२९ कार्तिक २०८१, बिहिबार | Thu Nov 14 2024

नेपालबाटै माउन्टेनियरिङ पढाई सुरु हुनु गर्वको विषय


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

–लाक्पाफुटी शेर्पा, क्याम्पस प्रमुख, नेपाल माउन्टेन एकेडेमी

हिमालसम्बन्धी अध्ययन अध्यापन नेपालमै गराउन नेपाल माउन्टेन एकेडेमीमा पहिलो कार्यकालदेखि लागी परेकी थिइन् लाक्पाफुटी शेर्पा । दोस्रो कार्यकालको अन्ततिर उनको सपना पुरा भएको छ । त्रिभुवन विश्वविद्यालयले हिमालसम्बन्धी ब्याचलर इन माउन्टेनियरिङ स्टडिज(बिएमएस)लाई माघ २५ गते सम्बन्धन स्विकृति गरेपछि यसको पढाई हुने पक्का भएको हो ।
यसै शैक्षिक सत्रबाट सुरू हुने ४ वर्षे र ८ वटा सेमेस्टरमा साताैं र आठौं सेमेस्टरमा विद्यार्थीले ६ हजार र ७ हजारको हिमाल आरोहण गर्नुपर्नेछ । पर्यटनविद् प्राध्यापक डाक्टर रमेशराज कुँवरको प्राज्ञिक संयोजकत्वमा विभिन्न विज्ञहरूको सहभागितामा स्नातक र स्नातकोत्तर तह कोर्ससमेत तयार पारिसकेको छ । तीन किताबसमेत लेखिसकेकी उनले एकेडेमी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेकी छन् । यसैबारे क्याम्पस प्रमुख लाक्पाफुटी शेर्पासँग एभरेस्ट टाइम्सले गरेको कुराकानीः
बिएमएसमा कस्ता विद्यार्थी भर्ना हुने पाउनेछन् ?
यो मेनेजमेन्ट विषय हो । कक्षा १२ पास गरेका र हिमाल सम्बन्धी पढाईमा रुचि राख्ने जोसुकैले बिएमएसमा भर्ना हुन पाउने व्यवस्था छ ।
यस विषय पढेपछि के कस्ता अवसर पाइएला ?
हिमालमा काम गर्नेहरु अहिलेसम्म आफ्नै बलबुताले विभिन्न एजेन्सी खोलेर बसेका छन् । उनीहरुले यसबारे धेरै अध्ययन गरेका छन् र खारिएका छन् । तर, उनीहरुले कुनै मान्यताप्राप्त प्रमाणपत्र पाएका छैनन् । यस्तो प्रमाणपत्रको अभावमा उनीहरु सरकारी सेवामा प्रवेश गर्न सकिरहेका छैनन् । हिमालमा आरोहणका क्रममा विभिन्न घटना दैनिक भइरहेका छन् । नेपालमा सेनाप्रहरी उद्दारमा खटिन्छन् । तर, हिमालका अग्ला ठाउँ र अप्ठेरो ठाउँमा उनीहरु पनि जान सकिरहेका छैनन् । पक्कै पनि यो विषय पढेपछि थुप्रै अवसर खुल्नेछ । सेनाप्रहरीमा, लोकसेवामा प्रवेश गर्न पाउनेछन् । यो विषय पढाई हुनै लाग्दा सेनाप्रहरीदेखि लोकसेवासम्मका विभिन्न पदाधिकारीले हामीलाई धन्यवाद दिएका छन् । नेपालमा मात्र होइन यस विषयको पढाईले अन्तर्राष्ट्रिय मान्यता पनि पाउनेछ । रोजगारीका ढोकाहरु जताततै खुल्नेछ भन्ने मेरो आशा छ ।
यसको प्रक्टिकल हेर्दा पढाई निकै महँगो होला जस्तो देखिन्छ, के नेपालीले पढ्न सक्लान ?
हामीले तीनवटा क्याटागोरी बनाएका छौं । नेपाल, सार्क र अन्तर्राष्ट्रिय, यी तीनै क्याटागोरीका विद्यार्थीले ६ लाख रुपैयाँमा बिएमएस पुरा गर्न सक्नेछन् । यो सेन्सिटिभ विषय र चूनौतीपूर्ण पनि छ । नेपालीलाई केही सहुलियत दिने विषयमा छलफल चलिरहेको छ ।
पहिलोपटक पढाई हुदैंछ, कोर्सहरु तयार गर्न कतिको अप्ठेरो भयो ?
हाम्रो मुख्य उद्देश्य नै माउन्टेन एकेडेमी थियो । जुन त्रिभुवन विश्वविद्यालयबाट हामीले सम्बन्धन प्राप्त गरिसक्यौं । अहिले बिएमएस र मास्टर अफ एड्भान्चर टुरिजम स्टडिज(एमएटिएस)को कोर्स तयार भइसकेको छ । बिएमएस पढाईको स्विकृति पाइसकेको छ । एमएटिएसको पनि प्रक्रियामा छ । हामीले यो कोर्स पर्यटन् विद् डा रमेशराज कुवँरको संयोजकत्वमा तयार पारेका हौं । यो तयार पार्न ३ वर्ष लाग्यो । कोर्स तयार भएपछि विश्वका चर्चित विभिन्न ८ विश्वविद्यालयमा क्रसचेक गर्न पठाइयो । त्यहाँबाट आएका सुझावहरुलाई समेटेर पुनः कोर्स बुक बनाईयो । त्यसपछि त्रिभुवन विश्वविद्यालयका मेनेजमेन्ट विषयका डिन पुस्कर बज्राचार्यसँग उक्त कोर्स बुक पठाइयो । उहाँको सुझावपछि बल्ल कोर्स बुक तयार भयो । निकै गाह्रो भएपनि निकै राम्रो बनेको छ कोर्स बुक ।
के कस्ता विषयहरु कोर्समा छन् ?
हिजोसम्म हिमाल एउटा हिउँको थुप्रो थियो । हिमालमा पर्यटक आउन थालेपछि यो चढ्ने र झर्ने ठाउँमा परिणत भयो । तर, हिमाल आफैमा वृहत विषय हो । यहाँ एउटै मान्छेको विषयमा घन्टौं रटाएर पढाई हुन्छ भने हिमालको विषयमा किन पढाइ नहुने ? हो यही विषय खट्केको थियो । आज यो सपना पुरा भएको छ । विश्वका अग्ला हिमालहरु यही नेपालमा भएपनि हिमालमुनिका पहाड र तराइका नेपालीले नै हिमालबारे धेरै कुरा थाहा छैन । यसैले हिमालका संस्कृति, हिमालमा हुने विभिन्न गतिविधि, हिमालमा गर्न सकिने गतिविधि, हिमालको महत्व, संसारभरका हिमालबारे जानकारी, मेनेजमेन्ट कोर्स, पर्यटन प्रवद्र्धनका विषय कोर्समा समेटिएका छन् ।
नेपालमा पर्यटन प्रवर्द्धनका लागि यो पढाईले कतिको सहयोग गर्ला ?
यस्तो पढाई विश्वमै पहिलोपटक हिमालको देशबाट सुरु हुदैछ । यो सम्पूर्ण नेपालीको लागि गर्वको कुरा पनि हो । यसबाट पक्कै पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ । नेपालको नेचुरल हस्पिटालिटीमा नयाँ आयाम थपिनेछ । पर्यटकलाई स्वागत गर्ने र यसको व्यवस्थापनमा पक्कै सुधार आउने छ । विश्वका मानिसहरु यही विषय पढ्न नेपाल आउनेछ । यसैले म त एकदमै ढुक्क छु, यस विषयको पढाइले पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्नेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ८ : ४८ बजे