विमला तामाङले सितोरियो करातेलाई मात्र चर्चामा ल्याइनन्, १७ औं एसियान च्याम्पियनसिप गेममा देशका लागि पदक पनि दिलाइन् । नेपाललाई उनले काँस्य पदक दिलाएर पदकविहीन हुनबाट जोगाइन् । हालै उनले अमेरिकाको न्युयोर्कमा आयोजित फिका इन्टरनेसनल ओपन करातेमा स्वर्ण पदक हात पारिन् । यो उनको तेस्रो अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले नयाँ दिल्लीमा आयोजित साउथ एसियन गेममा काँस्य पदक हात पारेकी थिइन् ।
धादिङ सेमजोङकी विमलाले हालै बिजनेस मेनेजमेन्ट विषय लिएर प्लस टु सकाएकी छन् । सितोरियो करातेमा उनी टु–डान हुन् । उनी काता शो तर्फकी खेलाडी हुन् । बलाजुस्थित उनका कराते गुरु ध्रुबविक्रम मल्लको डोजोमा उनी नियमित अभ्यासमा जान्छिन् । नियमित तालिम र जिम जानु उनको दैनिकी हो । हालै उनी फिका इन्टरनेसनल ओपन च्याम्पियनमा भाग लिन अमेरिका पुगिन् । र, स्वर्ण पदक पदक पनि हात पारिन् । यही अवसरमा उनले एक हप्ता अमेरिकामै कराते प्रशिक्षण पनि लिएकी थिइन् । यसै प्रसंगमा उनीसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः
अमेरिकामा ओपन च्याम्पियनमा मेडल जित्नुभयो, समग्रमा कस्तो रह्यो प्रतिस्पर्धा ?
यो मेरो पहिलो ओपन अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो । प्रतिस्पर्धीहरु नौला र अग्ला कदका थिए । एसियाली खेल भन्दा फरक थियो नै । त्यसैले नयाँ अनुभव पनि भयो । अमेरिकामा प्रतिस्पर्धा गर्न पाउनु पहिलो सफलता थियो । दोस्रो देशका लागि स्वर्ण पदक पनि जित्न पाएँ ।
दुई हप्ते अमेरिका बसाई कस्तो भयो ?
आदरणीय गुरु शान्त थोकरको सहयोगले अमेरिकासम्म पुग्न पाएँ । त्यहाँ रहदाँ उहाँको डोजोमा प्रशिक्षण पनि लिन पाएँ । तामाङ सोसाइटी अफ अमेरिकाको तर्फबाट सम्मान पनि पाएँ । एक लाख नगद सहयोग पनि पाएँ । भोलिका दिनमा कुनै ठाउँमा प्रतिस्पर्धामा जानका लागि यो रकम सदुपयोगमा आउने छ । यो सहयोगले मलाई थप उत्साह मिलेको छ । न्युयोर्कमा रहनुभएका तामाङ समुदायलगायत नेपालीको माया पाएँ । घुम्न पाएँ । यसैले यो भ्रमण अविस्मरणीय नै रह्यो ।
तपाईंलाई अमेरिकामै बस्न मन लागेन ? कतिपय खेलाडी जापान, कोरियामै मरिहत्ते गरी लुकेर बस्छन् नि ।
यही राम्रो भइरहेको छ । खेल जीवनबाट राम्रै भइरहेको छ । कम्पिटिसनमा भाग लिन पाइरहेकै छु । पढाई पनि चल्दैछ । त्यसैले अमेरिका बसिरहनु उचित लाग्दैन ।
खेलमा चरम राजनीति छ भन्नुहुन्छ, कसरी भाग लिनुहुन्छ प्रतिस्पर्धामा ?
हो खेलमा राजनीति छ । तर, खेलाडीले राजनीति गर्ने होइन । मलाई राजनीति गर्न पनि आउँदैन । हामी खेलिरहने हो । भाग लिने आशा गर्ने हो । तर, राजनीति गरेर असक्षमलाई लाग्यो भने त देशलाई नै घाटा हुन्छ । यसमा त मैले के नै गर्न सक्छु र ।
देशमै सबल हुने आधार छ त्यसो भए तपाईंको ?
त्यही नै हो । १७ औं एसियन च्याम्पियनमा पदक ल्याएपछि मलाई देशले सम्मान ग¥यो । दश लाख पाएँ । विभिन्न क्षेत्रबाट सम्मान सहयोग पाएँ । यसले खेल जीवनमा पनि माथि उठ्न पाएँ । आर्थिक जीवन पनि केही राम्रो भयो । यसैबाट प्रोत्साहित भएर कुखुरा फार्म सञ्चालन गरेकी छु । एक वर्ष जति भयो, नेपालटारमा विमला मम्बा कुखुरा फार्म खोलेको । महिनामा एकलाखको हाराहारीमा नाफा बस्छ । यसैले म ढुक्क छु ।
व्यवसायमा रुचि भएकै कारण तपाईंले पढाई पनि व्यवस्थापन रोज्नु भएको हो ?
मैले भर्खर मेनेजमेन्टमै प्लस टु सकाएँ । अब ब्याचलर पनि यही विषय पढ्छु होला । मेरो रुचि स्पोर्ट्स साइन्स पढ्नु रहेको छ । तर, नेपालमा यो पढाई छैन । यो कोर्स पढ्न पाए खेलमा नयाँ टेक्निकहरु विकास गर्न सकिन्थ्यो । यसले यो धोको पुरा गर्न सकिन्छ कि भन्ने प्रयासमा पनि लागेकी छु ।
विमला तामाङको अबका सपना के हो ?
हरेक खेलाडीको सपना ओलम्पिकमा गएर पदक ल्याउनु हो भन्छन् । मेरो सपना पनि यही छ । जापानमा सन् २०२० मा हुदैंछ ओलम्पिक । म यही गेमका लागि तयारी गर्दैछु । मैले मेरो लागि र देशको लागि जसरी पनि पदक ल्याउनु पर्छ भन्ने सपना बोकेकी छु ।