो हेरेर, फेसबुक चलाएर फुर्सत सदुपयोग गर्छु ।
१२ वर्षे दौरानमा अहिलेको र पहिलेको वातावरण कस्तो लाग्दै छ ?
धेरै फरक छ नि । पहिले फोन नभएकै कारण कति काम गुमाइएछ । कति गुमाइयो होला । अर्कै घरको नम्बर दिएर सम्पर्कमा बस्नुपथ्र्यो । फोनवाला घरका मान्छेको मुड फेरिए आफ्नो फोन आएको पत्तो पाइदैन थियो । अहिले त केही अवसर आउने वित्तिकै तुरुन्तै थाह पाउन सकिन्छ ।
एक दशकमा आफैले चाहि कतिको प्रगति गरेजस्तो लाग्छ तपाईंलाई ?
म खसै धुमधडका मच्चाउछु भनेर कला क्षेत्रमा आएको होइन । सबैले नाम कमाउँछ, सबै चर्चित हुन्छ भन्ने पनि छैन । सामान्य कलाकार बन्छु भनेर यो क्षेत्रमा आएकी हुँ । मरिमेटेरै पनि लागेकी छैन । विस्तारै काम गर्दैछु । आफुले सोचेको सपना पुरा हुदैंछ । चिन्न थालिएकी छु । अब चाहि धुमधडका मच्चाउनुपर्ने हो कि जस्तो लागि रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ७ : २९ बजे