‘तिमीलाई हङकङ पु-ययो, आइडी काडैले’ बोलको गीतबाट चर्चामा आएकी गायिका सत्यकला राईको एकपछि अर्को गीतहरु चर्चामा आए । आइडी कार्डैले एल्बम सफल भएपछि इन्टरनेटैमा एल्बम ल्याइन्, यसलाई पनि श्रोताले मनपराइदिए । त्यसपछि बिर्सी जानेलाई एल्बम बजारमा ल्याइन् । ‘तिमी मसँग नबोल्ने अरे’ बोलको गीत यही एल्बमको हो । त्यसपछि उनले गुनासो एल्बम बजारमा ल्याईन् । यतिबेलासम्ममा चर्चित गायकहरुसँग ए पूर्वै धारन, बेनी मेलैमा, आलुदम चना गीतहरु पनि गाईन् । फिल्महरुमा पनि गीत गाइन् । सत्यकला चर्चाको शिखरमा थिइन् ।
२०६४ सालतिर गुनासो एल्बम बजारमा आएपछि उनी सांगीतिक बजारमा त्यति देखिएनन् । आफ्नो बेग्लै पहिचान बनाइसकेकी खोटाङ माक्पाकी सत्यकलालाई यसबीचमा श्रोतादर्शकले खोजे । झन्डै एक दशकपछि हालसालै उनी नयाँ एल्बम ल्याउने तयारीमा छिन् । यसैबीचमा उनले युट्युबमार्फत ‘-याइँ-याइँ ग-यो सारंगी’ बोलको गीत सार्वजनिक गरेकी छन् । झन्डै एक दशकको अन्तरपछि गायनमा कमब्याक भएकी उनै गायिका सत्यकला राईसँग एभरेस्ट टाइम्सले गरेको कुराकानीः
निकै समयपछि कमब्याक हुनुभयो, एल्बम बजारमा ल्याउने तयारी कस्तो भइरहेको छ ?
मलाई त त्यस्तो धेरै समय ग्याप भएजस्तो लाग्दैन । धेरै श्रोतादर्शक, शुभचिन्तकले त्यति राम्रो स्वर छ किन गुमनाम भएर बस्नु भएको ? विदेशतिर पो हुनुहुन्छ भनेर सोध्नुहुन्छ । म सांगीतिक क्षेत्रमा नै सक्रिया छु । चलचित्र, कलेक्सन एल्बममा गाइ नै रहेकी छु । सोलो एल्बम भने अलि लामो ग्यापमा आयो । २ वर्षअघि सत्य एल्बम ल्याएँ । नयाँ एल्बमको लागि तयार पारेको ‘-याइँ-याइँ ग-यो सारंगी’ बोलको गीत त भिडियोसहित बाहिर आइसकेको छ । युट्युबमा हेर्न सक्नुहुनन्छ । अहिले पहिलेजस्तो क्यासेट, सिडीको जमाना छैन । यसरी नै एकएक गरी भिडियो बनाउँदै एल्बमको रुप दिने विचारमा छु ।
करिब एक दशक त तपाईं सांगीतिक क्षेत्रबाट गुमनाम हुनुभएकै हो नि ?
एक दशक त नभनौं । सोलो एल्बममा ६ वर्ष जति ग्याप भयो । बीचमा पढाईं सकाएँ । अंग्रेजीमा एमए सकाएर केही समय हाइ स्कुलमा र कलेजमा केही वर्ष पढाएँ । बच्चाहरु सानो भएकाले उनीहरुलाई पनि त समय दिन प-यो । बच्चाहरुसँग हाँस्दै खेल्दै दिन वितेको पनि पत्तै भएन । अब उनीहरु स्कुल जाने भइसके । अब समय दिएर गीतसंगीतमै लाग्छु ।
पारिवारिक झमेलाका कारण ग्याप भएको भन्न मिल्दैन ?
केही हदसम्म मिल्छ । पारिवारिक झमेलाले मेरो जिन्दगीमा ठुलो प्रभाव पारेको छ । यदि त्यो झमेला नभई दिएको भए अहिले तपाईको सामु गायिका सत्यकला राई प्रोफेसर डाक्टर बनिसकेकी हुने थिएँ । तर, दुर्भाग्य पाँच वर्ष त मुद्दै लड्नुप¥यो । सायद मुद्दा लड्ने पनि थिइनँ । किनभने मलाई केही लोभ पनि थिएन र छैन पनि । तर, कुरा मेरो स्वाभिमानको अस्तित्वको थियो । हरेक दुःख, कस्ट, ऋण गरेर एउटा घर बनाएको थिएँ । त्यसमा पाँच वर्ष मुद्दा लड्दालड्दै त्यो घर पनि सकियो । मानासिक टर्चरका त कुरै छाडौं । मुद्दा लडेर दोषीलाई कारबाही र दण्ड त दिन सफल भएँ । तर हातमा केही परेन । तर, म दुःखी भइनँ किनकि म मा हिम्मत र साहस थियो र छ । मेरो जिन्दगीको अध्यारो सकिएर उज्यालो तर्फ म लाग्दै थिएँ भनौ जिन्दगीले यसतो मोड लियो । आज म मेरो श्रीमान नवलजी र बच्चाहरुसँग खुसी छु ।
डिभोर्स र दोस्रो बिहेपछि तपाईलाई माइतीबाट नै ‘बाहेक’ गरे, त्यसैले गुमनाम भएको आरोप छ नि ?
शत्रुले त जे पनि भन्छन् । दुईचार जना कुरा काट्ने त जसको नि हुन्छ । तर, मेरो शुभचिन्तक, श्रोतादर्शकले यस्तो औचित्यहीन कुरा नपत्याउन मेरो अनुरोध छ । यहाँ कुनै पुरुषले ५–६ जनासँग विवाह गरिरहेका छन् भने एउटा स्त्रीले पहिलो विवाह असफल भएर अर्को बिहे गर्दा कसरी चरित्रहीन हुन्छे । एउटी नारीले सधैं प्रताडित हुनुपर्ने, हाँस्ने नपाउने, खुसी हुन नपाउने ? केर नारीको चाहि कुनै अस्तित्व छैन ? त्यसैले मैले त्यस्तो नराम्रो काम नै के गरेकी छु र मलाई माइतीले बाहेक गर्नु ? मेरा माइतीहरु सबले मलाई बुझ्नु भएको छ । त्यसैले मलाई सबैले माया गर्नुहुन्छ ।
धम्की आएकोले लुकीलुकी हिड्नुहुन्छ भन्ने कुरा पनि आएको थियो, यो साँचो हो ?
हाहाहा(लामो हाँसा) मलाई विनाकारण धम्की दिने कसको साहस ? धम्की त परै जाओस मेरो अगाडि यदि साहस छ भने आएर देओस, म उसलाई स्याबासी दिन्छु र सम्झाएर पठाउँछु । तर, पर्दा पछि फेसबुकबाट लुकीलुकी अर्काको चरित्र कसैले हत्या गर्छ, नानाथरी लेख्छ भने त्यसको परिणाम पनि ढिलोचाँडो भोग्नुपर्छ । त्यस्ता धम्की आएको भए म स्टेज कार्यक्रममा कसरी हिड्न सक्थें ? कसरी व्यापार गरी हिड्थें ?
तपाईंको समय अब व्यापारलाई कि गीतसंगीतलाई ?
मलाई चिनाएको गीतसंगीतले हो । यस्ता आरोपहरुले मलाई झनै गीतसंगीतमा लाग्न बल दिएको छ । सानो दुःखले यहाँसम्म आइपुगेकी होइन । व्यापारमा त म पुरा समय खट्नै पर्दैन । यो त सिस्टममा चल्छ । त्यसैले मेरो अबको समय पुरै गीतसंगीतलाई हो ।