१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्धः प्रमुख आयुक्त


११ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताएका छन् ।

स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको आजको छलफल कार्यक्रममा यादवले भने– “कहीँकतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ र स्वतन्त्ररुपमा गर्न व्यवस्थापनको लागि हामी अघि बढिरहेका छाैं।

स्थानीय तहको सङ्ख्या बढाएको आधिकारिक जानकारी प्राप्त भएको छैन, सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने– “आयोगले ४६१ वटै स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको छ ।”

मुलुकका सबै स्थानीय तहमा एकै चरणमा निर्वाचनको तयारी गरिरहेको आयोगले राजनीतिक सहमतिको वातावरण बनोस् भनी जेठ ३१ गतेको निर्वाचनको लागि सहमति जनाएको प्रसङ्ग स्मरण गराउँदै उहाँले ४६१ स्थानीय तहको निर्वाचनको सामग्रीको व्यवस्थापन समेत भइसकेको बताए ।

प्रमुख आयुक्त डा यादवले भने– “अघिल्लो निर्वाचनबाट पाठ सिक्दै दुःखद् घटना नदोहोरिउन र पहिलो चरणको भन्दा अबको निर्वाचन अझ राम्रो गर्न सकियोस् भन्नेमा आयोग सजग र सचेत रहेको छ ।

दोस्रो चरणको निर्वाचन चार प्रदेशको ठूलो क्षेत्रमा हुने भए पनि भूगोलको हिसाबले अघिल्लोको तुलनामा निकै सहज रहेको बताउँदै उनले राज्यले निर्वाचनको लागि खटाएको स्थानमा गएर दिएको जिम्मेवारी कर्तव्यनिष्ट भएर पूरा गरी असल अभ्यास प्रस्तुत गर्न पनि अनुगमनकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७४, बिहिबार  २ : ३९ बजे